व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ्ग लगाउने पेन्टिङ थियो ।
विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उनी अहिले तरकारी व्यापारमा लागेका छन् ।
आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रङ्ग लगाउने सेन्चुरी जस्ता मजदुरहरु जीविकाका लागि वैकल्पिक पेसा अपनाउन बाध्य छन् । “पेन्टिङको काम पाउन छोडेपछि तरकारी व्यापारमा लाग्नुप¥यो”, मोटरसाइकलमा तरकारी बेच्दै हिँडेका सेन्चुरीले भने, “अहिले बिहानदेखि बेलुकासम्म टोलबस्तीमा तरकारी बेच्न थालेको छु ।”
पहिले प्रत्येक टोलमा दुईतीनवटा नयाँ घर बन्ने गथ्र्यो । पेन्टिङको काम भ्याइनभ्याइ हुने गरेकामा करिब दुई वर्षदेखि घर बन्न छाडेको छ । त्यसपछि विकल्पका रुपमा तरकारी व्यापार गर्नुपरेको उनको भनाइ छ । तरकारी बिक्री गर्दा प्रतिस्पर्धा धेरै भएकाले थोरै फाइदा हुने उनले बताएका छन् ।
दैनिक घरको मिस्त्री काम गर्दै आएका व्यास– १० दुम्सीचौरका राजु दरै राहदानी बनाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा छन् । “पहिले दुईजना ठेकेदारको सम्पर्कमा कुनै दिन कामविहीन हुनु परेको थिएन”, दरैले भने, “एक वर्षदेखि बेरोजगार भएपछि घरमै कति बस्नु भनेर विदेश जाने सोचले राहदानी बनाएँ ।”
उनले घर निर्माणमा मजदुरी गर्दा दैनिक आठ घण्टामा रु नौ सय कमाउने गर्थे। अहिले मिस्त्री र सहयोगी मजदुर कामविहीन हुनपरेको उनको भनाइ छ ।