हुन त बाल्यकाल देखि नै सङ्घर्ष गर्दै हुर्कियो । वाल्यकालमा आफू सानो छँदा बुबा के हो भन्ने कुरा थाहा नै नपाइ बुबा बित्नु भो। त्यसपछि हाम्रो सम्पूर्ण जिम्मेवारी आमाको काँधमा आयो । आमाले दु:खसुख गरेर हामी (म, दाजु र भाइ) लाई नजिकको सरकारी विद्यालयमा भर्ना गर्नुभयो । किताब कापि किन्न नै मुस्किल पर्थ्याे,खाजा त कता हो कता ! अरु धनि वर्गका साथीहरुले खाजा किनेर खाएको देख्दा लोभ लाग्थ्यो । आमाले कहिलेकाहीँ एक रूपैयाँ दिँदा भुटेको भटमास किनेर हामी तीनजना बाँडेर खान्थ्याैं । त्याे दिन भने खुशीकाे सिमा हुँदैनथ्यो ।
म विद्यालयमा पढ्दा मेरा विद्यालयका शिक्षकहरु साह्रै नम्र र मायालु भावनाको हुनुहुन्थ्यो । मेरो ड्रेस प्रायः कुममा च्यातिएको हुन्थ्यो । उहाँहरुले “नानी यसरी सिलाएर लाउनु पर्छ” भन्दै हाेम साईन्सरुममा रहेको मेसिनमा सिलाईदिनु हुन्थ्यो । कापि कलम किनीदिंदै, धेरै पढनुपर्छ अनि आफ्नो खुट्टामा उभिनुपर्छ । अनुशासित, नम्र र सहयोगी बन्नुपर्छ । मानवीय भावना राख्नुपर्छ भन्नेजस्ता ज्ञानका कुरा सिकाउनु हुन्थ्यो । तर उतिबेला त्यो भनाइकाे अर्थ नबुझेर, मीसहरुले याे के भन्नु भएको होला ! भन्ने जस्तो लाग्थ्यो ।
उहाँहरुबाट “अरुलाई दुख्दा आफूलाई पनि दुख्नुपर्छ” भन्ने कुराको शिक्षा पाउँदा, कसरी दुख्ला र ? भन्ने जस्तो लाग्थ्यो । तर जब अलिकति बुझ्ने हुँदै गइयो शिक्षकहरूले भनेका कुरा जान्ने र बुझ्ने जिज्ञासा बढ्दै गयाे ।
आमाले गरेको दुःख देख्दै आएकोले मैले पनि आमालाई केही साथ र सहयोग दिनुपर्छ भनेर एसएलसी दिएको भोलिपल्ट देखि नै प्राइभेट विद्यालयमा पढाउन सुरु गरें । जसबाट आफ्नो पढाइ लगायत खर्च जुट्न थाल्यो र जीवन थाेरै भएपनि सहज हुँदै गयाे ।
एसएलसी सके पछि विस्तारै कलेज पढ्दै दिगो कामकाे खाेजि पनि गर्दै गएँ । समयक्रममा शिक्षकमा नाम निकालेर सरकारी विद्यालयमा स्थायी शिक्षककाेरुपमा पढाउन सुरु गरें । यसपछि बल्ल बुझ्न थालियो जीवनमा के गर्न पर्दाे रहेछ र सङ्घर्ष भनेको के हाे भनेर !
जव मैले आफूले पढेको विद्यालयमा सरुवा भई आएर पढाउन सुरु गरें, यसपछि मेरा अभिभावकतुल्य शिक्षकहरू नै साथी जस्तो हुनुभयो । मेरा शिक्षक र अभिभावकले मलाई प्रेरणा दिने, हौसला दिने, काम गर्ने सिकाउने क्रममा “सबैभन्दा ठूलो कुरा मानव भएर मनमा मानवीय भावना राख्नुपर्छ र त्यसले संधै अगाडि बढन मद्दत गर्छ” भन्ने महत्वपूर्ण पाठ सिकाउनु भएकाे थियो, त्याे नै आजको दिनसम्म मेराे जीवनकाे ठूलाे मार्गदर्शन भएकाे छ ।
त्यही विद्यालय, जहाँ आत्मीयता, विनम्रता, माया, ममता, सद्भाव, सहयोग, सहकार्य आदि कुराहरु सिकाईन्थ्याे त्यहाँ अहिले विस्तारै विस्तारै ती कुराहरु हराउँदै गएको महसुस हुँदैछ ! यसबाट मनमा कताकता खल्लोपन र नरमाइलो खुल्दुली मच्चिएको आभाष भएको छ । हिजोआज मनमा एक किसिमको खिन्नताकाे अनुभूति निरन्तररुपमा आईरहेकाे छ । र शब्दमा भन्नुपर्दा त्यसलाई म मानवता हराएको अनुभूति भन्न चाहन्छु ।
*अस्तु*
(चावहिल, काठमाडौं – ७)