शिवराज पौड्याल
शिक्षक (पद्मकन्या मावि)
साधारण अर्थमा अभिव्यक्तिको माध्यमलाई भाषा भनिन्छ, जुन वुझ्न र वुझाउनका लागि प्रयोग गरिन्छ । जसले जुन भाषावाट अभिव्यक्त गर्न र अभिव्यक्त भएका कुरा वुझ्न सक्छ, उसलाई त्यही भाषा उपयुक्त हुन्छ ।
भाषा केवल माध्यम हो, विषयवस्तु होइन् तर भाषाको कारणवाट विषय वस्तुको सिकाइमा अवरोध परिरहेको छ । विद्यालयहरुमा अङ्ग्रेजी भाषालाई शिक्षण सहजीकरणको माध्यम वनाइँदा वालवालिकाले जानेका र वुझेका कुरा पनि घोकेको भरमा व्यक्त गर्नुपरेको छ । वालवालिकाले वुझका कुरा स्वतन्त्र र मौलिक रुपमा व्यक्त गर्न सकेमात्र सिकाइमा नयाँपन आउँछ र शिक्षाको गुणस्तर उकासिन्छ ।
अङ्ग्रेजी माध्यम चलाउने होडवाजी, अङ्ग्रेजी माध्यमलाई नै शैक्षिक गुणस्तर ठान्ने र भ्लनष्किज मा पढाएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको ओहिरो लाग्छ भन्ने भ्रमले गर्दा वालवालिकाले सिक्ने अवसर गुमाइरहेका छन् अनि जवरजस्त सिकेर सिकाइएको र घोकेर घोकाइएको भरमा हाम्रो शिक्षाको जग कस्तो रहला र हामी कस्तो गुणस्तरको अपेक्षा राखौँला ?
अङ्ग्रेजी भाषा अनिवार्य चाहिन्छ भन्नु भन्दा पनि विद्यार्थीलाई अधिकतम वुझाउन दोहोरो भाषा नीतिको उपयोग गर्नु व्यवहारिक हुन्छ । तर माध्यमिक तह देखि गणित, विज्ञान, कम्प्यूटर जस्ता प्राविधिक विषय लाई अङ्ग्रेजी माध्यमवाट अध्ययन गराउँदा उच्च अध्ययनमा सहज हुने गर्दछ ।
गुणस्तरीय सिकाइका लागि विद्यार्थीले आफ्ना साथी र शिक्षकसँग ढुक्क भएर अन्तरक्रिया गर्न पाउन पर्छ । पढाएको विषयमा सोच्ने, प्रश्न सोध्ने, विचार—विश्लेषण गर्ने तर्कवितर्क गर्ने संज्ञानात्मक क्षमताको विकास हुनु नै गुणस्तरीय सिकाइ हो ।
यस प्रकारको सीप नेपालीहरुको दोस्रो—तेस्रो तहमा रहेको अङ्ग्रेजी भाषाको माध्यमवाट पूरा हुन सक्दैन । देशमा विभिन्न जातजाति र संस्कृतिका मानिसहरु वसोवास गर्दछन् । उनीहरुको पहिलो भाषा भनेको उनीहरुको मातृभाषा नै हो । यस कुरालाई पाठ्यक्रमले समेत अङ्गीकार गरेको छ । बोर्डिङ्ग स्कूलमा अध्ययनरत विद्यार्थीहरु धेरै जसो उच्च अध्ययनमा असफल र विदेश पलायन हुनु, सरकारी जागीर प्रति बेवास्ता हुनु र बोइलर कुखुरा जस्तै हुनु रटान र घोकन्ते वनाउने अङ्ग्रेजी माध्यम नै हो । लगाम लगाएको घोडा जस्तो बोर्डिङ्ग विद्यार्थी अङ्ग्रेजी भाषाको साँघुरो घेराले भएको हो ।
त्यसैले अङ्ग्रेजी भाषावाट शिक्षण क्रियाकलापलाई अनिवार्य नगरी स्वैच्छिक गर्नुपर्ने आवश्यकता देखिन्छ ।
सिकाईको पिरामिड अनुसार ९०% सिकाई आफै गरेर, अरुलाई सिकाएर हुने गर्दछ, जसको लागि भाषामा दख्खल हुनुपर्छ । आज अङ्ग्रेजी अन्तराष्ट्रिय भाषा भएपनि जापान, कोरिया, चीन जस्ता उच्च विकसित राष्ट्रहरुमा जानु पर्दा त्यहाँको भाषा पास गरेर मात्र काम वा अध्ययनमा जान पाइन्छ । यसले के देखाउँछ भने मातृभाषा वा देशको आफ्नो भाषा नवुझे सम्म सिकाई हुदैन भन्ने तथ्य प्रमाणित गर्दछ ।
त्यसकारण नेपालमा पनि गुणस्तरीय शिक्षा र स्तरीय जनशक्ति उत्पादन गर्ने हो भने संस्थागत र सामुदायिक विद्यालयहरुमा तहसम्म केही प्राविधिक विषय वाहेक सवैलाई मातृभाषा वा राष्ट्रभाषामा र सो भन्दा माथि विद्यार्थीको आवश्यकता र इच्छानुसार अङ्ग्रेजी वा नेपाली वा दुवै भाषामा अध्ययन अध्यापन गराउनु पर्दछ । यसले आफ्नो संस्कृति र भाषा पनि वच्ने र विद्यार्थीको ज्ञान र विश्लेषणको क्षेत्र पनि बढ्ने गर्दछ ।
मोह र लहडको भरमा अपनाइएको अङ्ग्रेजी माध्यमले गुणस्तरीय सिकाई नभई दुर्घटना परि परिणाम भयावह हुन सक्छ । यसको लागि शिक्षा मन्त्रालय, स्थानीय सरकार, शिक्षक, अभिभावक एवंम शिक्षाका सरोकारवाला छिट्टै चनाखो हुन आवश्यक छ । सामुदायिक विद्यालयको वास्तविक धरातल छामेर मात्र अङ्ग्रेजी माध्यम छनोट गर्न र भाषा केवल माध्यम हो भनी वुझिदिन सम्पूर्ण विद्यालय परिवारलाई अनुरोध छ ।