गम्भीर, खोजीपूर्ण, वास्तविक पत्रकारिता दिनदिनै ओझेलमा पर्दै गएको छ । लामो पत्रकारिता गरेका त्यागी र साधनारत पत्रकार निरूत्साहित, पलायन हुनुपर्ने, पाखा लाग्नुपर्ने र लजाएर मौन बस्नुपर्ने अवस्था आएको छ ।
गहिराइका भन्दा सतही विषयमा रमाउने, विश्वास गर्ने र त्यसै आधारमा धारणा बनाएर प्रस्तुत हुने भएकाले समाज पनि मलिन स्वरमा उठाइएका तथ्य, सत्यपरक विषयभन्दा चर्को स्वरमा उठाइएका तथ्यहीन, सत्यहीन, अयथार्थ, ‘प्रपोगाण्डा’को पछि दौडने गरेको छ । नेपाली पत्रकारितामा स्थापना कालदेखि नै विभिन्न समस्याहरू नभएका होइनन्, यस्ता समस्या अहिले पनि विद्यमान छन् । तर पछिल्ला केही वर्षदेखि यता नेपाली पत्रकार र पत्रकारितालाई दुइटा प्रवृत्तिगत कारणले बिगारेको छ । एउटा कारण, विभिन्न मिडियाबाट बिना तथ्य, सत्य सम्प्रेषण गरिने सामग्री र त्यसबाट ‘अडियन्स’मा पर्ने प्रभाव हो भने दोस्रो कारण सामाजिक सञ्जालको जबर्जस्ती हमला हो ।
सामाजिक सञ्जालको उपस्थितिले आम ‘अडियन्स’ मा सिङ्गो वास्तविक पत्रकारिताप्रति नै भ्रम छर्दै लगेको छ भने पहिलो प्रवृत्तिले नेपाली पत्रकारिताको अभ्यासलाई दूषित बनाउँदै आएको छ । यहाँ भने पत्रकारितामाथिको सामाजिक सञ्जालको अतिक्रमणभन्दा पहिलो प्रवृत्तिबारे चर्चा गरिएको छ ।
पहिलो प्रवृत्तिअन्तर्गत अधिकांश छापा र अनलाइन माध्यमले झूटा शब्दखेती गरेर र सानो विषयलाई अनावश्यक रूपमा पहाड बनाएर समाजमा हल्लाको वातावरण सिर्जना गर्ने गरेका छन् । विद्युतीय माध्यमअन्तर्गत रेडियो र टिभी (रेडियो भन्दा टिभी बढी) का कतिपय समाचार सामग्री प्रस्तोता र कार्यक्रमका सञ्चालकले व्यक्तिगत सस्तो लोकप्रियता कमाउने नाममा मूल पत्रकारितालाई गुमराहमा राख्ने गरेका छन् ।
पत्रकारिताको मूल्य, मान्यता र पत्रकार आचारसंहिताबारे जानकारी नभएका र जानकारी पाउनैपर्ने बाध्यता पनि नभएका ’अडियन्स’ ले जानी जानी पत्रकारिताको मूल्य, मान्यता तोडेर र आचारसंहिता कुल्चेर छापा, अनलाइनमा शब्दभ्रम छर्ने तथा रेडियो÷टिभीबाट घोक्रो सुक्ने गरी चिच्याएर सतही मान्छेहरूले ‘हिरो’, ‘भगवान्’ बन्ने सपना देख्ने गरेका छन् । यस्तो कर्ममा छापा माध्यम भन्दा अनलाइन र टिभीको सक्रियता र प्रभावकारिता बढी छ । टिभीमा अडियन्सका आँखा र कान दुवै इन्द्रिय सक्रिय हुने, त्यो सदृश्य हुने र अडियन्सले त्यसलाई एकदमै यथार्थ ठान्ने भएकाले अनलाइन भन्दा टिभीबाट हुने ‘इमोसनल ब्ल्याकमेलिङ’ झन् बढी देखिन्छ । यसले गर्दा अडियन्सले टिभीको पर्दामा उभिने प्रस्तोता, सञ्चालकलाई साँच्चैको हिरो ठान्दछ चलचित्रको हिरोलाई जस्तै । यही भएर नै अधिकाँश अडियन्स चिन्नु न जान्नुका, अझ जिन्दगीमा कहिल्यै भेट हुन नसक्ने प्रस्तोता, हिरो–हिरोइनका ’डाइहार्ट’ फ्यान बन्ने गर्दछन् । कतिपय त कसैलाई केही भएमा आत्महत्या समेत गर्न पछि पर्दैनन् ।
सूचना प्रविधिको तीव्र विकासक्रममा जन्मे, हुर्केको, यसैमा खेलेको र राज्य संयन्त्रका बेथितिबाट वाक्कदिक्क भएको युवा अडियन्सले टिभीका स्क्रिनमा दिनहुँ चिच्याउने यस्तै यस्तै ‘स्टन्ट’बाज खलनायकलाई नायक मानेर आफ्नो भाग्य–विधाता ठान्ने गरेका हुन्छन् ।
वास्तवमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन÷प्रशासनका शैली संयन्त्रहरूले नागरिकका जनजीविकाका सवाललाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न नसक्दा अनेक रुप र रंगका ‘स्टन्ट’ बाजहरूको उदय हुन पुगेको हो, छ । यस्तो शैली सञ्चार, पत्रकारिता र मिडियाको आड र आवरणमा केही मानिसहरूले पहिलेदेखि नै समात्दै आएका थिए । अहिले पनि धेरै टेलिभिजनका स्टुडियोभित्र अरुलाई सरापेर यसरी नै कुर्लने र आफूलाई भने केही कुरामा सुधार्न नपर्ने, दिसापिसाब चुइने गरी कोकोहोलो हाल्ने तर सत्य, तथ्य र यथार्थबिना अरूलाई गाली गर्नुलाई नै पत्रकारिता ठान्ने र मान्ने मान्छेहरू छँदैछन् । यही बिचमा यस्तै शैलीको ढाडमा टेकेर स्थापित अन्य दलको टाउकोमा हानेर आफूलाई स्थापित गर्न रविको उपस्थिति भएको थियो ।
पाँच वर्षअगाडि आफू ‘पत्रकार’ नभएकाले प्रेस पास लिन्न, बरु जुत्ता, बुट पालिस गर्छु भनी उहाँ स्वयम्ले दिनुभएको अभिव्यक्तिबाटै पनि यो कुराको पुष्टि हुन्छ कि उहाँ मिडियाकै आवरणमा त्यसको प्रयोगबाट आफूलाई जबर्जस्ती स्थापित गराउन चाहनुहुन्थ्यो । उहाँले उठाएका कतिपय विषय जनपक्षीय किसिमका देखिएकाले एकखालको जनमत बन्दै गएको भए पनि विषयवस्तु उठाउने शैली भनिदैँ र गरिदैँ आएको विश्व पत्रकारितासँग मेल खाने खालको थिएन । त्यहाँ खोजी, गहिराइ भन्दा बढी सतह थियो । अनुसन्धानमूलक नयाँ विषयमाथिको क्रिया भन्दा भइसकेको विषयमाथिकै बढी प्रतिक्रिया हुन्थ्यो । मात्र त्यसमा एउटा सक्रियता देखिन्थ्यो । मिडियाको ‘प्लेटफर्म’बाट आफ्नै बखान गर्नु, बजारका हल्लाका आधारमा अरूको आलोचना भन्दा गालीगलौजमा रमाउनु पत्रकारिता थिएन, रवि या जस कसैले आज या भोलि यस्तो हथकण्ठा अपनाए पनि त्यो पत्रकारिता हैन र हुने छैन । बरु, त्यो भन्दा पहिले चलिआएको, रविले चलाउनुभएको र अहिले पनि पछ्याइने यस्तै शैलीलाई पत्रकारिताको परिभाषा र अभ्यासभन्दा ’प्रतिक्रियाकारिता’ नामकरण गर्नु उपर्युक्त हुन्छ ।
हुन त रवि वाक्कलामा प्रतिभाशाली देखिनुहुन्छ नै, केही विश्व रेकर्ड राख्नुभएको पनि छ, तैपनि देखिनेगरी उहाँले अपनाएको ‘प्रतिक्रियाकारिता’ले उहाँलाई मात्रै स्थापित गराउन झनै मद्दत गर्यो ।
र्याप गायक बालेन साहको काठमाडौँ महानगरपालिकाको मेयरमार्फत राजनीतिमा भएको एकाएक उदयपछि हौसिनुभएका रविले यही प्रतिक्रियाकारिताको जगमा राजनीतिमा छिट्टै स्थापित हुने अवसर देखेर पार्टी स्थापना गर्नुभयो । र, छ महिनामै राम्रो अवसर पनि प्राप्त गर्नुभयो । यसको फाइदा उहाँलाई त भयो तर पत्रकारिताको मूलमर्म, अभ्यास र पत्रकारितालाई आम अडियन्सले हेर्ने लय भने भत्कियो । गज्याङ्मज्याङ् हुँदै आएको नेपाली पत्रकारिता झन् गज्मजियो ।
प्रतिक्रियाकारिताकै क्रममा २०७४ साल वैशाख ११ र माघ २८ गते न्युज २४ मा उहाँद्वारा सञ्चालित ‘जनतासँग सिधा कुरा’ कार्यक्रमलाई लिएर उहाँका विरुद्ध क्रमशः कैलाश लोहनी र लक्ष्मण बिकको नामबाट प्रेस काउन्सिल नेपालमा उजुरी प¥यो । पत्रकार आचारसंहितामा विद्यमान उजुरी र कारबाहीको कार्यविधिबमोजिम काउन्सिलले प्रक्रिया अघि बढायो । उहाँले काउन्सिलको पत्रको सरल जवाफ दिनुभएन । सायद उहाँको त्यतिबेलाको ब्रम्हले जवाफ दिनभन्दा सामाजिक सञ्जालमार्फत त्यसलाई सार्वजनिक गर्न उचित ठान्यो । त्यसले गर्दा काउन्सिलको सिँगो परिवार तनावमा पर्यो । बाहिर काउन्सिलले नहुँदो गरेको हो कि भनी ‘ह्वीम’ फिँजाइयो ।
काउन्सिलका तत्कालीन कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई तथानाम गालीगलौज गरे । सूचना अधिकारी भएको नाताले मलाई समेत आमाचकारी गाली गाली मात्रै गरेनन्, काट्छु, मार्छु भनेर धम्की दिँदै हतोत्साहित बनाउने प्रयास गरे उहाँका ‘डाइहार्ट’ पछुवाहरूले । जबकि रवि मात्रै होइन, जुनसुकै सेलिब्रेटी, प्रधानमन्त्री, मन्त्री, सांसद, नेता, उच्च पदका व्यक्तिदेखि सामान्य मानिसविरुद्ध पर्ने उजुरीउपर कारबाही थाल्ने काउन्सिलको प्रक्रिया एउटै थियो, हो र अहिले पनि त्यही प्रक्रिया छ । काउन्सिलको तत्कालीन नेतृत्वप्रति पूर्वाग्रह साँधेर हो वा किन हो बुझेर पनि यस कुरामा साथ दिएनन् मूलप्रवाहका सञ्चार माध्यमले त्यतिबेला । रविले गत आइतबारको पत्रकार सम्मेलनमा ती मिडियाविरूद्ध कटाक्ष गरेपछि सायद सबैले काउन्सिलको आवश्यकता र महत्वलाई अल्लि गहिरो गरी महसुस गरेको हुनुपर्छ अहिले ।
त्यसो त काउन्सिल ती मिडियाका लागि मात्र होइन, रविका लागि पनि आवश्यक हुन्छ ।
रविले जसरी आफू सांसद, उपप्रधानमन्त्री÷गृहमन्त्री भएपछि मिडियाले एकोहोरो रूपमा घेरेको, खेदेको आरोप लगाउनुभयो, त्यस विषयमा न्याय खोज्नका लागि उहाँले समेत आउने ठाउँ काउन्सिल नै थियो, छ र रहनेछ । तर प्रक्रिया भन्दा सिधै क्रियामा हाम्फल्ने अति आत्मविश्वासी स्वभावका रवि काउन्सिल धाउने झन्झटतिर लाग्नुभएन, किन पनि भने, ५ वर्षअघि नै उहाँले काउन्सिल नजाने वाचा खाइसक्नुभएको थियो । अहिले अदालतको फैसलालाई सम्मान गरे झैँ पहिले काउन्सिलको सामान्य सोधनी पत्रलाई सम्बोधन गर्न सकेको भए उहाँलाई काउन्सिलमा उजुरी हाल्न नैतिक हिसाबले पनि गाह्रो हुने थिएन । शैली जेजस्तो भए पनि, उहाँले आफू पत्रकार होइन भने पनि, उहाँविरुद्ध उजुरी परेको र उहाँ मिडियाकर्मी नै भएकाले काउन्सिलले उहाँप्रति व्यक्तिगत नभइ आचारसंहितागत हिसाबले मात्रै कुरा गर्न खोजेको थियो । उजुरीको प्रक्रिया अघि बढाउने क्रममा उहाँ काउन्सिलसँग जोडिन पुग्दा उहाँका नागरिकता र पासपोर्टका प्रसङ्ग उप्केका थिए । काउन्सिलको अनुरोधलाई आफ्नै हितअनुकूल ठानेर नागरिकता र पासपोर्टको विषयलाई त्यहीबेला सल्ट्याएको भए अहिले उहाँको अनावश्यक आलोचना हुने थिएन । सबै पद गुमाएर दुःख पाउनुपर्ने थिएन ।
त्यतिबेला नै कानुनी प्रक्रिया पूरा गरेर आचारसंहिताअनुकूल सञ्चारकर्म गरेको भए राजनीतिमै जाँदा पनि उहाँकै कल्याण हुनेथियो । र, फेरि पनि भन्न चाहन्छौँ, व्यक्तिगत रूपमा उहाँप्रति काउन्सिल हिजो पनि पूर्वाग्रही थिएन, आज पनि छैन र भोलि पनि हुने छैन ।यी र यस्तै प्रकृति र प्रवृत्तिका समग्र पत्रकारिताको कुरा गर्दा यी रवि र अन्य रविहरूले अपनाएको शैली केही मात्र प्रवृत्तिगत उदाहरण हो किनकि अहिले पनि पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन गरी मिडिया चलाउने र मिडियालाई व्यक्तिगत फाइदा÷पक्षमा प्रयोग गर्ने तथाकथित मिडिया, पत्रकार, कार्यक्रम सञ्चालक प्रशस्तै छन् नेपाली पत्रकारिताको बजारमा । अनि राजनीतिक पार्टी वा कुनै सङ्गठनको नेता, कार्यकर्ताले झैँ मिडियाबाट अरुलाई गाली गरेर ताली पाउने लालसा पालेका तथाकथित पत्रकारले सीधासाधा अडियन्सलाई भ्रममा पारिरहेका छन् । यसमा अडियन्सको दोष छैन किनकि ग्राहकले त पसल, होटलमा जे पाक्छ र बेटरले जे दिन्छ त्यही खाने हो ।
त्यसैले अल्लि सचेत अडियन्स नभएसम्म र काउन्सिलजस्तो सँस्थालाई बलियो नबनाएसम्म पत्रकारिताको नाममा विभिन्न मिडियाबाट न्वारनदेखिको बल लगाएर चिच्याउनेहरूकै पछि ‘कर्कले’ भीड लागिरहने छ । इमान्दार पत्रकार र पत्रकारिता पाखा लाग्नेछ । समाजले ‘स्टन्ट’बाजहरूलाई नै नायक ठानिरहनेछ । राज्य सञ्चालक शासक, प्रशासकको बेइमानी, लापरबाही, कमजोरी, असक्षता कायम रहेसम्म अडियन्सको असन्तुष्टि र आक्रोशमाथि ’इमोसनल ब्ल्याकमेलिङ’ गरेर मिडियाकै गर्भ(चाहे त्यो न्युज मिडिया होस् या सोसल मिडिया) बाट ‘स्टन्ट’बाजहरू जन्मिरहनेछन् ।
२०७९/१०/२५ काे जनअास्था वाट साभार