
लमजुङ । लमजुङको बेसीशहर नगरपालिकामा सातौँ नगर कप–२०८३ वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नगर खेलकुद विकास समिति बेसीशहरको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता आगामी मंसिर ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ।
स्वास्थ्य, अनुशासन, गतिशीलता तथा स्थानीय खेलाडीलाई प्रोत्साहन र प्राथमिकता दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता बेसीशहरस्थित सहजी खेल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा बेसीशहर नगरपालिकाका सम्पूर्ण वडाका खेलाडी तथा खेलप्रेमी युवाहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। नगरपालिकाभित्रका वडाहरूलाई आफ्नो टिम तयारी अवस्थामा राख्न र प्रतियोगितामा सहभागिताका लागि अनुरोध गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेस्ट फरवार्ड, बेस्ट डिफेन्स, बेस्ट स्ट्राइकर र बेस्ट मिडफिल्डरलाई जनही ५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको प्रतियोगिताले नगरभित्र खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
बेसीशहर नगरपालिकाको प्रायोजन तथा नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको सातौँ नगर कपले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।
