
काठमाडौं। सरकारी निकायमा पहुँच, सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने सक्रियता तथा ठूला व्यावसायिक प्रतिष्ठानसँग जोडिएका विवादका कारण भेषराज लुइटेल विभिन्न प्रश्नको घेरामा छन्। पाल्पाको साविक मदनपोखरा गाविस–१ घर भई हाल ललितपुरमा बसोबास गर्दै आएका लुइटेललाई कतिपयले भ्रष्टाचारविरुद्ध आवाज उठाउने व्यक्तिका रूपमा हेर्छन् भने केही व्यवसायीले उनीमाथि अनावश्यक कानुनी दबाब सिर्जना गरेको आरोप लगाएका छन्।
लुइटेलले २०६० सालतिर काठमाडौंको ठमेलमा बी.आर. लुइटेल एन्ड कम्पनी नामक लेखापरीक्षण फर्म स्थापना गरेका थिए। व्यावसायिक आचरणसम्बन्धी विवादपछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले २०६५ साल असार ३ गते उनलाई नसिहत दिएको विषय पनि उनको व्यावसायिक पृष्ठभूमिसँग जोडिएको छ।
पछिल्लो समय लुइटेल सर्वोच्च अदालतमा विभिन्न विषयमा रिट निवेदन दर्ता गर्ने व्यक्तिका रूपमा सक्रिय छन्। उनले १० भन्दा बढी रिट निवेदन दायर गरेको र विभिन्न विषयलाई न्यायिक प्रक्रियामा प्रवेश गराएका छन् ।
सिंहदरबार प्रवेश र सरकारी अधिकारीहरूसँगको सम्पर्क पनि लुइटेलसँग जोडिएका चर्चाका विषय हुन्। उनी विभिन्न मन्त्रालयमा जाने, उच्चपदस्थ कर्मचारीहरूसँग भेटघाट गर्ने तथा त्यस्ता भेटका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको भेटिन्छ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीसँग लुइटेलको सम्बन्ध तथा केहि सरकारी अधिकारीहरूसँगको निकटताबारे पनि उनले बढाईचडाई चर्चा गर्ने र फाईदा लिन खोज्ने उनको बानी रहेको बुझिएको छ ।
एभरेस्ट होटल, हायात रिजेन्सी होटल, डोल्मा फन्ड, एनसेल आजियाटा र कालिञ्चोक केवलकारलगायत व्यावसायिक प्रतिष्ठानसँग सम्बन्धित विवादमा पनि लुइटेलको नाम जोडिएको छ। व्यवसायीलाई कानुनी कारबाहीको दबाब दिएर रकम मागेको आरोपसमेत उनीमाथि लाग्दै आएको छ।
बैंकिङ कसुर तथा चेक बाउन्ससम्बन्धी पुरानो विवाद पनि लुइटेलसँग जोडिएको अर्को विषय हो। ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाकी छोरी ज्योत्सना सिंहले उनीविरुद्ध रकम लेनदेन तथा चेक बाउन्ससम्बन्धी उजुरी नै दिएकि थिईन । यस प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट फैसला भएको र त्यसपछि पुनरावेदन प्रक्रिया अघि बढेको बताइएको छ।
लुइटेलसँग सम्बन्धित यी विवादले सार्वजनिक सरोकारका मुद्दा उठाउने अधिकार, सरकारी निकायमा पहुँचको पारदर्शिता र व्यवसायीमाथि अनुचित दबाब परेको भए त्यसको जवाफदेहिताबारे प्रश्न उठछ । अर्को तर्फ कयौं कम्पनीलाई मुद्धा दायर गरेर विवाद सिर्जना गर्ने उनको व्यवहार माथी पनि प्रश्न उठदै आएको छ । मुद्धा लडदा पनि समय र पैसा दुवै खर्च लाग्छ, यस कोणबाट पनि स्रोत र नियत दुवै माथि प्रश्न उठने गरेको छ ।
