Fast Nepal News

मल कारखाना बिजुलीबाट चल्ने कि ग्यासबाट ?

banner single news

काठमाडौँ — २५ माघ २०७८

काठमाडौँ , रासायनिक मल कारखाना खोल्न लगानी बोर्डको कार्यालयले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन मंगलबार बस्ने तय भएको बोर्डको ४९औं बैठकमा पेस हुने भएको छ । रासायनिक मल कारखाना खोल्न प्राविधिक र वित्तीय हिसाबले विभिन्न सम्भावनाहरूसहित तयार पारिएको प्रतिवेदन बोर्डमा पेस गर्न लागिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । बर्सेनि मल अभावको समस्या देखिन थालेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले देशभित्रै रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने नीति अघि सारेको थियो । बजेटमा कारखाना खोल्ने विषय परेपछि त्यसको सम्भाव्यता अध्ययन गर्ने जिम्मा लगानी बोर्डको कार्यालयलाई दिइएको थियो । कारखाना खोल्नेबारे सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन तयार भइसकेको र त्यसलाई मंगलबार बस्ने बैठकको एजेन्डाका रूपमा लैजान लागिएको लगानी बोर्डको कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिवेदनले दिएका विकल्पहरूमाथि बोर्डले अन्तिम निर्णय लिनेछ । अहिले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौं विश्वविद्यालय (स्कुल अफ इन्जिनियरिङ) ले पनि मल कारखाना खोल्न प्रयोग हुने प्रविधिको एउटा विकल्पमाथि अध्ययन गरिरहेका छन् ।

विद्युत्बाट ‘ग्रिन हाइड्रोजन’ उत्पादन गर्ने र मल कारखानाका लागि पनि यही प्रविधिमा जान सकिनेबारे अध्ययन भइरहेको हो । काठमाडौं विश्वविद्यालयले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसार र कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवलाई आफूले गरेको सम्भाव्यता अध्ययनबारे ‘ब्रिफिङ’ समेत गरेको छ । उक्त अध्ययनअनुसार प्राकृतिक ग्यासको प्रयोग हुने कारखाना खोल्न लागत सस्तो पर्ने भए पनि त्यसको कच्चापदार्थका लागि भारतसँग निर्भर हुनुपर्नेछ । तर बिजुली प्रयोग हुने मल कारखानाका स्थापना गर्न लागत महँगो पर्ने देखिएको छ । बिजुलीमा आधारित मल कारखानाका लागि अहिलेको महँगो महसुल दरलाई आधार मानेर हेरिएका कारण यसको लागत बढी देखिएको ठानिएको छ । सरकारले बिजुलीमा लिइरहेको महसुल शुल्क घटाएर प्रतियुनिट ५ रुपैयाँभन्दा कममा बेचे यो प्रविधिमा जान उपयुक्त हुने देखिन्छ । ‘प्राकृतिक ग्यास प्रयोग हुने मल कारखाना खोल्न ९ सय मिलियन अमेरिकी डलर र बिजुली प्रयोग हुने कारखाना खोल्न १२ देखि १३ सय मिलियन अमेरिकी डलर लागत अनुमान छलफलमा प्रस्तुत भयो,’ स्रोतले भन्यो, ‘तर बिजुलीको मूल्य प्रतियुनिट १० रुपैयाँ राखेर अध्ययन गरेका कारण त्यो लागत घटाउन सकिने देखिएको छ ।’
सोमबारको छलफलपछि ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको मूल्य घटाउन सकिने भएका कारण प्राकृतिक ग्यासभन्दा स्वदेशको उत्पादन बिजुली खपत गर्ने कारखाना बनाउन जोड दिएका थिए । ‘सञ्चालन खर्च मात्र लिएर बिजुली उपलब्ध गराउने व्यवस्था सरकारले गर्ने र ऊर्जाकै कारण मल महँगो हुने स्थिति आउन नदिने भनेर मन्त्रीले बोलेकी छन्,’ छलफलमा सहभागी स्रोतले भन्यो, ‘कुलमान घिसिङले पनि प्राधिकरणले वर्षायाममा प्रतियुनिट २ रुपैयाँमा बिजुली उपलब्ध गराउन सकिन्छ भनेका छन् ।’ छलफलमा सोमबार कृषिमन्त्री महिन्द्र राय यादवले नेपालको हकमा मल कारखाना जतिसक्दो चाँडो स्थापना गर्नुपर्ने भएका कारण सातै प्रदेशका लागि छुट्टाछुट्टै कारखाना खोल्न सकिने धारणा राखेका थिए । हरेक प्रदेशमा समान दुई लाख टन मल उत्पादन गर्ने कारखाना खोलिनुपर्ने उनको भनाइ थियो । नेपालमा रासायनिक मल कारखाना खोल्न पहिलो पटक २०४१ सालमै सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसयता विभिन्न समयमा गरेर थप ६ वटा अध्ययन भइसकेका छन् । तर कारखाना कहाँ र कसरी बनाउने भन्ने टुंगो अझै लागिसकेको छैन ।
यसको प्रविधि, लगानी मोडालिटी, वातावरणीय पक्ष, बजार आवश्यकता र प्रतिफल विश्लेषणबारे सरकार अझै स्पष्ट हुन सकेको देखिँदैन । रासायनिक मल कारखाना खोल्ने सरकारको नीति रहे पनि कुन प्रविधिमा आधारित कारखाना खोल्ने, अन्योल कायमै छ । प्राकृतिक ग्यास, विद्युत्, बायोमास, थर्मोकोल र वाटर इलेक्ट्रोसिस जस्ता विकल्पमध्ये कुन प्रविधिमा जाने अझै स्पष्ट भइसकेको छैन । मंगलबारका लागि तय भएको लगानी बोर्डको बैठकले यो विषय टुंगाउने ठानिएको छ ।

तर यसअघि विभिन्न समयमा भएका अध्ययन हेर्दा सरकारलाई यसबारे निर्णय लिन त्यति सजिलो पक्कै हुनेछैन । लगानी बोर्डको कार्यालयले २०७१ सालमा भारतीय परामर्शदाता कम्पनी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन (आइडेक) मार्फत गराएको अध्ययनले ठूलो लगानी तर सानो बजारको कारण देखाउँदै नेपालमा रासायनिक मल कारखाना खोल्नु उपयुक्त नरहेको प्रतिवेदन बुझाएको थियो । यो अध्ययनले नेपालमा रासायनिक मल कारखाना खोल्न आर्थिक र प्राविधिक रूपले सम्भव नरहेको सुझाव दिए पनि लगानी बोर्डको २७औं बैठकले ढल्केबरमा कारखाना खोल्न सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको देखिन्छ ।

Inside Article Ads

अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै सार्वजनिक–निजी साझेदारी (पीपीपी) ढाँचामा कारखाना खोल्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । अघिल्लो सरकारले पनि उच्चस्तरीय कार्यदलमार्फत रासायनिक मल कारखानाबारे अध्ययन गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री पद्माकुमारी अर्याल रहेको उच्चस्तरीय अध्ययन कार्यदलले २०७७ चैतमा सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले बिजुलीमा भन्दा प्राकृतिक ग्यासमा आधारित कारखाना खोल्न सरकारलाई सुझाएको देखिन्छ । ‘सुरु पुँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाका दृष्टिबाट प्राकृतिक ग्यासमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा बढी उपयुक्त देखिन्छ,’ पौडेल संयोजकत्वको अध्ययन प्रतिवेदनमा भनिएको छ । प्राकृतिक ग्यासमा आधारित मल कारखाना स्थापना गर्न १ खर्ब ३ अर्ब रुपैयाँ लगानी आवश्यक हुने निष्कर्षसमेत उक्त कार्यदलले निकालेको थियो । तर वाटर इलेक्ट्रोसिस प्रविधिमा आधारित मल कारखाना बनाउन भने १ खर्ब ८९ अर्ब रुपैयाँ लागत रहने प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन कृषिसचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा गठित अध्ययन कार्यदलले सरकारलाई २०७७ असोजमा बुझाएको अध्ययन प्रतिवेदनमा भने ‘विद्युत्को र फोहोरबाट निस्कने बायोमास प्रविधिमा आधारित मल कारखाना खोल्न सम्भव रहे पनि प्राकृतिक ग्यासमा आधारित कारखाना खोल्न सम्भव नरहेको’ उल्लेख छ । प्राकृतिक ग्यास आयातका लागि भारतसँग परनिर्भर हुनुपर्ने र पाइपलाइनसमेत बनाउनुपर्ने भएका कारण यस्तो प्रविधिको कारखाना खोल्नु उपयुक्त नहुने प्रतिवेदनको निष्कर्ष थियो । नेपालमा रासायनिक मल कारखाना खोल्न पहिलो पटक २०४१ सालमै सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसयता थप ६ वटा अध्ययन भइसकेका छन् । पछिल्लो एक दशकमा सरकारले ल्याएका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कुनै न कुनै रूपमा यो विषय अटाएको छ । तर कारखाना कहाँ र कसरी बनाउने भन्ने टुंगो छैन । यसको प्रविधि, लगानी मोडालिटी, वातावरणीय पक्ष, बजार आवश्यकता र प्रतिफल विश्लेषणबारे सरकार स्पष्ट हुन सकेको छैन ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.