Fast Nepal News

छानबिन समितिमा एनआरएनए अध्यक्ष शर्माद्वारा धाँधलीको फेहरिस्त पेस

banner single news

काठमाडौं, फागुन ८ ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष आरके शर्माले सङ्घको ११ औँ महाधिवेशनमा भएका धाँधलीको फेहरिस्त पेस गरेका छन् । धाँधलीबारे छानबिनका लागि गठित समितिले सोधपुछका लागि बोलाएपछि आइतबार उपस्थित भएका शर्माले लिखित रूपमै सम्पूर्ण फेहरिस्त पेस गरेका हुन् । ११ औँ महाधिवेशनमा धाँधली गरेर बद्री केसी अध्यक्ष बनेपछि त्यसको विरोध गर्दै नयाँ कार्यसमिति बनाएका शर्माले आफू सबै प्रक्रिया पुरा गरेर अध्यक्ष बनेको समेत दाबी गरेका थिए । स्रोतका अनुसार शर्माले महाधिवेशनमा प्रतिनिधि चयन प्रक्रिया र अनलाइन निर्वाचन प्रणालीमा बद्री केसीले आफ्नो कार्यकारी अध्यक्षको पद दुरुपयोग गरी कार्यहरू गरेको उल्लेख गरेका छन् । विधान विपरीतका गतिविधिहरू र निर्वाचनका त्रुटिका सम्बन्धमा उनले बुझाएको लिखित विवरणमा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा गरिएका विधानविपरीतका कार्यबारे उल्लेख गरेका छन् ।

जसअनुसार एनसिसि रसिया, एनसिसि किर्गिस्तान एनसिसि केन्या लगायतका देशहरूमा विधान मुताविक नभएको उल्लेख गरेका छन् । त्यसको प्रमाण गैरआवासीय नेपाली सङ्घको कार्यालयको एमआईएस सिस्टमबाट पत्ता लगाउन सकिने उल्लेख गरिएको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि व्यवस्थापन सम्बन्धी नियमावलीको दफा ३ को उपदफा (५) र (६) मा भएको व्यवस्थाअनुसार एनसीसी रसियाको प्रतिनिधि चयन नभएको उनको भनाइ छ । एनसिसि रसियाका ९९ जना प्रतिनिधि मध्ये ५४ जना प्रतिनिधिले मात्र सङ्घको एमआईएसमा दर्ता गरिएकोले उक्त ५४ जना र विधानको अनुसूची अनुसार चयन भएका १० प्रतिशत प्रतिनिधि बाहेक अन्य प्रतिनिधि विधान विपरीत बनाइएको शर्माले उल्लेख गरेका छन् ।

यस्तै प्रतिनिधिको नामावली सम्वन्धित एनसिसि अध्यक्ष र महासचिवको हस्ताक्षर सहित केन्द्रमा पठाउनु पर्ने स्पष्ट व्यवस्था गरिएता पनि एनसीसी कोरिया , एनसीसी युएई , एनसीसी अस्ट्रेलिया , एनसीसी माल्टा , एनसीसी युकेका प्रतिनिधिहरु विधानको दफा २४ः१ र प्रतिनिधि व्यवस्थापन सम्बन्धी नियमावलीको दफा ३ को उपदफा ७ विपरीत ३१ अगस्ट, २०२३ अगाडि पठाइएको प्रतिनिधिलाई नियतवश अस्वीकार गरी कार्यकारी अध्यक्षको अधिकार दुरुपयोग गरी ३१ अगस्ट , २०२३ पछि आफू अनुकूल पठाउन लगाइएको नामावलीलाई प्रतिनिधि बनाइएको शर्माले समितिलाई बताएका छन् ।

यसै गरी एनसिसि युएईमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीका ३२ जना आफ्ना मान्छेलाई प्रतिनिधि बनाए पछिमात्र एनसिसि युएईका प्रतिनिधिहरूलाई स्वीकार गरिएको उल्लेख छ । यस्तै ९० प्रतिशत प्रतिनिधि विधानको दफा ६ (क) को उपदफा १ बमोजिम चयन गरिनु पर्नेमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीले आफ्नो अधिकारको दुरुपयोग गरी अमेरिकाबाट २४ जना प्रतिनिधि विधान विपरीत चयन गरेको उल्लेख छ । यस्तै निर्वाचन नियमावलीको दफा ५ उपदफा ५ बमोजिम प्रतिनिधिको नामावली निर्वाचन हुनभन्दा ३० दिन पहिले निर्वाचन समितिलाई बुझाइसक्नु पर्नेमा १ महिना भन्दा कम समयमा बुझाएको पनि शर्माले समितिलाई बताएका छन् ।

यस्तै अनलाइन निर्वाचनमा भएका गम्भीर त्रुटिबारे पनि शर्माले विस्तृतमा खुलाएका छन् । त्यसको तत्कालीन निर्वाचन समितिका निर्णयहरू, गैरआवासीय नेपाली संघको कार्यालयको एमआईएस सिस्टम र अस्ट्रेलियन भेरो सिस्टम मार्फत पत्ता लगाउन सकिने बताइएको छ । शर्माले समितिलाई दिएको बयानअनुसार उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट खसेको मत शून्य भएको उल्लेख गरिएको छ । यस सम्बन्धमा पहिलो स्पष्टीकरणमा ग्लोबल र लोकल मत पत्रमा नाम फरक भएको भनिएता पनि पछि मतपत्र चेक गर्दा नाममा फरक नभएको देखिएको उनको भनाइ छ ।

यस्तै सिस्टमको फिचर अनुसार सबै पदाधिकारीको मत सङ्ख्या अनिवार्य बराबर हुनु पर्नेमा फरक फरक भएको, नेपालमा आउने प्रतिनिधिहरू अनिवार्य काठमाडौँको सोल्टी होटेलको बुथबाट मतदान गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएकैले नेपालबाट खसेको मत र सोल्टी होटलवाट खसेको मत समान हुनु पर्नेमा फरक भएको शर्माको भनाइ छ । यसबारे निर्वाचन परिणामबाट हेर्न सकिने समितिलाई जानकारी दिइएको छ ।

Inside Article Ads

यस्तै विधानको दफा २१ः७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भए पछि निर्वाचनमा प्रभाव पार्ने गरी कुनै पनि नियमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन नियमावलीमा व्यापक परिवर्तन गरिएको उनको जिकिर छ । अनलाइन भोटिङको फेस भेकिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टा पछि ९९ प्रतिशत वाट घटाएर ६५ प्रतिशत बनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशङ्का थपेको उनले समितिलाई बताएका छन् । नेपालमा उपस्थित सबै जनाले सोल्टी होटेलकै आईपी ठेगाना बाहेक अन्य आईपीबाट मतदान गर्न नपाउने व्यवस्था भए पनि पदीय दुरुपयोग गरेर नेपाल भरि जहाँ भए पनि मतदान गर्न मिल्ने गरी निर्वाचनको बिचमै प्रक्रिया परिवर्तन गरिएको समितिलाई जानकारी गराइएको छ ।

सोल्टी होटेलमा मतदान गर्नका लागि प्राप्त भएको युजर आईडी र पासवर्ड निर्वाचनमा खटिएका कर्मचारीबाट पुनः फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुन सक्ने आशङ्का गरिएको छ । नेपालमा आइसकेका केही प्रतिनिधिहरूको नामबाट विदेशबाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनियतामा गम्भीर आशङ्का पैदा गरेको शर्माको भनाइ छ । जस्तै विश्व बराल, कतार निवासी टिका कार्की, गोविन्द श्रेष्ठले भेट हाल्न लाग्दा पहिले नै भेट हालेको भनी सन्देश आएको थियो । निर्वाचनमा नेपालको समय राती १२ बजे सम्म जुम माध्यमबाट पनि मतदान गर्ने व्यवस्था गरिएता पनि १२ बजे अगावै जुमभित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानबाट वञ्चित गरिएको थियो । कार्यकारी अध्यक्षले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी १२ बजे सम्म आफ्ना प्रतिनिधिलाई जुममार्फत मतदान गर्न लगाई अरूलाई रोकिएको बताइएको छ ।

पौडेलको मतमा गडबडी भएपछि निर्वाचन समितिले समेत निर्वाचन परिणाममा आशङ्का व्यक्त गर्दै अर्को सूचना नभए सम्मका लागि निर्वाचन परिणाम घोषणालाई स्थगित गरेको र भोली पल्ट अक्टोबर २० तारिखमा तीन जना तत्कालीन बहालवाला अध्यक्षहरूले (बद्री केसी सहित) सबैको सहमतिमा निर्वाचनका सबै प्रक्रिया स्थगित गरी दुई हप्ता भित्र निष्पक्ष छानबिन समिति बनाइ सत्य तथ्य पत्ता लगाउने निर्णय गरी विज्ञप्ति निकालेको निकालिएको शर्माको दाबी छ । तर, उक्त सहमति भङ्ग गर्दै भोलीपल्ट नै एकतर्फी ढङ्गले बद्री केसीको नेतृत्वले शपथ लिनुले निर्वाचनको निष्पक्षतामा झन् आशङ्का थपिएको शर्माको भनाइ छ । गत माघ ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव सदस्य रहेको छानबिन समिति बनाइएको थियो ।

निर्वाचनलगायतका विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी तथा निवेदनहरू र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवादको सम्बन्धमा र संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समिति बनाइएको थियो । तर, समितिले निर्धारित मितिमा प्रतिवेदन तयार गर्न नसकेपछि एक महिना म्याद थप गरिएको छ । चौहानले समितिले तीव्रताका साथ जिम्मेवारीअनुसार काम गरिरहेको जनाए ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.