
राजनीतिक दल खोलेको ६ महिनामै संसद्को चौथो शक्ति, सरकारमा उपप्रधानसहित गृहमन्त्री काठमाडौँ — एमालेसहित सात दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सर्वसम्मत प्रधानमन्त्रीमा प्रस्ताव गरेसँगै आइतबार शक्ति बाँडफाँटमा अनेक अड्कलबाजी चलेका थिए । कांग्रेससँगको डेढ वर्ष लामो सत्ता गठबन्धन तोडेर माओवादी अध्यक्ष दाहाल ‘नाटकीय रूप’ मा एमाले गठबन्धनमा सामेल भएपछि पद बाँडफाँट कसरी अघि बढ्छ भन्ने चासो धेरैमा थियो । तर, राजनीति सुरु गरेको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मारेको छलाङले भने धेरैलाई आश्चर्यचकित बनाएको छ ।
शक्तिशाली र विकासे मन्त्रालयमा जान साझेदार दलबीच हानथाप चलेपछि सोमबार दिनभर संसद् भवन बानेश्वरमा गठबन्धन दलको संयुक्त बैठक बसेको थियो । प्रधानमन्त्रीमा दाहाललाई सघाएको राप्रपाले बाहिरै बसेर समर्थन दिने निर्णय । बाँकी दलबीच गृह, अर्थ, भौतिक पूर्वाधार, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालयको भागबन्डा मिलाउन दिनभर सकस थियो
सत्ता गठबन्धनको तेस्रो शक्ति रास्वपाले उपप्रधानसहित गृह मन्त्रालयमा दाबी गरेपछि मन्त्रालय भागबन्डा विषय थप पेचिलो बनेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार एमाले र माओवादीले रास्वपालाई सेवाप्रवाहसँग प्रत्यक्ष जोडिएका केही मन्त्रालय दिएर चित्त बुझाउने प्रयास गरेका थिए । तर, रास्वपा सभापति लामिछानेले त्यसलाई अस्वीकार गरे । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले गृह मन्त्रालय ताकेका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने र बाँकीमा सहमति गरेर मन्त्रालय भागबन्डा मिलाउने पूर्वयोजना लामिछानेको अडानपछि बदलियो । गृह मन्त्रालय प्रहरीसमेत हेर्ने तालुक निकाय भएकाले अनुसन्धानमा स्वार्थ बाझिने जोखिम रहन्छ । स्रोतका अनुसार बैठकमा स्पष्ट रूपमा नउठे पनि एकातिर पहिलो पटक सरकारमा आएका र नागरिकता/राहदानी विवादको मुद्दा खेपिरहेकाले लामिछानेलाई गृह मन्त्रालय दिइहाल्ने पक्षमा एमाले–माओवादीले अनिच्छा गरेका थिए । तर, लामिछानेले उपप्रधानसहित गृह मन्त्रालयमा दाबी नछोडेपछि बैठक लम्बियो । गृहमा आफ्नो दाबी गर्दै उनी बैठक स्थलबाट बीचमै बाहिरिएका थिए ।
