काठमाडौं, २७ माघ । देशभरि करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज (शुक्रवार) सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण २०७८ ले यस्तो तथ्यांक देखाएको हो।
मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव ८ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ।
सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको देखिएको छ।
कोशी प्रदेशका ३८ दशमलव ५, कर्णालीका ३३ दशमलव ८, सुदूरपश्चिमका २८ दशमलव ८, लुम्बिनीका २६ दशमलव ९, गण्डकीका २५ दशमलव १ र बागमतीका २४ दशमलव ७ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन।
थोक व्यापार गर्ने ६ दशमलव ४२, खुद्रा व्यापार गर्ने ३३ दशमलव ३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२ दशमलव ५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ।
सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार ६४५ जना मानिस संलग्न छन। तीमध्ये महिला ४ लाख ३ हजार ९६४ जना अर्थात ३६ प्रतिशत र पुरुष ७ लाख २६ हजार ६८१ जना अर्थात ६४ प्रतिशत रहेका छन।
दर्ता भएका ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४ दशमलव २ प्रतिशतमा पुरुष र २५ दशमलव ८ प्रतिशत महिलाको नाममा दर्ता छन।
व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२ दशमलव ९ प्रतिशत रहेका छन।
लुम्बिनी प्रदेशका १६ दशमलव ४, कोशीका १६ दशमलव ८, मधेशका १४ दशमलव ३, गण्डकीका ९ दशमलव ५, सुदूरपश्चिमका ५ दशमलव ९ र कर्णालीका ४ दशमलव २ प्रतिशत रहेका छन।
व्यापारमा जोडिएका कूल व्यक्तिको सङ्ख्यामध्ये खुद्रा व्यापारमा मात्र ८८ दशमलव ६५ प्रतिशत व्यक्ति आबद्ध रहेको सर्वेक्षणबाट देखिएको छ।
व्यापार व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति जागिर गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको छ।
सर्वेक्षणले यस क्षेत्रमा तलब‚ ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब‚ ज्याला र अन्य सुविधा नली परिवारका सदस्य नै काममा रहेका व्यक्तिको सङ्ख्या बढी रहेको देखिएको छ।
यस क्षेत्रमा संलग्न जम्मा कामदारमध्ये तलब‚ ज्याला र अन्य सुविधा पाउने कामदारको सङ्ख्या २ लाख १९ हजार ५५१ छ।
जसमा महिला ४५ हजार ९ जना अर्थात २० दशमलव ५० प्रतिशत र पुरुष १ लाख ७४ हजार ५४२ जना आर्थत ६० दशमलव ६० प्रतिशत छन।
तलबी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक ६ लाख ४ हजार ९१२ रुपैयाँ खर्च हुने गरेको देखिएको छ। प्रतिकामदार औसत वार्षिक २ लाख ८ हजार ४९४ रुपैयाँखर्च देखिन्छ।
होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन तथा मर्मतसम्भार व्यापार गरी तीन वटा क्षेत्रमा विभाजन गरी अध्ययन गरिएको छ।
जसमा सबैभन्दा धेरै मुनाफा (मार्जिन) सवारीसाधन तथा मर्मतसम्भारमा देखिएको छ। यस क्षेत्रमा २४ दशमलव ०२ प्रतिशत मार्जिन देखिएको छ।
होलसेल व्यापारमा १३ दशमलव ०१ र खुद्रा व्यापारमा १८ दशमलव २८ प्रतिशत मार्जिन रहने गरेको देखिएको छ।
समग्रमा व्यापारमा १८ दशमलव ५३ प्रतिशत मार्जिन रहेको सर्वेक्षणले देखाएको छ।
व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च जम्मा १ खर्ब ३३ अर्ब रुपैयाँर प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च २ लाख ६४ हजार रुपैयाँदेखिएको छ।
यस सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तुहरुको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर (ट्रेड मार्जिन) अनुमान र व्यापारिक प्रतिष्ठानको रोजगारी, तलब र ज्याला, पुँजी निर्माण आदि तथ्यांक आँकलन गर्नु रहेको कार्यालयले जनाएको छ।
यो सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रिय स्तरको सर्वेक्षण हो। सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिक रुपमा सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको अध्ययन गरिएको छ।
कूल १५ हजार २९९ व्यापारिक प्रतिष्ठानबाट लीएको तथ्याङ्क र सर्वेक्षणका आधारमा यो अध्ययनको नतिजा निकालिएको कार्यालयले जनाएको छ।