
सुमित्रा भुजेल
माघ २८,बेसीशहर । यहाँका बाढीपहिरा पीडितहरु शितको टहरामा बस्न बाध्य हुँदै आएका छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ तरापु पल्लोटारीका बाढीपहिरा पीडित पुस माघको जाडोमा शितको टहरामा बस्न बाध्य हुँदै आएका हुन् । गत साउन ७ र ८ गते आएको बाढीपहिराले पीडित यहाँका ८१ घरधुरीका स्थानीयहरु घरबार विहिन भएपछि सोही वडामा जस्तापाताको टहरामा बस्दै आएका छन् । विभिन्न संघसंस्था तथा ब्यक्तिको सहयोगमा अस्थायी रुपमा निर्माण गरिएको जस्तापाताको टहरामा चिसोको समयमा बस्नलाई समस्या हुने गरेको उनीहरुको भनाई छ ।
चारेतिर जस्तापाताले अस्थायी रुपमा टहरा निर्माण गरिएकाले पुस माघको चिसो मौषममा बिहान बिहान शितले ओछ्यान भिज्ने गरेको यहाँ टहरामा बस्दै आउनुभएका बाढीपहिरा पीडित गिता मगरातिले बताउनुभयो । उहाँले भन्नुभयो, घाम नलाग्ने बेलामा भित्रबस्दा पनि चिसो हुने गरेका छ, त्यही माथि जस्तापाताको बार र छानो रहेकाले शितले गर्दा सुत्न बस्नलाई समस्या भइरहेको छ । हामी उमेर पुगेकालाई त जसो तसो गरेर पनि हुन्थ्यो, मेरो त पाँच वर्ष र पन्ध्र महिनाको एउटा गरी दुई वटा बच्चा छ ।
उनीहरुलाई चिसोका समयमा परेको शितले गर्दा टहरा भित्र राख्दा पनि चिसोले बिरामी भइरहेको उहाँले भन्नुभयो । त्यस्तै, अन्जु मगरातिले भन्नुभयो, टिनको टहरा भएकाले शित पर्छ, त्यस्तैले भकारी राखेर शित तथा चिसो छल्ने गरेपनि भकारी नै भिजेर शित ओछ्यानमै छिर्ने गरेकाले समस्या उत्पन्न भइरहेको छ । केही दिनबाट बढेको चिसोले झन् घरमा मेरो १० महिनाको बच्चा छ, बच्चालाई जति न्यानोसँग राख्न खोजेपनि चिसो नै हुने गरेको उहाँले गुनासो गर्नुभयो । उनीहरु मात्र होइन यहाँ बसेका धेरै परिवारमा ९ देखि १० महिनाका बालबच्चाहरु बढी रहेकाले उक्त समस्या उनीहरुमा पनि उस्तै रहेको छ । चारैतिर जस्तापाताले बनाइएकाले पुस माघमा जाडो र चैत वैशाखमा गर्मीले सुत्न बस्नलाई समस्या हुने बाढीपहिरा पीडित तारा अछामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, यहाँ बालबच्चा र वृद्धवृद्धा नै बढी मर्कामा परेका छन्, तर तत्काल समस्या समाधान होला जस्तो छैन । यहाँका बाढीपहिरा पीडितहरुले स्थिर रुपमा दिगो हुने गरी यहाँको समस्याको समाधान छिटो गरिदिनका लागि सरकारलाई आग्रह गरेका छन् । यस वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेतले भन्नुभयो, चिसोको समयमा उनीहरुलाई चिसो त भइहाल्छ, तरपनि उनीहरुले चिसोले समस्या भयो भनेर गुनासो नगरेको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, उनीहरुको विविध समस्याको समाधानका लागि वडा कार्यालयदेखि पालिकाले नै बाढीपहिरा पीडितहरुको निजी आवास पुनः निर्माणको प्रयास गरेको छ । हामीले केहिदिन अघि मात्र प्रदेश सरकारलाई यस बारे जानकारी गराउँदै निजी आवास पुन निर्माणको लागि आग्रह गरेका थियौ, तर यस सम्बन्धि प्रदेशमा कार्यविधि बनाउने तयारीमा रहेको र उनीहरुको निजी आवास पुन निर्माण कार्य अगाडी बढाउने जवाफ दिएको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।
विभिन्न संघसस्थाले गरेको सहयोग रकममध्ये एक करोड २३ रुपैयाँ जति रहेको र सो पैसा उनीहरुलाई जग्गा खरिदको लागि दिने वडा कार्यालयले जनाएको छ । निजी आवास पुनः निर्माणका लागि बाढीपीडितहरुले नै जग्गा खोज्ने कार्य गरिरहेको वडा कार्यालयले जनाएको छ । उक्त समयमा आएको बाढीपहिराले तरापु पल्लोटारीका ८१ घरमध्ये २१ घर पुर्ण क्षति, ३२ घर आधा जस्तै भत्किएको र २८ घर उच्चजोखिममा परेको छ ।
