Fast Nepal News

नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण

banner single news

काठमाडौं – बैशाख ८

काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सांसदलाई पदबाट हटाउने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षमा लागेर समानान्तर कमिटी गठन गरेको, पार्टी हितविपरीत काम गरेको तथा नयाँ दल गठनमा तल्लीन भएको आरोप लगाउँदै २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। उनले चित्तबुझ्दो जबाफ नआए सांसद पदबाटै हटाउने धम्की पनि दिएका छन्। पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक राखेर ओलीले नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका हुन्।

संसदीय दलको नेताको हैसियतमा ओलीले संघीय सांसदलाई सोधेको तीनपाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिह्न दुरूपयोग गरी अलग पार्टीको अभ्यास गरेको भन्दै कारबाही किन नगर्ने भन्ने प्रश्न गरिएको छ। ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारबाही किन नगर्ने ? सांसद सदस्यबाट किन नहटाउने?’ स्पष्टीकरण पत्रमा लेखिएको छ। ओली पक्षका एक नेताका अनुसार नेपाल पक्षमा लागेर पार्टी हितविपरीत गतिविधिमा लागेका सांसदलाई सुध्रिन मौकासहित स्पष्टीकरण सोधिएको हो। ‘उहाँहरूलाई सुध्रिने मौकासहितको पत्र पठाइएको हो। सुध्रिनुभएन र यस्ता गतिविधि भइरहे सांसद पद जान्छ भन्ने संकेत गरिएको हो। बाँकी उहाँहरूकै निर्णयमा भर पर्छ’, उनले भने।

नेपाल समूहमा लागेका गोकर्ण बिष्टसहितका केही सांसद र नेतालाई भने स्पष्टीकरण सोधिएको छैन। बिष्टले मंगलबार बिहान एकतामा जोड दिँदै विधिसम्मत तरिकाले पार्टीलाई अघि बढाउन आग्रह गरेका थिए। बिष्ट एमाले सचिव पनि हुन्। माओवादीसँग एकीकरण गर्नेगरी एमालेलाई विभाजित गर्न नहुने उनको धारणा छ। बिष्टको धारणा आएसँगै उनीलगायत बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोधिएको छैन।

Inside Article Ads

यसैबीच नेपाल समूहले पार्टी विभाजन नगर्ने तर अन्तर्संघर्ष गर्ने निर्णय गरेको छ। अध्यक्ष एवं संसदीय दलका नेता ओलीले पार्टी विभाजन गर्न लागेको र समानान्तर कमिटी बनाउँदै नयाँ दलको अभ्यास गरेको भन्दै स्पष्टीकरण सोधेलगत्तै बसेको नेपाल समूहका स्थायी कमिटी सदस्य र सांसदको बैठकले पार्टी विभाजन नगरी अन्तर्संघर्ष गर्ने निर्णय गरेको हो।

अध्यक्ष ओलीले नेता नेपालसहित प्रतिनिधिसभाका २७ सांसदलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल समूहका सांसद र स्थायी कमिटी सदस्यको बैठक बसेको थियो। नेपाल पक्षले पार्टीभित्र अन्तर्संघर्ष गर्ने बाटो पनि ओलीले बन्द गरेपछि बाध्य भएर समानान्तर कमिटी बनाएर अघि बढ्नुपरेको प्रष्ट पारेको छ। बैठकले पार्टी फुटाउन लागेको जस्ता झुटा आरोप लगाएर अध्यक्ष ओलीले स्पष्टीकरण सोधेको भन्दै त्यसको सामना गर्ने निर्णय पनि गरेको छ। ‘ओलीले हामीमाथि पूर्वाग्रह राखेर झूटा आरोप लगाएका छन्। पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थाबाट अघि बढाऔं भन्ने हाम्रो आग्रहलाई बेवास्ता गरेर हामीलाई पार्टीभित्र निषेध गरेका छन्। यस्तो अवस्थामा समानान्तर कमिटी गठन गर्नुको विकल्प छैन’, नेपाल समूहको बैठकमा सहभागी एक सांसदले भने। उनका अनुसार स्पष्टीकरणको जबाफ समयमै दिइनेछ। नागरिक दैनिकबाट

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.