Fast Nepal News

तीन दिनदेखि पोखरा धुम्म

banner single news

कास्की – चैत १६

कास्की, पोखराको वायु प्रदूषण आइतबार पनि घटेन। दिउँसै अँध्यारोजस्तै भयो। बाक्लो तुवाँलोले आसपासका डाँडाकाँडा नदेखिँदा उकुसमुकुसको अनुभूति भएको पोखरेलीले बताए। वायु प्रदूषणले पोखरा तीन दिनदेखि धुम्मिएको छ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार आइतबार मध्याह्न पोखराको वायुको गुणस्तर शनिबारकै जति थियो। वायु गुणस्तर सूचकांक स्वास्थ्यका दृष्टिले हानिकारक रहेको उनले बताए। उनका अनुसार पोखरालाई बाक्लो तुवाँलोले ढाकेको छ। तुवाँलोमा धुलो र धुवाँको मिश्रण हुन्छ। जसका कारण भिजिबिलिटी पनि घटेको उनले बताए।

जल तथा मौसम विज्ञान कार्यालयले पोखरामा वायु प्रदूषण मापन गर्न तीन ठाउँमा उपकरण राखेको छ। लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल र रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालय परिसरमा ती उपकरण जडान गरिएको छ। आइतबार मध्याह्न रत्नचोकको वायु गुणस्तर सूचकांक १४५ थियो। त्यस्तै लामाचौरमा वायु गुणस्तर सूचकांक २२२ र लेखनाथमा सूचकांक १९४ थियो।

Inside Article Ads

‘शनिबार पनि यत्तिकै हाराहारीमा वायु गुणस्तर मापन भएको थियो,’ ढकालले भने, ‘शनिबारको तुलनामा आइतबार मौसममा सुधार आएको मान्न सकिन्नँ। यो अवस्था अझै रहने देखिएको छ।’ उनका अनुसार हावा निकै नै सुस्त चलेको छ। ‘हावा चल्न नसक्दा पनि उकुसमुकुस भएको हो,’ उनले भने। ढकालका अनुसार तत्काल पानी पर्ने संकेत पनि छैन। मंगलबारपछि मात्र वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताए।

ढकालका अनुसार ‘वायु गुणस्तर सूचकांक जति कम भयो उति राम्रो हुन्छ। शून्यदेखि ५० सम्मको सूचकांकले मानव स्वास्थ्यमा खासै असर पर्दैन। त्योभन्दा माथि जानु पोखराका लागि राम्रो नमानिने उनले सुनाए। १०१ देखि १५० सम्म सूचकांक हुँदा त्यसले सुन्तला रङ पाउँछ र त्यो पनि जोखिमयुक्त हुन्छ। १५१ देखि २०० सूचकांकले रातो रङको संकेत पाउँछ। त्यो झनै जोखिमयुक्त हुन्छ। २०० देखि ३०० सम्मलाई बैजनी रङ दिइन्छ। यो पनि उत्तिकै जोखिमपूर्ण हो। ३ सयभन्दा माथि पुगे खैरो रङ दिइन्छ। त्यो त निकै नै जोखिमयुक्त हुने उनले बताए। नागरिक दैनिकबाट

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.