
मेरो परिचय मेरो विवेक हो, मेरो सम्पत्ति मेरो स्वतन्त्र विचार !
हिजो एक जना मित्रले मलाई सोधे, “तिमी को हौ?”
मैले सहजै जवाफ दिएँ, “म, म हुँ।”
उनले फेरि प्रश्न थपे, “तिम्रो सिद्धान्त के हो?”
मैले भनेँ, “मेरो सिद्धान्त नै म हुँ।”
उनको जिज्ञासा रोकिएन। अर्को प्रश्न आयो, “किन लेख्छौ?”
मैले जवाफ दिएँ, “म, म भएर लेख्छु।”
अन्त्यमा उनले अलि गम्भीर हुँदै सोधे, “म भनेको के हो?”
मैले फेरि दोहोर्याएँ, “म भनेको म हो, म नै हुँ!”
मेरा उत्तर सुनेर उनी केही बेर मौन भए। सायद मेरा जवाफ उनका लागि अप्रत्याशित थिए। तर आजकल यस्ता प्रश्नहरू मैले धेरै मित्रबाट सुन्ने गरेको छु र प्रायः यस्तै उत्तर दिँदै आएको छु। वास्तवमा, आफ्नो परिचय आफैँले दिनु पनि कम चुनौतीपूर्ण रहेनछ भन्ने कुरा अहिले आएर महसुस हुँदैछ।
आफू भएर बाँच्न पनि हिम्मत चाहिन्छ
मान्छेलाई आफू भएर बाँच्न हिम्मत चाहिन्छ। आफ्नै खुट्टामा उभिन आत्मविश्वास चाहिन्छ। आफ्नो विचारमा अडिन विवेक र स्वाभिमान चाहिन्छ। तर आजको समाजमा मौलाउँदै गएको झोले र चम्चे संस्कृतिले स्वाभिमानी भएर बाँच्न झन् कठिन बनाउँदै लगेको छ।
यहाँ विचारभन्दा निकटता ठूलो भएको छ, योग्यताभन्दा पहुँच शक्तिशाली भएको छ र निष्ठाभन्दा चाकरीको मूल्य बढेको छ। कसको निकट छौ, कसको पक्षमा बोल्छौ र कसको जयजयकार गर्छौ भन्ने कुराले व्यक्तिको हैसियत निर्धारण गर्ने प्रवृत्ति मौलाएको छ।
समकालीन समाजमा बुद्धिजीवीको आवरण ओढेर शक्तिकेन्द्रको स्वार्थअनुसार विचार निर्माण गर्नेहरूको कमी छैन। सरकार र राजनीतिक दलका सल्लाहकारदेखि सामाजिक चेतनाका व्याख्यातासम्म कतिपय व्यक्ति स्वतन्त्र विवेकभन्दा स्वार्थको घेराभित्र कैद देखिन्छन्। यस्तो अवस्थामा देशको भविष्यबारे स्वतन्त्र चिन्ता र बहस गर्ने ठाउँ साँघुरिँदै गएको अनुभूति हुन्छ।
कसैको आशीर्वादबिना प्रतिष्ठाको ढोका नखुल्ने, कुनै शक्तिकेन्द्रको संरक्षणबिना परिचय स्थापित नहुने र कुनै झन्डाको छहारी नलिई अस्तित्व प्रमाणित गर्न नसकिने हो भने त्यस्तो परिचयको पछि लाग्नु नै मेरो मूर्खता हुनेछ।
विचार बेचेर प्रतिष्ठा कमाउने रहर छैन
विचारको हत्या गरेर स्वर्ग पुग्ने कल्पना मैले गरेको छैन। अन्धभक्तिको गीत गाएर पाउने कथित उन्नतिको सुख पनि मैले रोजेको छैन। आफ्नो विवेक बेचेर अविवेकी नेतृत्वको पछि लाग्ने मेरो स्वभाव छैन।
मैले आफ्नो अहं, आत्मसम्मान र निजत्वलाई कुनै अमुक राजनीतिक दलको बन्धक बनाएको छैन। मेरो कलम, मेरो आवाज र मेरो विचार मेरो निजी स्वतन्त्रता हुन्। ती कसैको आलमारीमा थन्क्याइएका सम्पत्ति होइनन्।
मलाई कसैको प्रशंसक भएर बाँच्नु छैन। कसैको आलोचक बनेर मात्र आफ्नो अस्तित्व देखाउनु पनि छैन। म गलतलाई गलत र सहीलाई सही भन्न चाहन्छु। व्यक्ति, पद, पार्टी र शक्तिभन्दा माथि विचार र विवेकलाई राख्न चाहन्छु।
**मलाई विचारको स्वतन्त्रता प्यारो छ, विचारमाथिको पहरेदारी स्वीकार्य छैन।**
मेरो लोकतन्त्र र राष्ट्रियताको परिभाषा
म लोकतन्त्रवादी हुँ। तर मेरो लोकतन्त्र सत्तामा पुग्नेहरूको सुविधाको साधन होइन। मेरो लोकतन्त्रले भुइँमान्छेको अधिकार, न्याय, समानता र सम्मानको कुरा गर्छ।
मेरो लोकतन्त्रमा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको सर्वोच्च स्थान छ। म विभेद, अन्याय, शोषण र उत्पीडनको विरोध गर्छु। समाजमा स्थापित गलत मान्यता, विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउनु आफ्नो नागरिक दायित्व ठान्छु।
मेरो राजनीतिक अडान यिनै मान्यतामा आधारित छ।
लोकतन्त्र कुनै दल वा नेताको निजी सम्पत्ति होइन। राष्ट्रियता कुनै राजनीतिक समूहको एकाधिकार पनि होइन। यो त सम्पूर्ण नेपालीको साझा अस्तित्व, गौरव र स्वाभिमान हो। त्यसैले लोकतन्त्रको नाममा हुने निरङ्कुशता र राष्ट्रियताको नाममा हुने स्वार्थको राजनीति दुवै स्वीकार्य हुन सक्दैनन्।
कलम रोक्नु भनेको विवेकलाई मौन बनाउनु हो
समाजमा लेख्नुपर्ने विषय अझै धेरै छन्। त्यसैले म निरन्तर लेखिरहेको छु।
झूट, फरेब र स्वार्थको जगजगी भएको समाजमा निष्ठापूर्वक र निर्भीक भएर कलम चलाउनु सजिलो छैन। आज देशमा सपनाको व्यापार फस्टाएको छ। नेताहरू जनतालाई आश्वासनका ललिपप बाँडिरहेका छन्। बिचौलियाहरू देशको भविष्य किनबेच गरिरहेका छन्। अनि कथित बुद्धिजीवीहरूको एउटा तप्का आफ्नो सुविधा र स्वार्थका लागि विवेक र बौद्धिकता शक्तिकेन्द्रका पाउमा चढाइरहेको छ।
यस्तो समयमा मौन बस्नु सहज होला, तर मौनताले सत्यको पक्षमा उभिन सक्दैन।
लेखेरै सबै कुरा बदल्न सकिँदैन, यो मलाई थाहा छ। तर नलेखी पनि केही बदलिँदैन भन्ने विश्वास मसँग छ। मेरो लेखाइले कसैको अहंकारमा चोट पुर्याउन सक्छ, कसैको स्वार्थमा धक्का दिन सक्छ र कसैलाई असहज बनाउन सक्छ। कोही मलाई प्रिय ठान्लान्, कोही अप्रिय। तर सबैको प्रिय बन्ने रहर मैले पालेको छैन।
**मलाई लोकप्रियताको भीडमा हराउनुभन्दा अलोकप्रिय भएर पनि आफ्नो विचारमा उभिनु उचित लाग्छ।**
आलोचनासँग डर छैन, विवेकमाथिको आक्रमण स्वीकार्य छैन
मैले प्रशंसाको लोभमा कहिल्यै लेखेको छैन। आलोचनाले बरु मलाई थप सोच्न र लेख्न प्रेरित गरेको छ। आलोचना विचारलाई परिष्कृत गर्ने माध्यम हो भन्ने मेरो विश्वास छ।
तर आलोचनाको नाममा गाली गर्ने, असहमतिका नाममा चरित्रहत्या गर्ने र विचारको प्रतिवाद गर्न नसकेपछि व्यक्तिमाथि आक्रमण गर्ने संस्कार स्वीकार गर्न सकिँदैन।
विचारसँग असहमत हुन पाइन्छ, तर व्यक्तिको सम्मानमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन। लोकतन्त्रमा असहमति अपराध होइन, बरु असहमतिलाई सम्मान गर्न नसक्नु लोकतान्त्रिक चेतनाको कमजोरी हो।
मलाई कसैले वामपन्थी भन्ला, कसैले दक्षिणपन्थी। कसैले राष्ट्रवादी त कसैले अवसरवादीको संज्ञा देला। कसैले लेखक भन्ला, कसैले कवि त कसैले व्यङ्ग्यकार। तर अरूले लगाइदिएका यस्ता लेबलले मेरो वास्तविक परिचय निर्धारण गर्दैनन्।
म हिजो के थिएँ, आज के छु र भोलि के हुनेछु भन्ने कुरा मेरो विचार, कर्म र विवेकले निर्धारण गर्ने हो, अरूको मूल्याङ्कनले होइन।
म पूर्ण छैन, तर बिकेको पनि छैन
म पूर्ण मान्छे होइन। मेरा कमजोरी छन्, मेरा त्रुटि हुन सक्छन्। म आलोचनाभन्दा माथि छैन। मेरा विचार पनि समय, अनुभव र तर्कका आधारमा परिमार्जित हुन सक्छन्।
तर आफ्नो गल्ती स्वीकार गर्न सक्ने इमानदारी र अरूको गल्ती औँल्याउन सक्ने साहस गुमाउन चाहन्नँ।
म आफ्नो विवेक कुनै नेताको भक्तिमा अर्पण गर्न सक्दिनँ। कुनै राजनीतिक दलको दास बनेर आफ्नो स्वतन्त्र अस्तित्व समाप्त गर्न सक्दिनँ। कुनै विचारधाराको नाममा हुने अन्यायको पक्ष लिन पनि सक्दिनँ।
मलाई कुनै नेताको देवत्वकरण गर्नु छैन। कुनै पार्टीको अन्धसमर्थक बन्नु छैन। मेरो निष्ठा कुनै व्यक्तिप्रति होइन, सत्य, न्याय र विवेकप्रति हो।
आफ्नो आत्मालाई कसैको स्वार्थको मौन साक्षी बनाउनु मेरा लागि सम्भव छैन।
अन्ततः, मेरो परिचय के हो?
म को हुँ भन्ने प्रश्नको उत्तर मेरो नाम, थर, पद वा प्रतिष्ठाले मात्र दिँदैन। मैले कसको पक्ष लिएँ, अन्याय हुँदा कहाँ उभिएँ, स्वार्थ र स्वाभिमानमध्ये के रोजेँ र सत्य बोल्दा वा लेख्दा कस्तो मूल्य चुकाउन तयार भएँ भन्ने कुराले नै मेरो वास्तविक परिचय निर्माण गर्छ।
मलाई अरूजस्तो बन्नु छैन। अरूलाई मजस्तै बन्नुपर्छ भन्ने आग्रह पनि छैन। सबैको आ–आफ्नै विचार, विवेक र स्वतन्त्र अस्तित्व हुन्छ। तर आफ्नो विचार प्रमाणित गर्न कसैको झन्डा ओढ्नुपर्ने र आफ्नो परिचय स्थापित गर्न कसैको देवत्वकरण गर्नुपर्ने बाध्यता म स्वीकार गर्न सक्दिनँ।
म कसैको विरोधका लागि मात्र विरोध गर्दिनँ। कसैको समर्थनका लागि विवेक बन्धक पनि राख्दिनँ। मेरो लेखन कुनै व्यक्तिको प्रशंसा वा निन्दामा सीमित छैन। यो समाज, समय, राजनीति र मानवीय मूल्यप्रतिको मेरो सरोकारको अभिव्यक्ति हो।
अन्ततः म फेरि पनि भन्छु—
**म, म हुँ!**
**मेरो विवेक नै मेरो सिद्धान्त हो।**
**मेरो स्वतन्त्र विचार नै मेरो सम्पत्ति हो।**
म बिक्न नचाहने मान्छे हुँ। कसैको चाकरी गरेर मूल्यवान् बन्ने रहर छैन। कसैको कृपामा प्रतिष्ठा कमाउने चाहना पनि छैन।
सायद त्यसैले आजको स्वार्थ र चाकरीको बजारमा मेरो कुनै मूल्य छैन।
तर एउटा प्रश्न भने बाँकी छ—
**आफ्नो विवेक नबेच्ने मान्छे साँच्चै मूल्यहीन हुन्छ कि विवेकको मूल्य नै बिर्सिएको समाजमा ऊ मूल्यहीन ठहरिन्छ?**
सायद यही प्रश्नको उत्तर खोज्दै म अझै लेखिरहेको छु।
