Fast Nepal News

मौसम र ओमिक्रोनले परीक्षण उडान अनिश्चित

banner single news

भैरहवा —   ०६ माघ २०७८

भैरहवा , निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी गरिएको छ । चाँडो सञ्चालनका निम्ति नागरिक उड्डयन प्राधिकरणका गतिविधि केन्द्रित देखिएका छन् । मौसममा सुधार नआएको र कोभिडको ओमिक्रोन भेरिएन्ट तीव्र रूपमा फैलिएका कारण परीक्षण उडान र सञ्चालन मिति यकिन हुन सकेको छैन । दुई सातादेखि बाक्लो हुस्सु र शीतलहरले मौसम प्रतिकूल छ । यससँगै ओमिक्रोनको बढ्दो संक्रमणले विमानस्थललाई चाँडो सञ्चालमा ल्याउन गरिएका तयारी प्रभावित बनेका छन् । मौसममा सुधार आउनासाथ थाइल्यान्डबाट विशेष विमान ल्याएर परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्ने तयारी छ । ‘हामी जतिसक्दो चाँडो विमानस्थल सञ्चालनमा ल्याउने तयारीमा छौं,’ नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले भने, ‘विमानस्थललाई चाँडो सञ्चालनमा ल्याउन अलग–अलग क्षेत्रमा काम गर्ने गरी प्राधिकरणका तीन/चार टिम बनाएर खटाइएको छ ।’

आयोजनाबाट अहिलेसम्म गरिएका प्राविधिक र भौतिक पूर्वाधारका निर्माण कार्यको अन्तिम विश्लेषण गर्न दुई–तीन दिनभित्रमै प्राविधिकसहितको टिम लिएर आफू विमानस्थलमा आइपुग्ने ठाकुरले बताए । गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन सोमबारदेखि ‘मिसन गौतम बुद्ध विमानस्थल’ अभियान सुरु गरिएको छ । विमानस्थलको विश्लेषण गरिएपछि परीक्षण उडानको मिति तय गरिनेछ । परीक्षण उडानपछि कार्यतालिका बनाएर अगाडि बढाइने उनले जानकारी दिए । विमानस्थलमा जडिट उपकरणले ठीकसँग काम गरे/नगरेकोबारे परीक्षण उडानबाट पत्ता लाग्नेछ । मौसमले साथ दिएको खण्डमा फागुनको मध्यतिरबाट परीक्षण उडान गर्ने तयारी छ । परीक्षण उडानको प्रक्रिया सकिएपछि गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न योग्य रहेको भनी अनुमति (प्रमाणीकरण) प्रमाणपत्र दिने कार्यका लागि काम जारी रहेको ठाकुरले जनाए । ‘विमानस्थल चाँडो सञ्चालन गर्न विभिन्न एंगलबाट हामीले काम गरिरहेका छौं,’ उनले भने, ‘मौसममा सुधार र ओमिक्रोनको संक्रमण आक्रामक नहोस् भन्नेमा छौं ।’

विमानस्थलको प्रमाणीकरण अनुमतिको काम नागरिक उड्डयन प्राधिकरणले नै गर्छ । कार्गो सञ्चालनका लागि गोदाम तथा पारवहन कम्पनीसँग र विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल वायुसेवा निगमसँग कुरा भइरहेको छ । विमानस्थलमा अध्यागमन, भन्सार, क्वारेन्टिन, राष्ट्रिय अनुसन्धानलगायत एजेन्सी स्थापनाको प्रक्रिया पनि अगाडि बढाइएको छ । आयोजनाको मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउनेलगायत कामलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरी यसका लागि थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको थियो । ठेक्का सम्झौताअनुरूप यससम्बन्धी सबै उपकरण जडान र यान्त्रिक परीक्षणसमेत एरो थाई कम्पनीले नै गर्नुपर्छ । आईसीबी वानतर्फ भौतिक संरचनाका निर्माण कार्य चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरेको छ ।

Inside Article Ads

परीक्षण उडान र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न नेपाली इन्जिनियरसहितको प्राविधिक टिमलाई भैरहवामा दुईमहिने तालिम सञ्चालन गरिएको छ । यो तालिम माघ २ देखि सञ्चालन भएको हो । विमानस्थलमा जडित उपकरणको सञ्चालन कसरी गर्ने भन्नेबारे तालिम केन्द्रित छ । तालिममा अमेरिका, अस्ट्रिया र थाइल्यान्डका प्रशिक्षक छन् । भैरहवा, काठमाडौं, नेपालगन्ज र चन्द्रगढी विमानस्थलका गरी १२ जना नेपाली इन्जिनियर तालिममा सहभागी छन् । तालिमपछि नेपाली प्राविधिक नै अन्यलाई तालिम प्रदान गर्न सक्षम हुनेछन् । ‘तालिम विशेषगरी आईसीबी– टुअन्तर्गत जडित सबै उपकरण सञ्चालनसँग सम्बन्धित छ,’ आयोजनाको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीन न्यौपानेले भने, ‘विमानस्थलको परीक्षण उडान र सञ्चालन गरी हस्तान्तरण गरिएपछि विदेशी ठेकेदार र विदेशी प्राविधिक फर्किन्छन् ।

विमानस्थलको स्थायी रूपमा सञ्चालन हाम्रै प्राविधिकबाट गराउनुपर्ने भएकाले यो तालिम सञ्चालन गरिएको हो ।’ आउँदो सातातिर थाइल्यान्डका प्रशिक्षक आउने न्यौपानेले बताए । उनीहरूको आगमनसँगै परीक्षण उडानको काम पनि अघि बढ्नेछ । तालिम सञ्चालनको अन्तिमतिर पुग्न लाग्दा परीक्षण उडानका लागि थाइल्यान्डबाट विशेष विमान पनि आइपुग्नेछ । ‘अबको एक महिनाभित्र परीक्षण उडानका लागि विमान आउने सम्भावना छ,’ न्यौपानेले भने, ‘परीक्षण उडानका लागि उनीहरूले मौसमबारे सबै अध्ययन गरिरहेका छन् ।’

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.