Fast Nepal News

जथाभावी इँटाभट्टा सञ्चालनविरुद्ध स्थानीय आन्दोलित

banner single news

बिर्तामोड — २७ माघ २०७८

बिर्तामोड , ‘धान सुपर जोन’ लागू गरेको क्षेत्रमा जथाभावी इँटाभट्टा सञ्चालनको अनुमति दिएको भन्दै जिल्लाका कचनकवल गाउँपालिकाका स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरूले बर्सेनि खुल्ने इँटाभट्टाले कृषि क्षेत्रको उत्पादकत्व घटाउँदै गएको आरोप लगाएका छन् । इँटाभट्टा सञ्चालनको विरोधमा संघर्ष समिति नै गठन गरी अघि बढेका स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र श्रम तथा रोजगार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले बर्सेनि खुल्ने इँटाभट्टाले गाउँमा प्रदूषण बढाएको, जमिनको उर्वरा शक्तिमा ह्रास आएको, बाटो तथा कल्भर्ट भत्काएको, खेतीयोग्य जमिनको बीचभागमा ठूल्ठूला खाडल खनेको, बालश्रमिक प्रयोग गरेकोलगायतका आरोप लगाएका छन् । प्रचलित कानुनविपरीत हुनेगरी बस्तीनजिकै इँटाभट्टा सञ्चालन गरेको संघर्ष समितिका संयोजक निश्चल दाहालको दाबी छ ।

‘खेतीयोग्य जमिन मासिने गरी इँटाभट्टा सञ्चालनको अनुमति नदिन पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत हाम्रो माग सुनुवाइ भइरहेको छैन,’ संयोजक दाहालले भने, ‘यस पटक हामी निर्णायक आन्दोलनमा उत्रिएका छौं । आज (बुधबार) इँटाभट्टा प्रभावित ८ सय ७८ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र सम्बन्धित कार्यालयलाई बुझाएका छौं । हाम्रो माग फेरि पनि सुनुवाइ भएन भने हामी सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं ।’ इँटाभट्टा व्यवसायप्रति आफूहरूको कुनै आपत्ति नभएको तर, इँटाभट्टाले सामाजिक तथा कानुनी रूपमा गर्नुपर्ने न्यूनतम जिम्मेवारीहरूसमेत पूरा नगर्दा आन्दोलित हुनुपरेको उनको भनाइ छ । इँटाभट्टा सञ्चालन ऐनविपरीत हुनेगरी सरकारी निकायले एकदेखि डेढ किलोमिटर क्षेत्रभित्रमा आधा दर्जन इँटाभट्टा सञ्चालनको अनुमति दिएको स्थानीय सोम चम्लागाईले बताए । ‘एकदेखि डेढ किलोमिटर क्षेत्रफलभित्र चार वटा इँटा उद्योगको पाँच वटा चिम्नी सञ्चालित छन्,’ चम्लागार्इंले भने, ‘ती इँटाभट्टाका कारण एक–दुई सय होइन, सयौं घरपरिवार प्रत्यक्ष/अप्रत्यक्ष प्रभावित छन् ।’

Inside Article Ads
उनका अनुसार कचनकवल ७ स्थित चण्डी इँटाभट्टाको ४ सय मिटरको दूरीमा करिब एक सय घरपरिवार बसोबास गर्ने सीतागडी र करिब ५० घरपरिवार बसोबास रहेको विशाल बस्ती छ । दुई सय मिटर दूरीमा रहेको पुरी गाउँ, ५ सय मिटरमा बाङ्गाडाँगी बस्ती र एक किलोमिटर दूरीमा गाउँपालिका क्षेत्रकै मुख्य बजार बनियानी बजार पर्दछ । ‘एसबीआई इँटाभट्टाको ३ सय मिटरनजिक ३ सयभन्दा बढी घरपरिवारको बसोबास रहेको आमजुवानी बस्ती छ,’ चम्लागाईंले भने, ‘स्टार इँटाभट्टा त २ सय ५० भन्दा बढी घरपरिवार बसोबास रहेको फूलबारी बस्तीको एक सय मिटर नजिक छ ।’ ऐनअनुसार मानव बस्तीदेखि एक किलोमिटर टाढा मात्र इँटा उद्योग सञ्चालन गर्न पाउने व्यवस्था छ । ‘चण्डी, प्रेम, एसबीआई र स्टार इँटा उद्योग मात्र एक किलोमिटरको आसपासमा छन्,’ स्थानीय निर्मल दाहालले भने, ‘यी इँटा उद्योगका दैनिक चल्ने मालवहाक गाडीले स्थानीय सडक, कल्भर्टहरू लगातारजसो भत्काउने गरेका छन् ।
धूलो र धुवाँको प्रदूषणले स्थानीयलाई दीर्घरोगी त बनाएको छ नै खेतीयोग्य जमिनको उर्वरा शक्तिमा समेत ह्रास आएको छ ।’ ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तत्काल इँटा उद्योग सञ्चालकहरूलाई बोलाएर छलफल गर्ने आश्वासन दिएका छन् । उनले वातावरण प्रदूषण, बाटो तथा कल्भर्टमा क्षति र बाल श्रमिकको प्रयोगलगायतका विषय गम्भीर भएकाले यस विषयमा आफू तत्काल अघि बढ्ने बताए । सरकारले मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने बताउँदै पाँच वर्षअघि कचनकवल गाउँपालिका क्षेत्रमा ‘धान सुपर जोन’ परियोजना सुरु गरेको थियो । उक्त परियोजना दुई वर्ष अघि जिल्लाभरि नै विस्तार गरिएको छ ।                        

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.