
।
डायमण्ड जोशी।
काठमाण्डौ, असार,७
आज योग दिवस। विश्वभर विभिन्न योगका माध्यमबाट मानिसहरु स्मरण शक्तिमा आफ्नो नाम विश्वसुचिमा कायम गर्न सफल भएका छन्। स्मरण शक्तिमा मात्र होईन। अन्य विभिन्न जटिल रोगहरुबाट पनि मानिस मुक्त भएको छ। हो,,, योग एउटा त्यस्तो माध्यम हो, जसले विविध दृढ इच्छाशक्ति र क्रियाशक्तिका अगाडि मानसिक रोगहरुलाई परास्त गरिदिएको छ। मानिसहरुले आज विश्वभर विभिन्न योग, ध्यान र प्रणायाम तथा विविध कार्यक्रमहरुको आयोजना गरि योग दिवस भव्य रुपमा सफल पारेका छन्।
“योग” शब्द आफैमा एक पूर्ण विज्ञान जस्तै हो जसले शरीर, मन, आत्मा र ब्रह्माण्डलाई एकताबद्ध गर्दछ। योगको इतिहास लगभग ५००० वर्ष पुरानो छ, जुन प्राचीन भारतीय दर्शनमा मन र शरीरको अभ्यासको रूपमा चिनिन्छ। योगका विभिन्न शैलीहरूले शारीरिक आसनहरू, सास फेर्ने प्रविधिहरू, र ध्यान वा विश्रामलाई जोड्छन्।
हालैका वर्षहरूमा, योगले शारीरिक व्यायामको एक रूपमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ र आज यो विश्वभर लोकप्रिय बनेको छ। जसले दिमाग र शरीरको राम्रो नियन्त्रण र कल्याणलाई बढावा दिन्छ। योग अभ्यासका धेरै प्रकारहरू छन्। योग भित्र धेरै विषयहरू र यस वाङ्मय भित्रका अनन्त अनुशासनहरु समावेश छन्। यस लेखमा म आफुले प्रयोग गरेका केही विषयहरुको बारेमा प्रकाश पार्न चाहन्छु।
योग भनेको मेरो बुझाईमा!
योग संस्कृत भाषा ‘युज’ बाट आएको हो जसको अर्थ ईश्वरसँग आत्माको मिलन हुन्छ। अर्थात् योगमा यति धेरै शक्ति हुन्छ कि यसले तपाईलाई अमरत्व प्राप्त गर्न सक्छ। कतिपय मानिसले योगलाई सरल ठान्छन् तर यो त्योभन्दा धेरै भिन्न छ। योग मुख्यतः एक आध्यात्मिक अनुशासन हो, जसमा जीवन शैलीको पूर्ण सार आत्मसात गरिएको छ।
योग कला पनि हो, विज्ञान पनि हो । यो एक विज्ञान हो, किनकि यसले शरीर र दिमागलाई नियन्त्रण गर्ने र व्यावहारिक तरिकाहरू प्रदान गर्ने गर्दछ। गहिरो ध्यान सम्भव बनाउँछ। र यो एक कला हो। जबसम्म यसलाई सहज र संवेदनशील रूपमा अभ्यास गरिँदन, यसले सतही परिणाम मात्र दिन्छ। योग विश्वासको प्रणाली मात्र होइन, यसले शरीर र मनको एकअर्कामा हुने प्रभावलाई ध्यानमा राखेर आपसी सद्भावमा अभिवृद्धि ल्याउँछ।
योगले मुख्यतया प्राणायाम, वा ऊर्जा-नियन्त्रण मार्फत शरीरमा ऊर्जा प्रवाह गर्ने काम गर्दछ। योगले अनुशासन र अन्तस्करण भित्रको आफुलाई पहिचान गर्न सिकाउँछ। योग एउटा त्यस्तो विधि हो, जसले आत्मा पहिचान र परमात्मा सँग सम्मिलनको अभ्यास गराउँछ। योगले कसरी श्वास-नियन्त्रण मार्फत, दिमागको उच्च स्थान र जागरूकता प्राप्त गर्न सकिन्छ भन्ने कुराहरु प्रष्ट्याउँछ। पारिस्थितिक प्रणाली भित्रका पर्याप्त विधिहरुको अभ्यासले समाजमा नयाँ किसिमको परिवर्तन ल्याउँन भरपुर मद्दत गर्दछ।
योग को इतिहास
योगको उत्पत्ति हाम्रो भारतवर्ष जम्बुद्विप बाट भएको मानिन्छ । योग दर्शनमा ऋषि पतञ्जलिले लेखेको २,००० वर्ष पुरानो “योग सूत्र” लाई मन र भावनाहरू नियन्त्रण गर्न र आध्यात्मिक रूपमा विकास गर्नको लागि पूर्ण मार्गदर्शक मानिन्छ। योग सूत्र योगको सबैभन्दा प्रारम्भिक लिखित र अस्तित्वमा रहेको सबैभन्दा पुरानो ग्रन्थहरू मध्ये एक हो। यसले सबै आधुनिक सूत्रहरूको लागि ढाँचा प्रदान गर्दछ।
फिटनेस योगको प्राथमिक लक्ष्य थिएन, तर योग अभ्यासकर्ताहरू र अनुयायीहरूले पनि अन्य अभ्यासहरूमा ध्यान केन्द्रित गरे। जस्तै सास फेर्ने प्रविधिहरू र मानसिक ध्यान प्रयोग गरेर आध्यात्मिक ऊर्जा विस्तार गर्ने गरेको देखिन्छ। यति लामो इतिहासपछि पनि १९ औं शताब्दीको उत्तरार्धमा योगले लोकप्रियता पाउन थाल्यो। योगमा रुचि २१ शताब्दीमा आईसकेपछी भने भारतवर्षमा र पछि पश्चिमा मुलुकहरुमा बढ्न थालेको हो। योग ध्यानमा रतिराग स्नेही डुबेका पुरुषहरुलाई योगी भनिन्छ, र महिलाहरुलाई योगिनी भनिन्छ। योग एक प्राचीन अभ्यासको रूपमा सुरु भयो। जसको उत्पत्ति भरतखण्ड भारतवर्ष अर्थात नेपाल वा भारतमा ३०० ईसा पूर्वमा पत्ता लगाइएको कुरा मैले भारतको अयोध्यामा अध्ययन गर्दै गर्दा आदरणीय गुरुदेव प्रा. डा. घनश्याम मिश्रले सुनानुभएको अझै झल्झली याद आउँछ। सिन्धु उपत्यकामा योग आसनका ढुङ्गाले कुँदिएका आकृतिहरू पाइन्छन्। जसले मौलिक आसन र अभ्यासहरू दर्शाउन खोजिरहेको छ। ईश्वरीय ज्ञानको मार्गमा हृदय र आत्माको बीचमा सद्भाव स्थापित गर्न योगको विकास गरिएको थियो। साथै, यो पत्ता लाग्यो कि योगले मधुमेह र उच्च रक्तचाप जस्ता धेरै रोगहरूको उपचार गर्न र शारीरिक चोटपटक र पुरानो दुखाइ कम गर्न मद्दत गर्दछ। योगले धेरै रोग निको पार्न मद्दत गरेको छ । र जसरी योग नेपाल वा भारत बाहिर र धेरै फरक संस्कृतिहरू भएका मुलुकहरुमा धेरै बढ्दो रूपमा लोकप्रिय हुँदै गइरहेको छ। योगाभ्यासलाई विभिन्न विद्यालयहरूमा शिक्षाका विविध माध्यमहरूमा सञ्चालन गर्न सकियो भने हाम्रो देशको रटन्ते शिक्षा प्रणालीको अन्त्य भै पुरानो मौलिकता सहितको शिक्षा पुनर्जागरण पुनर्स्थापना हुन्छ भन्नेमा दुई मत छैन। अहिले हामी अत्याधुनिक युगको संघारमा छौँ। जसको परिणाम स्वरुप हाम्रो सभ्यतालाई प्रविधिकरण अथवा डिजिटलीकरणका माध्यमबाट योगलाई अभ्यास गर्न सकियो भने यसको अजस्व फाईदाहरु हामी प्राप्त गर्न सक्ने छौँ। हामीलाई अहिले विदितै भएको कुरा हो सबैलाई थाहा छ भारतवर्षमा योगको अवस्था के छ र यो कस्तो छ।
यदि योगको कारणले कसैलाई चोट लागेको छ भने, यो योगिहरुको निरन्तर अभ्यासमा बाधा बन्न सक्छ। तर योगका कारण गम्भीर चोटपटक लाग्ने दुर्लभ हो।
यदि महिलाहरु गर्भवती छन् भने वा उच्च रक्तचाप, अथवा विभिन्न साइटिका आदि जस्ता कुनै चिकित्सा समस्याबाट पीडित भए योग अभ्यास गर्नु अघि आफ्नो डाक्टरसँग कुरा गर्दा उत्तम हुने मेरो बुझाई छ। यस्तो अवस्थामा केही योग आसनहरू परिवर्तन वा बेवास्ता गर्नुपर्ने हुन सक्छ। यदि भर्खरै योग सिक्न सुरु गर्नुभएका कोहि पनि हुनुहुन्छ भने, हेडस्ट्यान्ड, पद्मासन र बलियो सास फेर्न जस्ता चरम स्थिति र कठिन प्रविधिहरूबाट टाढा रहनुपर्दछ।यदि स्वास्थ्य समस्याको लागि योग गर्दै हो भने, त्यस समस्याको लागि परम्परागत चिकित्सा हेरचाहलाई बेवास्ता नगर्ने वा त्यो समस्याको लागि योगलाई प्रतिस्थापन गर्न विशेष ध्यान दिनुपर्दछ। योगको अभ्यासले शरीर र दिमागको विकास गर्न मद्दत गर्दछ। यद्यपि यसलाई कुनै पनि औषधिको विकल्पको रूपमा प्रयोग गर्न भने सकिँदैन। प्रशिक्षित योग शिक्षकको पर्यवेक्षणमा योग सिक्नु र अभ्यास गर्नु आवश्यक छ। कुनै पनि चिकित्सा अवस्थामा भए योग जानकारहरु सँग सल्लाह लिनु उत्तम देखिन्छ।
सबैलाई योग दिवसको शुभकामना।
योगश्चित्तवृत्तिनिरोध:।
