Fast Nepal News

सवारी दुर्घटना घट्यो, मृत्यु बढ्यो

banner single news

काठमाडौँ — १८ श्रावण  २०७८

काठमाडौँ, गत असार २ मा भक्तपुरको मध्यपुर थिमि चारदोबाटोस्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको लिखुपिके चौंरीखर्क घर भई हाल काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भयो ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौंबाट भक्तपुर आउँदै गरेको उक्त मोटरसाइकलमा सवार काँडाघारीमै बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र २५ वर्षीय अमित जैरुगम्भीर घाइते भएका थिए । मोटरसाइकल अनियन्त्रित भएपछि सडकबीचको आइल्यान्डमा ठोक्किएर दुर्घटना भएको हो

  • गत साउन ६ को राति भक्तपुरमै टिपरको ठक्करबाट स्कुटर चालक २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भयो । सूर्यविनायकबाट जगातितर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएका थिए ।
  • गएको शुक्रबार गोकेर्णेश्वर नगरपालिका–९ अत्तरखोलामा ट्रकको ठक्करबाट पैदलयात्री रामेछाप घर भई हाल गोकर्णेश्वर बस्ने ३० वर्षीय राजन खड्काको मृत्यु भयो । महानगरीय प्रहरी वृत बौद्धका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो पटक उपत्यकाका विभिन्न स्थानमा मानवीय क्षति हुने गरी भएका यी प्रतिनिधि दुर्घटना हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले जारी गरेको निषेधाज्ञामा पनि सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामा कमी आएको छैन । यस क्रममा सडकमा सवारी चाप घटे पनि दुर्घटनाको संख्या भने अपेक्षित रूपमा नघटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा उपत्यकामा ९ हजार ५ सय ४५ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ६७ जनाले ज्यान गुमाए । जसमध्ये १ सय ३६ जना पुरुष, २४ जना महिला र ७ जना बालबालिका छन् । अघिल्लो वर्ष १० हजार ३० सवारी दुर्घटना भएका थिए । जसमा १ सय ५३ जनाको मृत्यु भएको थियो । यो संख्या अघिल्लो आवको भन्दा धेरै हो ।

गत वर्ष दुर्घटनामा २ सय २६ जना गम्भीर घाइते र ७ हजार ९५ जना सामान्य घाइते भएको महाशाखाको तथ्यांक छ । दुर्घटनामा परेका सवारीसाधनको संख्या १७ हजार ६३ छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार निषेधाज्ञाकै अवधिमा पनि उपत्यकामा दैनिक १२ देखि १५ वटासम्म सवारी दुर्घटना भइरहेको छ । ‘निषेधाज्ञामा सार्वजनिक सवारीमा पूर्ण रोक लगाउँदा उपत्यकामा दैनिक ४ देखि ५ वटाको हाराहारीमा दुर्घटनाहरू भएका थिए, अहिले १२ देखि १५ वटाको हाराहारीमा हुन्छन्,’ उनले भने, ‘सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति नै देखिइएको छ ।’

दासका अनुसार उपत्यकामा मोटरसाइकल दुर्घटनाको संख्या उच्च छ । गएको वर्ष उपत्यकामा ७ हजार ९ सय ४५ मोटरसाइकल दुर्घटना भएका छन् । अहिले सडक दुर्घटनाको मुख्य कारण सडकको भौतिक संरचनाभन्दा चालकको लापरबाही नै बढी देखिएको उनको दाबी छ । ट्राफिक नियम पालना नगरी सवारीसाधन हाँक्नेमा बढी युवाहरू नै भएकाले मोटरसाइकल दुर्घटना बढी भइरहेको उनले बताए ।

देशभर दुर्घटना र मृत्यु बढ्यो

Inside Article Ads

महाशाखाको तथ्यांकअनुसार देशभर भएका सवारी दुर्घटना र मृतकको संख्या अघिल्लो आवको तुलनामा बढेको देखिन्छ । अघिल्लो आवमा देशभर १५ हजार ५ सय ५४ सवारी दुर्घटना भएकामा गत आवमा यो संख्या २० हजार ६ सय ३४ पुगेको हो । दुर्घटनामा पर्ने सवारीसाधनको संख्या भने गत वर्ष घटेको छ । गत आवमा देशभर २५ हजार ७ सय ७८ सवारी दुर्घटनामा परेका थिए । अघिल्लो आवमा यो संख्या ३३ हजार १ सय २५ थियो । गत वर्ष देशभर भएका सवारी दुर्घटनामा परेर २ हजार ५ सय ११ जनाले ज्यान गुमाए । अघिल्लो आवमा २ हजार २ सय ५१ जनाको मृत्यु भएको थियो ।

गत वर्ष उपत्यकापछि प्रदेश २ मा सबैभन्दा बढी ३ हजार ९ सय ८३ सवारी दुर्घटना भएकोमा ५ सय २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा संलग्न सवारीको संख्या ५ हजार ८ सय ११ छ । त्यस्तै, प्रदेश १ मा ३ हजार १ सय ३१ दुर्घटनामा ४ सय ४३ जना, वाग्मती (उपत्यकाबाहेक) मा १ हजार ५ सय १२ दुर्घटनामा ३ सय ३५ जना, गण्डकीमा ४ सय ५ दुर्घटनामा २ सय २० जना, लुम्बिनीमा १ हजार २ सय ११ दुर्घटनामा ५ सय २६ जना, कर्णालीमा २ सय ८५ दुर्घटनामा १ सय १० जना र सुदूरपश्चिममा ५ सय ६२ सवारी दुर्घटनामा १ सय ८७ जनाको मृत्यु भएको छ ।

काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा गत वर्ष चैत मसान्तसम्म भर्ना भएका ३ हजार २ सय बिरामीमध्ये ५ सय ६५ जना (१७∞) सडक दुर्घटनाका रहेको सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । भीर तथा रूखबाट लडेका बिरामीपछि सडक दुर्घटनाका बिरामी धेरै आएको उनको भनाइ छ । ‘सडक दुर्घटनामा टाउको, ढाडमा गम्भीर चोट लागेकाहरू ट्रमामा भर्ना हुन्छन् । त्यो संख्या भीर तथा रूखबाट लडेर घाइते भएकाहरू पछि धेरैमा पर्छ,’ पौडेलले भने, ‘त्यसमध्ये पनि विपन्न र सामाजिक कोषअन्तर्गत भर्ना हुनेहरू बढी छन् ।’ सवारी दुर्घटना न्यूनीकरणका लागि गणेशकुमार पहाडीको संयोजकत्वमा गठित ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति २०७७’ को प्रतिवेदनअनुसार नेपालमा औसत दैनिक ८ जनाको सडक दुर्घटनामा परी मृत्यु हुन्छ । प्रतिवेदनले असुरक्षित सडक संरचना, सवारीसाधनको व्यवस्थित प्रणालीको नियमन मापदण्डको अभाव, असुरक्षित सार्वजनिक यातायात, चालकको अयोग्यता, लापरबाही, ट्राफिक तथा सवारी नियमको अज्ञानतालाई सवारी दुर्घटनाको प्रमुख कारणका रूपमा औंल्याएको छ ।

समितिका सदस्य तथा ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘हामीमा सडक पूर्वाधारसँगै सवारीसाधन जाँच र नियमनमा व्यवस्थित प्रणाली लागू हुन सकेको छैन । यो सिस्टममा नआएसम्म सडक दुर्घटनाहरू बढिरहन्छन् ।’सडक दुर्घटना न्यूनीकरणका लागि अहिले काठमाडौं महानगरभित्र मात्र एक दर्जनको हाराहारीमा आकाशे पुलहरू छन् भने सडक दुर्घटनामा कमी आएको छैन । यात्रुले ट्राफिक नियम पालनामा बेवास्ता गर्दा सडक दुर्घटनामा कमी नआएको गजुरेलको ठहर छ । ‘सडक दुर्घटना बढ्नुमा सवारी चालक र पैदलयात्रीहरू बढी जिम्मेवार छन्,’ उनले भने, ‘सडकमा ट्राफिक नियम र अनुशासन पालना गर्नुको सट्टा सडक मेरै हो भन्ने हामीमा घमण्ड छ । चालकहरू उस्तै तीव्र गतिमा गाडी हाँक्छन् भने बाटो हिँड्नेले पनि नियमको पालना गरेका छैनन् ।’

(कान्तिपुर दैनिक)

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.