रमेश के.पि परियार
१३ फागुन,काठमाडौं-आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा ‘स्वतन्त्र विद्यार्थी युनियन’को निर्वाचन हुँदै छ।विद्यार्थी सङ्गठनहरू निर्वाचनको प्रचार–प्रसारमा व्यस्त रहेका छन्।दुई वर्षको अन्तरमा हुनुपर्ने निर्वाचन झन्डै डेढ दशक पछि हुन लागेकाले यसपालि यो निर्वाचनका प्रति विद्यार्थीको विशेष चासो र उत्साह पनि बढेको छ । चुनाव जित्नका लागि बल लगाउन सुझाएपछि त विद्यार्थी ‘जसरी पनि निर्वाचन जित्न’ सबै किसिमका हथकण्डा प्रयोग गर्ने अवस्था देखा परेको छ ।
यस क्रममा नयाँ शैक्षिक सत्र ७९ को भर्नाको लागि पनि धेरै भर्ना गर्ने होड चलिरहेको छ र त्यसैमाथी भर्ना भएकै दिन देखि आफ्नो संगठनमा ल्याउनको लागि विभिन्न प्रलोभनमा पारेर आफू तिर आकर्षित गर्दै पार्टीको नाम जोडेर माओवादी, एमाले ,कांग्रेस भन्दै नामको पछाडी पार्टीको ट्याग लगाइदिने गरेका छन्। विद्यार्थीको शैक्षिक सुधार गर्न लागिपरेको विद्यार्थी संघ संगठनहरुले पार्टीको ट्याग लगाइदिने विषयमा भन्दा विद्याथीको शक्षिक सुधारै नै आजको महत्वपूर्ण बिषय विद्यार्थी नेता कार्यकर्ताले बुझ्न जरुरी छ ।
नेपालमा विद्यार्थी आन्दोलनको इतिहास नेपालको प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो छ र यसले मुलुकमा पटकपटक भएका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दा फरक पर्दैन । तर, यो परिपक्व भने हुन सकेको छैन । नेपालको राजनीतिमा जुन खालको अन्योलबाट गुज्रेको छ त्यही स्थिति विद्यार्थी आन्दोलनमा पनि परेको छ । अनावश्यक र झिनामसिना बहाना र निहुँमा पठनपाठनमा अवरोध सिर्जना गर्ने, विद्यार्थी हकहितभन्दा बाहेकका बिषयमा राजनीति गर्ने र पवित्र शैक्षिक स्थललाई मुठभेडको थलोमा परिणत गर्ने, गुरुवर्गको सम्मान र शिक्षालयको पवित्रताको बेवास्ता गर्नेजस्ता कार्य गरिरहेका छन् जसलाई हामीले अत्यन्त दुखद् मान्नुपर्छ ।
स्वतन्त्र विद्यार्थी युनियनको काम विद्यार्थीको हकहितमा आवाज उठाउनु हो, शैक्षिक वातावरण कायम राख्न सहयोग गर्नु हो, शिक्षाक्षेत्रमा विद्यमान कमी–कमजोरी सुधारमा दबाब दिनु तथा प्रभावकारी शैक्षिक प्रणाली स्थापित गर्न विश्वविद्यालय र क्याम्पस प्रशासनलाई सहयोग पुर्याउनु हो । तर, हाम्रा विद्यार्थी युनियनहरू राजनीतिको. अखडा बनेको छ । विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा सुधारभन्दा उनीहरूको ध्यान क्याम्पसहरूमा हालीमुहाली मच्चाउनेतर्फ केन्द्रित हुने गरेको देखिन्छ। निश्चय नै विद्यार्थी सचेत हुन्छन् तर हाम्रा विद्यार्थी सङ्गठनहरूले राजनीतिक इसारामा स–साना कुरामा पनि निहुँ झिक्ने र पठनपाठनमा अवरोध उत्पन्न गर्ने काम मात्र गरिरहेका छैनन् बरु शैक्षिक वातावरण बिगार्ने काम पनि गरिरहेको देखिन्छ।
राजनीतिमा भाग लिन र सक्रिय हुन नचाहने विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्ने गरेका छन् । जसले निजी क्षेत्रका कलेजमा विद्यार्थीको सङ्ख्या बढेको छ र तिनको व्यापार फस्टाएको छ । यसरी विद्यार्थी नै शिक्षालाई व्यापारमा परिणत गर्न सहयोगी बनेका छन् जुन विडम्बनाको विषय हो । उच्च शिक्षा हासिल गर्दै गरेका विद्यार्थीले मुलुकको अवस्था र आवश्यकतालाई दृष्टिगत गरी सम्बन्धित पक्षहरूलाई सुझाव र दबाब दिनुपर्छ । विद्यार्थी नेता र विद्यार्थी संघसङ्गठनहरूले विद्यार्थीको हित र शैक्षिक वातावरण निर्माणमा सहयोग गरी अनुशासित र मर्यादित जनशक्ति उत्पादनमा सहयोग गर्नुपर्छ । अझ राजनीतिक दलहरू गैरजिम्मेवार र असक्षम सावित भइरहेको अवस्थामा आफूलाई थप जिम्मेवार एवम् सक्रिय बनाउनुपर्छ ।
तर विद्यार्थी नेतृत्वबाट त्यसतर्फ प्रयास भएको देखिदैन । यस्तै उनीहरू गुणस्तरीय र नियमित पठनपाठनका लागि लडनुपर्नेमा सोविपरीत राजनीतिक दलका हतियार बन्ने तथा तिनकै इसारा र निर्देशनमा विद्यार्थीले नै क्याम्पसहरूलाई भिडन्तको थलो बनाउने, राजनीतिक दलका नारा बोकेर पठनपाठनमा अवरोध गर्ने र अन्तत आफ्नै भविष्य बर्बाद गर्नेतर्फ उद्यत् भएर लाग्नु दुर्भाग्यपूर्ण विषय बनेको छ । विद्यार्थी मुलुकका भविष्य हुन । विद्यार्थीको काम शिक्षा हासिल गर्नु हो । सबै कुरा बुझेका विद्यार्थीले मुलुकको भविष्य उज्ज्वल बनाउन सक्छन् । यसैले आफ्नो बौद्धिक क्षमता तिखार्नु र भविष्यका लागि योग्य नागरिक बन्नु विद्यार्थीको लक्ष्य हुनुपर्छ । विद्यार्थीको ध्यान यसतर्फ गएन र राजनीतिक दलको भातृ सङ्गठनको सदस्य बनी दलको इसारामा गतिविधि गर्ने काम भयो भने त्यसले विद्यार्थीको भविष्य त अन्धकार हुन्छ नै मुलुकको भविष्य पनि अन्योलमा पर्ने देखिएको भन्ने विषयलाई विद्यार्थीले बुझ्नुपर्छ।
विद्यार्थी सङ्गठनको राजनीतिमा लाग्नेहरूमध्ये कतिपय कहिल्यै विद्यार्थीभन्दा माथि नजाने पनि देखिएका छन् । राजनीतिकै लागि क्याम्पसमा भर्ना हुने, कहिले एउटा र कहिले अर्को संकाय कलेज र कक्षामा भर्ना भई विद्यार्थी बनिरहने प्रवृत्ति पनि कतिपयमा देखिएको छ । यिनलाई त कसैले संरक्षण गरेको होला, उसैको नुनको सोझो गर्न यसो गरेका होलान्, भविष्य कसैले जिम्मा लिइदिएको होला । तर, जो साँच्चै विद्यार्थी हुन्, जसलाई अभिभावकले शिक्षा आर्जन गर्न र योग्य र सक्षम नागरिक बन्नका लागि दुर्गम क्षेत्र बाट दुख गरेर उच्च शिक्षा हासिल गर्न पठाएका छन् तिनलाई पर्ने प्रभाव विद्यार्थी नेताहरूले बुझ्नुपर्छ ।
नेपालको हरेक राजनीतिक परिवर्तनमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका र योगदान रहेको छ । २००७ सालको क्रान्ति होस वा २०६२र६३ को ऐतिहासिक महान जनआन्दोलन नै युवा र विद्यार्थी वर्गको सक्रिय सहभागिताकै बलमा सफल भएका हुन । यस सन्दर्भमा विद्यार्थी जो भविष्यका कर्णधार र भविष्यमा मुलुकको नेतृत्व गर्ने वर्ग हो त्यो अनुशासित, मर्यादित, सभ्य, शिष्ट र जिम्मेवार होस भन्ने आम अपेक्षाप्रति विद्यार्थी नेताको ध्यान जानु जरुरी छ । युवा र विद्यार्थी मुलुकका भविष्य हुन। अनुशासित, मर्यादित, जिम्मेवार एवम् संस्कारयुक्त युवा र विद्यार्थी मुलुकलाई सही दिशातर्फ डोर्याउन सक्षम हुन्छन् भने असक्षम राजनीतिक नेतृत्वको अन्धभक्तका रूपमा तिनकै निर्देशन, नियन्त्रण र एकप्रकारले लाचार छायाकै रूपमा प्रस्तुत हुने युवा र विद्यार्थीको नेतृत्वले मुलुक र जनताका अपेक्षा पूरा गर्न सक्दैन । विद्यार्थी नेताले यो कुरा बुझ्नुपर्छ ।
विद्यार्थीमा अवश्य पनि राजनीतिक चेतना आवश्यक हुन्छ । तर, पूर्णकालीन कार्यकर्ताकै रूपमा शिक्षण संस्थामा राजनीति गर्ने, पठनपाठनमा अवरोध गर्ने र पढ्न चाहने विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्ने काम भने हुनुहुँदैन । अस्वस्थ प्रतिस्पर्धा र अराजक गतिविधिले कसैको हित गर्दैन, विद्यार्थीले यो कुरा बुझ्नैपर्छ । राजनीति गर्न चाहनेले राजनीति गरे पनि अध्ययन गर्न चाहनेको अधिकारप्रति पनि विद्यार्थी नेताहरू सचेत हुनुपर्छ ।
लेखक नेकपा माओवादी निकट विद्यतर्थी संगठन अखिल क्रान्तिकारी सुर्खेत(काठमाडौं सम्पर्क मंञ्चका अध्यक्ष हुनुहुन्छ। ,