Fast Nepal News

ताजाकोटमा पढाइ सुरु हुँदै

banner single news

हुम्ला — १० श्रावण २०७८  

हुम्ला, कोरोनाका कारण बन्द ताजाकोट गाउँपालिकाका विद्यालय साउन १५ गतेदेखि खुल्ने भएका छन् । गाउँपालिकामा कोरोना संक्रमणको जोखिम कम भएको भन्दै गाउँ कार्यपालिका बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । ताजाकोटमा १९ सामुदायिक विद्यालय छन् ।कोरोनाका कारण जिल्लाका सातवटै गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेका थिए । तर अन्य स्थानीय तहले भने विद्यालय खोल्ने निर्णय गरेका छैनन् ।

विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षण सिकाइमा ठूलो असर परेको भन्दै विद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए । उनका अनुसार बिहीबार बसेको कार्यपालिका बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो । ‘लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले यसअघि सिकेका कुराहरू पनि बिर्सिएका छन्,’ उनले भने, ‘तत्काल विद्यालय नखोले कोर्स पूरा नहुने देखियो ।’

उनले पठनपाठन सञ्चालन गर्ने तयारी थाल्न विद्यालयहरूलाई सार्वजनिक सूचना जारी गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार विद्यालय नखुल्दा अधिकांश बालबालिका घरायसी कामकाजमा व्यस्त भएका छन् । विपन्न समुदायका बालबालिकाले लामो समयदेखि किताबै नखोलेको उनले बताए । ‘घरको कामले बालबालिकालाई पढ्ने फुर्सदै छैन,’ उनले भने, ‘विद्यालय खुले कम्तीमा पनि गृहकार्यको बहानामा घरमा पढ्न पाउँथे ।’ उनले भौगोलिक विकटता र इन्टरनेट सेवा प्रभावकारी नहुँदा बालबालिकाका लागि वैकल्पिक शिक्षा सञ्चालन गर्न नसकिएको बताए ।

कोरोना संक्रमणको जोखिम कम भएपछि अन्य स्थानीय तहमा पनि पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको छ ।

Inside Article Ads

यो साता बैठक बसेर पठनपाठन सञ्चालन गर्नेबारे निर्णय गरिने नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । ‘अब विद्यालय नखोले यो वर्ष पनि कोर्स पूरा हुन मुस्किल हुन्छ,’ उनले भने, ‘गत वर्ष पनि ढिलो गरी विद्यालय खोल्दा बालबालिकाको शिक्षण सिकाइ स्तर कमजोर छ ।’उनले औपचारिक निर्णय नगरिए पनि विद्यालय खोल्ने तयारी गर्न विद्यालयका प्रधानाध्यापकहरूलाई आग्रह गरिएको बताए । उनका अनुसार नाम्खालगायत ताजाकोट, खापुनार्थ, अदानचुली, चंखेली र सर्केगाडमा अनलाइन कक्षा सञ्चालन गर्न समस्या छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोलिने ताजाकोटका प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । ‘मास्क र सेनिटाइजर अनिवार्य गर्ने व्यवस्था मिलाएका छौं, विद्यार्थीमा भौतिक दूरी पनि कायम गरिनेछ,’ उनले भने, ‘सबै विद्यार्थीलाई साबुनपानीले हात धोएर मात्र विद्यालयमा प्रवेश दिइनेछ ।’ उनले अधिकांश गाउँमा अनलाइन र रेडियो कक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालय खोल्न थालिएको बताए । 

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.