Fast Nepal News

सुदूरको चुरे क्षेत्रमा सडक थप्दै, वन मास्दै

banner single news

धनगढी र कञ्चनपुर — ०१ फागुन २०७८

धनगढी र कञ्चनपुर, कैलाली ढ्याम्चेपानीका हरि सिंह खुसी छन् । चुरेको मध्यभागमा रहेको उनको गाउँमा मोटरबाटो, बिजुली, खानेपानी मात्र होइन केबलकार नै बन्ने सपना बाँडिएको छ । काठमाडौंको चन्द्रागिरिमा केबलकार बनाएका व्यवसायीले चुरेको कम्पासे धुरादेखि सिधै गोदावरीसम्म केबलकार बनाउने भन्ने उनले सुनेका छन् । चुरेमा रहेको पुरानो बस्ती ढ्याम्चेपानी आसपासमा विगतका केही वर्षमा आधा दर्जन अरू गाउँ बनिसकेका छन् । केही वर्षअघिसम्म हरि सिंहको गाउँ ढ्याम्चेपानी, फूलबस्ती र बुढीतोलाबाहेक बस्ती भेट्न तराईको गोदावरी र ओलानी पुग्नुपर्थ्यो । तर दशकयता यो क्षेत्रमा आधा दर्जन बढी बस्ती विकास भएका छन् । चापका दिलबहादुर पनि आफ्नो बस्तीमा गोदावरी नगरपालिकाको चाप हुँदै दुई/तीनवटा सडक एक साथ जोडिन थालेकाले खुसी देखिएका छन् । गाउँमा चहलपहलसँगै बाहिरबाट आउजाउ गर्ने र जग्गा बेचबिखन बढेको छ । तराईका कारोबारी चुरेको पुरानो बस्तीमा जग्गा किन्न इच्छुक देखिएका छन् । दैनिकजसो गाडी लिएर आइपुग्ने देखिन्छन् । ‘यो ठाउँको दिन यसरी फेरिएला भनेर सोचेका थिएनौं,’ दिलबहादुरले भने ।

सडक, बिजुली, पूर्वाधार विकासका नाममा के भइरहेको छ भन्ने हेक्का सोझासाझा दिलबहादुर र हरि सिंहहरूलाई जानकारी छैन । उनीहरू जस्ता चुरेका रैथानेहरूलाई बढेको चहलपहलसँगै पूर्वाधार विकासका गतिविधिले के परिणाम ल्याउँछ भन्ने हेक्का छैन । चुरे फडानी गर्दै बसेका बस्ती जोड्ने निहुँमा बनिरहेका दर्जनौं सडकले वन अतिक्रमण तीव्र भएको छ । ढ्याम्चेपानी, फूलबस्ती र बुढीतोला मात्र होइन चुरे कैलालीको चिसापानीदेखि कञ्चनपुरको कवानीसम्म फैलिएको छ । समथर भागका जग्गापछि कारोबारीका आँखा सुदूरपश्चिमको चुरे क्षेत्रमा परेका छन् । चिसापानीदेखि कवानीसम्म एक दशकअघि डेढ दर्जन हाराहारीमा बस्ती थिए । अहिले संख्या बढेर ५ दर्जनभन्दा बढी पुगेको छ । बस्ती मात्र बनेन, सँगै चुरेको भूगोलमा एक दर्जन ठूला र ४ दर्जन बढी विभिन्न गाउँ जोड्ने सडक निर्माण पनि धमाधम छ । सडक बनाउने भन्दै वन फडानी तीव्रत्तर छ । सडक छेउमा धमाधम नयाँ बस्ती विस्तार भइरहेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका, डडेलधुराको भित्री मधेस जोड्ने दैजी–लिप्ना सडक खण्ड अन्तर्गत लिप्नामा जमिन खरिद बिक्री चर्को छ । यसैगरी भीमदत्त नगरको खल्ला मसेट्टी र झिलमिलाको माथिल्लो क्षेत्रमा पनि बस्ती बढ्ने क्रम तीव्र छ । तराईका भू–माफिया यतिबेला चुरे क्षेत्रमा जमिन खरिद र प्लटिङमा लागेका छन् । एकातिर पहाड जोड्ने सडकमा जमिन बनाउने अर्कोतिर वन फडानी बढाउने योजनाअनुसार बढेका गतिविधि रोकथाममा सरकारको ध्यान पुगेको छैन ।

केही दिनअघि चुरेकै झिलमिला क्षेत्रमा विपश्यना ध्यान केन्द्रका नाममा धार्मिक वनका पदाधिकारीले डोजर चलाएर ५ सय मिटरभन्दा बढी सडक खनेका छन् । गत वर्ष विपश्यना साधना धार्मिक वनका नाममा १५.४ हेक्टर वन छुट्याएको क्षेत्रमा सडक निर्माण हुन थालेको हो । धार्मिक वनका अध्यक्ष नारद पाण्डेयलगायतले सरकारको अनुमतिबिनै डोजर चलाएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए । ‘चुरेको ५ सय मिटरमा डोजर प्रयोग भएको छ, जुन अवैध मात्रै होइन वनजन्य अपराध पनि हो,’ उनले भने, ‘अध्यक्षसहित सबै पदाधिकारीमाथि मुद्दा चलाउने तयारी भइरहेको छ ।’ सबडिभिजन वन कार्यालय ब्रह्मदेवका सहायक वन अधिकृत प्रकाश जोशीलाई संयोजक तोकेर अनुसन्धान भइरहेको उनले बताए ।

Inside Article Ads

स्थानीयको भेलाले धार्मिक वन खारेजीका लागि समेत निर्णय गसिकेकाले त्यसको प्रक्रिया समेत अघि बढेको अवस्थीले बताए । धार्मिक वनका अध्यक्ष पाण्डेय लगायतका पदाधिकारीहरूले केही दिनअघि महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै साधना केन्द्रका लागि नै बाटो निर्माण गरिएको दाबी गरेका थिए । सबडिभिजन वन कार्यालय वाणी कञ्चनपुरदेखि जम्मा ३ सय मिटरको दूरीमा सडक निर्माण गर्ने निहुँमा गोलाबारी सामुदायिक वन क्षेत्रमा अतिक्रमण भयो । आवश्यकता नै नभएको ठाउँमा सडक बनाउने निहुँमा वन क्षेत्र अतिक्रमणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकम पनि विनियोजित भयो । विवाद भयो तर कृष्णपुर नगरपालिका–२ का वडाध्यक्षसहितका जनप्रतिनिधिले वन क्षेत्र मिचेर जग्गा अतिक्रमण गर्ने उद्देश्यले बन्न थालेको सडकलाई वैधानिकता दिए । अतिक्रमण हटाउने योजनामा रहेको सबडिभिजन वन कार्यालयका कर्मचारी हेरेको हेर्‍यै भए । यो क्षेत्र चुरेसँग जोडिएको छ ।

४ वर्षदेखि निर्माणाधीन बंक–नायल सडकमा वनले कटानका लागि छपान गरेका रुख छाडेर निर्माण कम्पनीले छानी छानी राम्रा सालका रुख मात्रै काटेर सडक निर्माण अघि बढाएको छ । चुरेको दोमिल्ला क्षेत्रमाथि सडक निर्माण गर्दा सर्भेभन्दा पनि जहाँ गतिला रूख छन्, त्यतैबाट सडकको ट्र्याक खोलिएको छ । त्यो क्रम अहिले पनि जारी रहेको स्थानीयको गुनासो छ । विवाद आउन थालेपछि छपान भएका रूख पनि काटिए । २० किलोमिटरको दूरीमा कैलालीका २ र कञ्चनपुरका ४ ठाउँबाट चुरे जोड्ने नयाँ सडक निर्माण भइरहेका छन् । चुरेसँग जोडिएको सुदूरपश्चिमको तराईका भूभागमा वन फडानी र अतिक्रमण सरकारी संरक्षणमा नै भइरहेको छ । ‘१ लाख ९६ हजार हेक्टर क्षेत्रफल रहेको सुदूरपश्चिमको चुरे क्षेत्र संकटमा छ,’ वरिष्ठ भूसंरक्षणविद् डम्बर थापा भन्छन्, ‘चुरे मात्र होइन यसको दीर्घकालीन असरका रूपमा तराईको मरुभूमीकरण सुरु भइसकेको छ ।’

उनले भने जस्तै चुरेबाट बग्ने नदी/नालाको सतह उब्जाउ जमिन र बस्तीभन्दा उचाइमा बग्न सुरु भइसकेको छ । ‘सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा चुरे क्षेत्र अतिक्रमण भएको छ,’ वन विभागका पूर्वअधिकृत धर्मबहादुर चन्द भन्छन्, ‘वडाध्यक्षदेखि प्रदेश र संघीय सरकारका मन्त्रीसम्मको अतिक्रमणलाई संरक्षण हुनुले स्थिति भयावह हुने दिशामा छ । अतिक्रमण र फडानी संस्थागत जस्तो भएको छ ।’ फडानी गर्नेको जमात बढ्दा रोक्न खोज्नेहरू दण्डित हुनुपर्ने अवस्था देखिएको उनले बताए । सरकारले विगतमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरेर काम सुरु गरे पनि त्यसले उल्लेख्य काम गर्न सकेको छैन । सरकारले मेचीदेखि महाकालीसम्म ५ वटा क्लस्टर बनाएर संरक्षणको काम सुरु गरेको थियो । तर त्यो फडानीमा सक्रियको मिलेमतोका कारण औपचारिकतामा मात्र सीमित देखिएको छ । २६ जिल्ला पर्ने चुरे क्षेत्रले मुलुकको कुल भूभागको १२.७८ प्रतिशत (१८ लाख ९६ हजार २२५ हेक्टर) ओगटेको छ ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.