Fast Nepal News

किरा जोगाउन जिन बैंक

banner single news

नेपालगन्ज — २५ फागुन २०७८

नेपालगन्ज , कृषिका कुरा गर्दा मुख्य विषय हुन्छ धान, गहुँ, मकै बाली । पशुपालनमा गाई, भैंसी र बाख्रापालन । कृषि प्राविधिक सल्लाह दिन्छन्– ‘विषादीको प्रयोग गर्दा सावधानी अपनाउनुस् । शत्रु जीव मार्ने भनेर कडा खालको विषादी जथाभावी प्रयोग गर्दा मित्र जीव मर्छन् । फाइदाको साटो नोक्सान हुन्छ ।’ कृषक तालिममा सिकाइन्छ मित्र किरा, शत्रु किरा । तर हामीलाई सानो क्षेत्रफलबाट अधिकतम फाइदा चाहिएको छ, विषादी प्रयोग नगरी न अन्न बालीबाट फाइदा लिन सकिन्छ न त तरकारी फस्टाउँछ । हाम्रा वरिपरि सूक्ष्म जीवाणु र कीटाणु भएकाले नै प्राकृतिक चक्र चलेको छ । माटोमा वस्तुहरू गल्ने, सड्ने र उम्रिने प्रक्रियामा सघाउने किरा र कीटाणु चिनाउन, जोगाउन बाँकेमा जिन बैंक स्थापना गरिएको छ । गाभर भ्यालीमा स्थापना गरिएको सामुदायिक जिन बैंक मंगलबारदेखि सञ्चालनमा आएको छ । ‘समुदायस्तरबाट जिन बैंकको स्थापना र व्यवस्थापनले पारिस्थिकीय प्रणाली (इको सिस्टम) संरक्षणमा टेवा पुग्छ । मित्र जीवहरूको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो,’ वरिष्ठ वैज्ञानिक तथा कृषि आनुवंशिक स्रोत केन्द्र जिन बैंक नार्कका प्रमुख डा. बालकृष्ण जोशीले भने ।

कृषिमा जैविक विविधता संरक्षणका लागि बैंकको ठूलो भूमिका हुन्छ ।’ संरक्षणका लागि वन छ, राष्ट्रिय निकुञ्ज छ । क्षेत्र पहिचान गरिएको छ तर कृषिमा जैविक विविधताका लागि एरिया छुट्याइएको छैन । नार्कले ३० वर्षदेखि काम गरिरहेको समुदायस्तरमा लैजाने प्रयास भइरहेको उनले बताए । उनका अनुसार कृषि जैविक विविधताअन्तर्गत ६ वटा भाग छुट्याइएको छ । बाली, घाँसे बाली तर विदेशी घाँस ल्याएर नेपालको राजपत्रमा सूचीकृत गरिएको छ । ‘राजपत्रमा ६ सयभन्दा बढी प्रजाति रजिस्टर गरिएको छ । तर, १५/१६ बाहेक सबै विदेशी प्रजाति छन्,’ उनले भने, ‘अझै पनि किरालाई मारौं भन्दै किराप्रति नकारात्मक धारणा मात्र छ । एक प्रतिशत कम किरा मात्र बाली र पशुका लागि शत्रु हुन् । तर, सबै ठाउँमा औषधि छरेर किरा मार्ने अभियान चलाइन्छ ।’ बोटबिरुवाका फूलमा फल लाग्न परागसेचनको प्रक्रियामा किराहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । परागसेचनपछि मात्र फूलमा फल लाग्छ । फूल लाग्ने अधिकांश बिरुवाका लागि परागसेचन गराउन मौरीले भूमिका खेल्छ ।

माटोमा हावाको सञ्चय निरन्तर बनाइराख्न धमिरा, कमिला, गड्यौलाको भूमिका हुन्छ । बालीको जरामा हावाको कमी भयो भने अपेक्षित उत्पादन हुँदैन । माटोमा सञ्चय हुने प्रांगारिक पदार्थलाई बिरुवाले सोस्न सक्ने खाद्यतत्व बनाइराख्न यस्ता किराहरूको भूमिका महत्त्वपूर्ण हुन्छ, जसलाई कृषि प्राविधिकहरू मित्र किरा भन्छन् । बालीलाई हानि पुर्‍याउने लाही र फड्के आदि किरालाई खाइदिने कमिला, गाइने, पुतलीका जस्ता केही प्रजातिका किराको काम हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । उनका अनुसार ६ हजार ८ सय प्रजातिमध्ये ५० प्रतिशत प्रजाति नेपाली भूमिबाट हराएका छन् । ‘जैविक विविधता छैन भने हाम्रो जीवन सुरक्षित छैन,’ उनले भने, ‘हाम्रो पृथ्वी पनि सुरक्षित छैन ।’ रैथाने एग्री प्रोडक्टका अध्यक्ष तिलक ढकालले सामुदायिक जिन बैंकमार्फत किराहरू मात्र संरक्षण नभई कृषि जैविक विविधता संरक्षण हुने बताए ।

Inside Article Ads

‘यसले कृषि बाली उत्पादनमा वृद्धि हुँदा किसानको आयआर्जनमा सुधार हुने र पर्या पर्यटकको थप आकर्षण केन्द्र बन्नेछ ।’ जैविक विविधताको संरक्षणमा टेवा पुर्‍याउने, कृषि र पर्यावरणमा आधारित पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्ने हेतुले जिन बैंकको स्थापना गरिएको सरोकारवालाको दाबी छ । यसले किसानलाई मित्र र शत्रु किरा चिनाउनेछ । विषादी प्रयोगमा सावधानी पनि प्रयोगात्मक रूपमा सिकाउनेछ । कृषि आनुवंशिक स्रोत केन्द्र जिन बैंक नार्क ललितपुरको आयोजना र रैथाने एग्री प्रोडेक्ट नेपालको सहकार्यमा सञ्चालित सामुदायिक जिन बैंक तथा किरा फिल्ड जिन बैंक स्थापना गरिएको हो । यसको संरक्षणका लागि सामुदायिक जिन संरक्षण सञ्जाल पनि गठन गरिएको छ । नार्कका किट विज्ञ आरपी मैनालीका अनुसार सामुदायिक जिन बैंकअन्तर्गत अहिले यहाँ किराका लागि उपयुक्त वातावरण तयार गरिएको छ । ‘माहुरीका लागि घार बनाए जस्तै यहाँ किरा बाँच्ने वातावरण बनाइएको हो,’ उनले भने, ‘सामुदायिक जिन बैंकअन्तर्गतको जिन किरा बैंक पनि एउटा हो ।’

( कान्तिपुर दैनिक )

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.