वीरगन्जको नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ लाख चोरी भएको घटनामा संलग्न रहेको समूहमध्ये प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।
यस्तै बैंकबाट चोरी भएकोमध्ये केहि रकमपनि फेला परेको छ।
चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले रौतहटबाट दुई जना नेपालीलाई पक्राउ गरेको छ भने भारतको घोडासहनबाटपनि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। चोरीमा संलग्न समूहका बाँकी एक जना भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरी श्रोतले जानकारी दिएको छ।
बैंकमा चोरी गर्नुभन्दा पहिले चोरहरूको समूहले गत आइतबार वीरगन्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटलमा छोटेलाल जयसवालका नाममा कोठा बुक गरेर बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने चोरीको घटनामा संलग्न रहेको आशंकामा अहिलेसम्म दुई जना नेपालीलाई मात्र नियन्त्रणमा लिएको बताएका छन्। भारतमा पनि एक जना पक्राउ परेको जानकारी भारतीय प्रहरीबाट आएको तर यस बारेमा यकिन भने भइनसकेको उनले बताएका छन्। थापाले भने,‘ अहिलेसम्म हामीले दुई जना नेपालीलाई मात्र नियन्त्रणमा लिएका छौं। अनुसन्धान प्रभावित हुने भएकाले उनीहरूको पहिचान सार्वजनिक गर्न मिल्दैन। उता भारतमा पनि एक जनालाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको भन्ने खबर छ।’