
काठमाडौं। हङकङमा व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय नेपाली अभियन्ता आकाश बञ्जाराले प्रधानमन्त्री बालेनको देश निर्माणको यात्रामा आफू सकारात्मक साथ, समर्थन र शुभेच्छासहित उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनको नेतृत्व, साहस र देशप्रतिको समर्पणप्रति सम्मान तथा विश्वास व्यक्त गर्नुभएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएका बञ्जारा फिने अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा नेचुरल साउन्ड हेलिङ इन्टरनेशनल स्कुलका संस्थापकसमेत हुनुहुन्छ। उहाँले सार्वजनिक गर्नुभएको सन्देशमा प्रधानमन्त्री बालेनप्रति राजनीतिक आग्रहभन्दा माथि उठेर व्यक्तिगत आत्मीयता, सम्मान, विश्वास र देशप्रतिको साझा भावनालाई अभिव्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री पदको संवैधानिक गरिमा र जिम्मेवारीप्रति उच्च सम्मान व्यक्त गर्दै बञ्जाराले बालेनलाई व्यक्तिगत सम्बोधनमा आफूभन्दा कान्छो भाइका रूपमा उल्लेख गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा प्रधानमन्त्रीको पदप्रति सम्मान कायम राख्दै एक दाजुको भावनाबाट भाइलाई लेखिएको आत्मीय पत्र भएको स्पष्ट पार्नुभएको छ।
‘प्रधानमन्त्रीको त्यो उच्च पद र गरिमाप्रति मेरो सधैँ शिर निहुराएर उच्च सम्मान छ। तर आज म त्यो पदभन्दा माथि उठेर, उमेरमा मभन्दा सानो भएको नाताले र आत्मादेखिको शुद्ध प्रेमले तिमीलाई प्रिय भाइ बालेन भनेर यो चिठी लेख्दै छु,’ बञ्जाराले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।
आफू कुनै राजनीतिक दलको झण्डा बोकेर राजनीति गर्ने व्यक्ति नभएको तथा अन्धभक्त भएर कसैको पछि लाग्ने स्वभाव नरहेको उल्लेख गर्दै उहाँले राजनीतिभन्दा देशको हित, विकास र परिवर्तनलाई प्राथमिकता दिने भाव व्यक्त गर्नुभएको छ। विदेशमा बसेर नेपाललाई नियाल्दा देशको मुहार परिवर्तनका लागि इमानदारीपूर्वक काम गर्ने नेतृत्व देख्दा आफू भावुक हुने उहाँको भनाइ छ।
‘तिमीले देशको नेतृत्व सम्हालेर नेपाल आमाको हितमा जुन काम गरिरहेका छौ, त्यो साँच्चै अतुलनीय र प्रशंसनीय छ,’ उहाँले लेख्नुभएको छ, ‘तिम्रो निस्वार्थ कर्म, आँट र देशप्रतिको समर्पणले मेरो हृदय जितेको छ।’
प्रधानमन्त्री बालेनप्रति आफ्नो आत्मीय भावना व्यक्त गर्दै बञ्जाराले ‘आई रियल्ली लभ यु, मेरो डियर भाइ बालेन’ भन्ने शब्दसमेत प्रयोग गर्नुभएको छ। उहाँको अभिव्यक्तिमा नेतृत्वप्रतिको विश्वास, देशप्रतिको प्रेम र सकारात्मक कार्य गर्ने व्यक्तिलाई प्रोत्साहन दिनुपर्ने भाव प्रमुख रूपमा देखिएको छ।
हङकङमा व्यवसायसँगै सामाजिक गतिविधिमा सक्रिय बञ्जारा नेपालमा समेत लगानी गर्दै आउनुभएको नेपाली व्यवसायी तथा सामाजिक अभियन्ता हुनुहुन्छ। प्रवासी नेपालीलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्ने प्रयासमा सक्रिय उहाँ गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ। विदेशमा रहेर पनि नेपालमा लगानी विस्तार, सामाजिक अभियान तथा नेपाली समुदायका विषयमा निरन्तर सक्रिय रहँदै आउनुभएको उहाँको पछिल्लो सन्देशले नेपालप्रतिको आत्मीय सम्बन्धलाई पुनः अभिव्यक्त गरेको छ।
बञ्जाराले प्रधानमन्त्री बालेनको देश निर्माणको यात्रामा आगामी दिनमा कुनै अवरोध नआओस् भन्दै करोडौँ नेपालीको आशीर्वाद र शुभेच्छा सधैँ साथ रहोस् भन्ने कामना गर्नुभएको छ। उहाँले बालेनलाई देशको सान बनेर निरन्तर चम्किरहन शुभकामना दिँदै देशहितमा अघि बढिरहेको नेतृत्वलाई प्रोत्साहन र हौसला आवश्यक रहेको भावना व्यक्त गर्नुभएको छ।
