Fast Nepal News

मर्स्याङ्दी गाउँपालिकामा पाँच दिने महोत्सव सुरु हुँदै, चार करोड कारोबारको लक्ष्य

banner single news

सुमित्रा भुजेल
मर्स्याङ्दी गाउँपालिकाले कृषि, पर्यटन, स्थानीय उत्पादन तथा कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३ आयोजना गर्ने भएको छ । महोत्सव आगामी पुस ८ देखि १२ गतेसम्म मर्स्याङ्दी गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा सञ्चालन हुनेछ ।

आइतबार ऐतिहासिक तथा पर्यटकीय स्थल हर्सिङ डाँडामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले महोत्सवमा २० हजार दर्शक भित्र्याउने तथा करिब चार करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

महोत्सव सञ्चालनका लागि करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेटबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम जलविद्युत् आयोजना, टिकट बिक्री, विभिन्न संघसंस्थाको प्रायोजन तथा स्टल भाडाबाट व्यवस्थापन गरिने अध्यक्ष गुरुङले बताए ।

महोत्सवमा कृषि उपज, फलफूल, तरकारी, पशुपन्छी तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, घरेलु तथा हस्तकलाका सामग्रीको प्रदर्शन, स्थानीय परिकारको खाना महोत्सव, सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहनेछ । त्यस्तै, लमजुङ जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता महोत्सवको मुख्य आकर्षणका रूपमा रहनेछ ।

महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी किसानका उत्पादनलाई बजारसँग जोड्ने, स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने तथा पर्यटन विकासमा टेवा पुर्‍याउने गाउँपालिकाको लक्ष्य छ । स्थानीय कृषक, महिला समूह, युवा उद्यमी, सहकारी तथा घरेलु उद्योगलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरिने जनाइएको छ ।

Inside Article Ads

मर्स्याङ्दी गाउँपालिकामा हर्सिङ डाँडा, सिउरुङ, घनपोखरा, भुस्मे तथा भलामचौर होमस्टे, खानीगाउँ, डा. हर्क गुरुङ समाधिस्थल, राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्क, वीर भक्ति थापाको जन्मस्थल पार्क, जगत तातोपानी कुण्ड, बाह्रपोखरी र तलङ्यो पोखरीलगायतका पर्यटकीय तथा ऐतिहासिक गन्तव्य रहेका छन् । महोत्सवमार्फत यी गन्तव्यको राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने गाउँपालिकाको लक्ष्य छ ।

महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १ सय २५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन गरिएको छ । कृषि, संस्कृति, खेलकुद, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, हस्तकला, स्टल व्यवस्थापन, अतिथि सत्कार तथा स्वयंसेवक परिचालनलगायतका जिम्मेवारी छुट्टाछुट्टै उपसमितिलाई दिइएको छ ।

‘मर्स्याङ्दीको गौरव, समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवलाई कृषि, पर्यटन, ऊर्जा, कला तथा संस्कृतिको संरक्षण र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने साझा अभियानका रूपमा अघि बढाइएको गाउँपालिकाले जनाएको छ । महोत्सवलाई सुरक्षित, व्यवस्थित, पारदर्शी र उपलब्धिमूलक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.