
काठमाडौं,माघ १६- हाम्रो देश नेपालमा आज माघ १६ गते शहीद दिवस मनाईँदै छ ।प्रत्येक वर्ष माघ १६ गते मनाइने यो शहीद दिवस देशभक्त नेपाली जनताका लागि महत्वपूर्ण दिवस हो ।यो दिवसमा नेपाली जनताले वीर सपूत तथा शहीदहरूलाई उच्चकोटीमा राखी उनीहरुले देश र जनताप्रति गरेको वलिदानको उच्च कदर गर्दै श्रदासुमन गर्नु उनीहरुप्रतिको वास्तविक सम्मान हो ।शहीदहरु जसले देश र जनताको मुक्तिको लागि हाँसी हाँसी आफ्नो वलिदानी दिन्छन् , त्यस्ता व्यक्तिलाई नै शहीद भनिन्छ ।१०४ वर्षे तानाशाही राणा शासनको विरोधमा प्रदर्शन गर्ने युवाहरु शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई फाँसी र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली प्रहार गरेर राणा शासकले हत्या गरेका थिए ।
देशमा राणा शासनको विरुद्धमा लडेका ज्ञात, अज्ञात शहीदहरुको वलिदानको उच्च मुल्याङ्न गर्दै उनीहरुले देश र जनतालाई देखाएको बाटो अनुकरण गर्न माघ १६ गते हामीले शहीद दिवस मनाउँदै आएका छौँ ।
देश र जनताका लागि वलिदानी दिने यस्ता वीर शहीदहरु हाम्रो देशमा हजारौंको संख्यामा छन् ।उनीहरूले देश र नेपाली जनताका लागि आफ्नो प्राणको आहुती दिए ।शहीदको बलिदानबाट प्रजातन्त्रको पुनस्थार्पना भएको हो ।तर नेताहरुले मीठा भाषण गरेर मात्र शहीदहरुप्रती सच्चा श्रद्धाञ्जलि हुँदैन ।शहीद गेटमा गएर शहीदहरुकोफोटोमा माल्यार्पण गर्दैमा, शहीदहरूको नाममा एकमिनेट मौनधारणा गर्दैमा शहीद दिवसको सम्मान हुँदैन ।
वास्तविक सम्मान त तिनै शहीदका परिवार,जो बिचल्लीमा परी दयनीय अवस्था गुजारिरहेका छन्, तिनीहरुको उचित हेरविचार गर्नु नै शहीद दिवसको सार्थकता रहने छ ।शहीदहरु सबैका साझा सम्पत्ति हुन् ।यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु र कदर गर्नु हामी सबै नेपालीको कर्तव्य र दायित्व हो ।मुलुकमा यस्ता शहीदहरुले बलिदानी नदिएको भए आज हामी नेपालीले जनअधिकार र स्वतन्त्रता पाउने थिएनौँ ।
जसले आफ्नो देशको स्वतन्त्रताका लागि आफ्नो जीवनको बलिदान दिए त्यस्ता व्यक्तिहरूलाई उच्च सम्मान गर्न आवश्यक छ ।आज हामी सबै नेपालीको प्रमुख दायित्व भनेको नै शहीदहरुको सपना साकार पार्नु हो ।शहीदहरूको रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई हामी कसैले भुल्नु हुँदैन ।
