Fast Nepal News

क्युरियोका सामान : पहिला विदेशीलाई, अहिले नेपालीलाई

banner single news

काठमाडौँ —  ०६ माघ २०७८

काठमाडौँ , कुनै बेला वसन्तपुर र पाटन दरबार स्क्वायर परिसरमा विदेशीलाई लक्ष्य गरेर मात्र सामान राखिन्थ्यो । आन्तरिक पर्यटकले ‘विदेशीका लागि हो, महँगो हुन्छ भन्दै छाडिदिन्थे ।’ स्टलमा सिंगिङ बल, बज्र, खुकुरी, माने, मुकुट, भगवान्का विभिन्न मूर्ति, रुद्राक्षका माला, बालालगायत सामग्री विदेशीलाई हेरेर राखिन्थ्यो । तर हिजोआज क्युरियो व्यवसायीहरूले बाला, झुम्का, औंठी, ब्रासलेट, विभिन्न प्रकारका माला विदेशी र स्वदेशी दुवैलाई लक्ष्य गरेर राख्न थालेका छन् । व्यवसायी आफैं स्विकार्छन्, ‘पहिला बाह्य पर्यटकले धानेको थियो, अहिले आन्तरिकले नै किन्ने गरेका छन् ।’ वसन्तपुर डबलीमा ३० वर्षदेखि पुष्कर कार्कीले क्युरियोका सामान बेचिरहेका छन् । व्यवसाय सुरु गरेदेखि ३० वर्षमा पहिलो पटक कोरोनाका कारण व्यवसाय घटेको उनले सुनाए । ‘दुई वर्षमा कोरोनाले मलाई कहिले घर, त कहिले डबलीमा पुर्‍यायो,’ उनले भने, ‘विदेशी पयर्टक नभएपछि आन्तरिकमै सीमित भइयो, कहिलेकाहीं त दिनमा २ सय कमाउन नि मुस्किल पर्न थालेको छ ।’

सन् २०१२ तिर आफ्नो व्यवसायी एकदमै फस्टाएको उनी सम्झिन्छन् । त्यति बेला चिनियाँ पयर्टक धेरै भित्रिएपछि व्यापार बढेको उनको अनुभव छ । ‘त्यो बेला नेपालीहरूले त हेर्दा पनि हेर्दैनथे, तर आजकाल समय फेरिएको छ । पहिला नहेर्ने आन्तरिक पर्यटक नै हाम्रा स्रोत बनेका छन्,’ उनले भने, ‘कोभिडयता आन्तरिक पर्यटकले नै व्यवसाय धानेका छन् ।’ पहिला प्रतिदिन ५ देखि १० हजार रुपैयाँ बराबरको व्यापार भए पनि हिजोआज महिनामा १० हजार पुर्‍याउन पनि मुस्किल हुने गरेको उनले सुनाए । ‘सामान बोकेर ल्याइदिनेलाई २०० रुपैयाँ दिनुपर्छ,’ उनले भने, ‘कहिलेकाहीं त्यही २ सय रुपैयाँ दिनलाई पनि व्यापार हुँदैन ।’ वसन्तपुरको डबलीमा हिजोआज प्राचीन सामान मात्र होइन, नयाँ पुस्तालाई लक्ष्य गरेर सामान राख्न थालिएको छ । पहिला विदेशी पर्यटकलाई लक्षित गरेर क्युरियोका सामान राख्ने डल्लुका विष्णु शाहीले अहिले स्वदेशीलाई नै लक्ष्य गरी सामान राखिरहेका छन् । उनको स्टलमा बजारमा चलेका थरीथरीका ब्रासलेट छन् ।

‘अहिले बजारमा चलेका सबैखाले कपल ब्रासलेट राखेको छु, यसैले अलिअलि खर्च उठेको छ,’ उनले भने, ‘विदेशी नभएपछि स्वेदशीलाई पनि लक्ष्य गर्नैपर्‍यो, खाने बाटो निकाल्नैपर्‍यो नि ।’ कोरोना महामारीपछि नै उनले स्वदेशी पर्यटकलाई लक्ष्य गरी सामान राख्न थालेको उनले सुनाए । ‘मैले व्यापार सुरु गर्दा वसन्तपुरमा आन्तरिक पर्यटक देख्न इन्द्रजात्रा आउनुपर्थ्यो,’ उनले भने, ‘अहिले त बिहानदेखि साँझसम्म स्वेदशीले नै भरिभराउ हुन्छ । जेहोस् पहिलाको जस्तो व्यापार नभए पनि बेकारमा बसेछु भन्ने हुँदैन ।’ वसन्तपुरको डबलीमा १०० रुपैयाँदेखि १७ हजारसम्म पर्ने सामान राखिएका छन् । व्यवसायीले नजिकैको बजारबाट सामान ल्याएर बेच्ने गर्छन् । कोरोनाका कारण व्यवसायीले हरेक सामानमा ३० प्रतिशत मूल्य बढाएको स्विकार्छन् ।

Inside Article Ads

सयभन्दा बढी व्यापारी बस्ने डबलीमा अहिले ८४ वटा मात्र छन् । पाटन दरबार परिसरमा त झन् बुधबार ५ वटा मात्र पसल थिए । वसन्तपुरको तुलनामा पाटनमा भने प्राचीन सामान मात्र धेरै थियो । ‘कोही बिरामी त कोही व्यापार नहुने भन्दै आउन छाडेका छन्, आजकाल आउने/जाने मात्र हुन्छ,’ पाटनमा स्टल राखेकी नानीमैया महर्जनले भनिन् । उनको स्टलमा खुकुरी, भगवान्का मुकुट, भगवान्का मूर्ति, ब्रासलेट राखेकी थिइन् । पाटनमै बनेका सामान मात्र राखेको उनी सुनाउँछिन् । ‘भाडा तिर्नुपर्दैन, त्यसैले बाँचेका छौं,’ उनले भनिन्, ‘भरियालाई बाहेक अरूलाई दिनुपर्दैन । जति व्यापार भए पनि ।’ कोरोना भएदेखि स्वदेशी पर्यटककै सहारा भएको उनको भनाइ छ । ‘कोरोनाले गर्दा १९ महिना पसल बन्द भयो, छोराछोरीलाई खर्च माग्नुपर्ने भयो । अहिले पसल चलेनी विदेशी नै छैन । स्वदेशीले नै किन्छन् । जसोतसो चलिरहेको छ,’ उनले भनिन् ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.