टोकियो — १४ श्रावण २०७८
टोकियो, नेपाली खेलाडी ओलम्पिकमा प्रतिस्पर्धा गर्न थालेको ५७ वर्ष पुग्दा पनि पदक नजिक पुगेका छैनन् । पहिलो चरण पार गरेको इतिहास पनि दुर्लभै छ । यसपालि पनि कथा उस्तै छ । तर, टोकियो ओलम्पिक २०२० को पाँचौं दिनसम्म आइपुग्दा प्रतिस्पर्धा गरेका चार जनामध्ये तीन खेलाडीले प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका छन् ।पौडीको १०० मिटर फ्रिस्टाइल हिट्स चरणमा प्रतिस्पर्धा गर्दै नेपालकी गौरिका सिंह (नीलो) ।
नेपाली पौडीमा छाइरहेकी गौरिका सिंहले अपेक्षाकृत रूपमै महिला १ सय मिटर फ्रिस्टाइल १:००.११ मिनेटमा पूरा गर्दै बुधबार आफैंले बनाएको राष्ट्रिय कीर्तिमानमा सामान्य सुधार गरिन् । ‘कोभिड–१९ का कारण पछिल्लो एक वर्षमा आठ महिना त पुल (स्विमिङ पुल) मा निस्कन पनि मिलेको थिएन । प्राक्टिसमा रेस (प्रतियोगितामाजस्तै दौडने) पनि गरेको थिइनँ । लङ कोर्स (५० मिटरको स्विमिङ पुल) मा त प्राक्टिस नै गरेकै थिइनँ,’ टोकियो अक्वाटिक्स सेन्टरमा ‘हिट्स १’ को प्रतिस्पर्धापछि उनले भनिन्, ‘त्यसैले नेसनल रेकर्ड बनाउन पाउँदा खुसी लागेको छ । आनन्द भयो ।’
यो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी पहिलो नेपाली खेलाडी कल्पना परियारले कीर्तिमानको सुरुआत गरेकी थिइन् । उनले सुटिङको १० मिटर एयर राइफलमा ६१६.८ स्कोर गर्दै पहिलो दिन आफ्नै नामको दुई वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन् । जुडोकी सोनिया भट्टको भने ओलम्पिकमा पहिलो बाउट जित्ने चाहना अधुरै रह्यो ।
कीर्तिमानी तीनै खेलाडीले ओलम्पिक छात्रवृत्तिमा रहेर करिब दुई वर्ष तयारी गरेका थिए । त्यसअन्तर्गत उनीहरूलाई मे, २०१९ यता प्रशिक्षण र प्रतियोगिताका लागि मासिक ५ सय अमेरिकी डलर दिइएको थियो । तर, विश्वकै सबैभन्दा प्रतिष्ठित खेलका लागि उनीहरूको तयारी उत्कृष्ट थिएन । ओलम्पिकमा उत्कृष्टलाई मात्र होइन, मध्यम खालका खेलाडीलाई पनि चुनौती दिने स्तरको थिएन । गौरिका र एलेक्सले जापान ओर्लनुअघि ओलम्पिक तयारीमा ५० मिटरको पुल (लङ कोर्स) मा अभ्यास नै गर्न पाएका थिएनन् । २५ मिटरको पुलमै सीमित थिए ।
११ वर्षकी छँदै एउटै प्रतियोगिताका सात स्पर्धामा आठपल्ट राष्ट्रिय कीर्तिमानकी बनाएकी गौरिकाले २०७१ सालयता नेपाली पौडीमा एकछत्र राज गरिरहेकी छन् । लन्डनमा परिवारसँगै रहेर पढाइ र ट्रेनिङ गरिरहेकी उनी नेपाली पौडीमा कीर्तिमानकी पर्याय नै भइसकेकी छन् । १२ औं साग २०१६ (गुवाहाटी) मा एक रजत र तीन कांस्य हात पारेकी उनले सातदोबाटोस्थित हिटिङ सिस्टमको पुलमा दुई वर्षअघि सम्पन्न १३ औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेर सनसनी मच्चाएकी थिइन् ।
रियो ओलम्पिक २०१६ मा ११ हजार खेलाडीमध्ये सबैभन्दा कम उमेरकी भएकीले खुबै चर्चा पाएकी गौरिकाले भनिन्, ‘लङ कोर्समा प्राक्टिस नै भएको थिएन । तोकुसिमामा मेरो प्रशिक्षक पनि थिएन । कतिवटा सेसन त आँधीबेहरी आएर गर्नै पाइएन ।’ पहिलोपल्ट ओलम्पिकमा सहभागी एलेक्सको अवस्था पनि फरक थिएन । नेपाली सेनाकी कल्पनाले त त्रिभुवन आर्मी क्लबले उपलब्ध गराएको राइफल र पोसाक लगाएर खेलेको वर्षौं भइसकेको छ ।
यी खेलाडीहरूको तयारीलाई यसपालि त कोरोना भाइरसको महामारीले संकटमा पारिदियो । महामारीकै कारण ३२ औं ओलम्पिक पनि एक वर्ष ढिला गरी दर्शकरहित र तामझामबिना नै भइरहेको छ । तेक्वान्दोका संगीना वैद्य (एथेन्स २००४) र दीपक विष्ट (बेइजिङ २००८) छनोट पार गरेर ओलम्पिक खेलेका नेपाली खेलाडी हुन् । बाँकी सबै नेपालीले विश्वव्यापी सहभागिता र आमन्त्रित कोटामा ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् । गौरिका, एलेक्स र सरस्वतीले विश्वव्यापी सहभागितामा टोकियो यात्रा गरेका हुन् । सोनिया र कल्पनाले आमन्त्रित कोटामा खेलेका हुन् । त्यसैले पनि ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन राष्ट्रिय कीर्तिमानमै सीमित हुने गरेको छ ।
(कान्तिपुर दैनिक)