Fast Nepal News

ठगी र हुन्डीमा क्रिप्टोकरेन्सी कारोबार

banner single news

काठमाडौँ — १२ माघ २०७८

काठमाडौँ , पर्वतको फलेवास घर भई पोखरामा मोबाइल पसल चलाउने २१ वर्षीय राजन भट्टराई, काठमाडौंको थापाथलीमा मोबाइलकै पसल गरिरहेका दीपेनराज श्रेष्ठ र सुनसरीको इटहरीमा बसेर शिक्षण पेसासमेत गर्दै आएका २५ वर्षीय विशाल श्रेष्ठलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्‍यो । प्रहरीको महानगरीय अपराध महाशाखाले ३० वर्षमुनिका यी तीन युवकलाई पक्राउ गर्नुको कारण थियो– राष्ट्र बैंकले गैरकानुनी मानेको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न हुनु । एक अमेरिकी नागरिक बताउनेले ठगीको रकम नेपालबाट लैजान यी तीन जनाबाट क्रिप्टोकरेन्सी किनेको यो घटना प्रहरीका निम्ति पनि नौलो देखिन्छ । राष्ट्र बैंकले गैरकानुनी ठहर गरे पनि क्रिप्टोकरेन्सीको कारोबारमा तन्नेरी पुस्ताको आकर्षण व्यापक देखिन्छ । कमजोर अनुसन्धान प्रणाली, प्रतिबन्धको घोषणा गरे पनि नियमन गर्ने संयन्त्रको अभावका कारण क्रिप्टोकरेन्सीको कारोबार भित्रभित्रै मौलाइरहेको छ । बेलाबखत पक्राउ पर्नेहरू त यसका प्रतिनिधि उदाहरण मात्रै हुन् । साढे चार वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा दस जनाभन्दा बढीलाई पक्राउ गरेको थियो । के त्यसो भए यो बीचको अवधिमा क्रिप्टोकरेन्सीको कारोबारमा नेपाली संलग्न थिएनन् ?

केन्द्रीय अनुसन्धान ब्युरोमा रहेर त्यतिबेला क्रिप्टोकरेन्सीको कारोबारमाथि अनुसन्धान गरेका एक प्रहरी अधिकारीले क्रिप्टो कारोबार भित्रभित्रै मौलाइरहेको बताए । उनले भने, ‘प्रहरीले नियमित अनुसन्धान गरिराख्ने हो भने यस्ता थुप्रै कारोबार सतहमा आउनेछन् तर भर्चुअल दुनियाँमा बसेर हुने यस्ता कारोबारमाथि नियमन गर्न भनेजति सजिलो छैन ।’ करिब वर्ष दिनअघि डीआईजी सहकुल थापा केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख रहेका बेला हल्यान्डका नागरिक ठगी कारोबारमा पक्राउ परेका थिए । अनुसन्धान गर्दै जाँदा प्रहरीले उनी क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको पत्तो पायो । तर प्रहरीले त्यस्तो कारोबारको भर्चुअल विवरण संकलन गर्ने सकेन । काठमाडौं जिल्ला अदालतमा प्रहरीले ठगी र अवैध क्रिप्टोकरेन्सीको कारोबार दुवैमा मुद्दा चलाउन प्रयास गरे पनि अदालतले प्रमाण खोजेपछि ठगीमा मात्रै मुद्दा चलाइयो । क्रिप्टोकरेन्सीको कारोबारमा नेपाली मात्रै होइन, नेपालमै बस्दै आएका विदेशी पनि प्रत्यक्ष परोक्ष जोडिएका छन् । तर, भर्चुअल कारोबार हुने, कारोबार गर्नेको पहिचान गोप्य रहने जस्ता विशेषताका कारण क्रिप्टोकरेन्सी कारोबारहरू फस्टाइरहेको छ । क्रिप्टोको कारोबारलाई अवैध घोषणा गरे पनि राष्ट्र बैंक र प्रहरीबाट यस्ता कारोबारमाथि गम्भीर अनुसन्धान भइरहेको देखिन्न । राष्ट्र बैंकले २०७४ साउन ३० मा निर्देशन जारी गरेर बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको कारोबारमा बन्देज गरेको थियो ।

राष्ट्र बैंकको निर्देशनपछिका दिनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न क्रिप्टोकरेन्सीको कारोबारमा संलग्नलाई लगातारजसो पक्राउ गर्‍यो । सीआईबीले २०७४ असोज २० मा बिटक्वाइन र ग्राभिटी क्वाइनजस्ता क्रिप्टोकरेन्सीको मार्केटिङमा संलग्न रहेको भन्दै चितवन र काठमाडौंबाट सात जनालाई पक्राउ गर्‍यो । यसको सात दिनपछि अर्थात् असोज २७ मा सीआईबीले नै दोलखाको तामाकोसी गाउँपालिका ५, किर्नेटारबाट क्रिप्टोकरेन्सी माइनिङमा संलग्न भएको आरोपमा प्रशान्तप्रताप साहलाई पक्राउ गर्‍यो । त्यतिबेला प्रहरीले उनको कोठाबाट २६ थान बिटमेन माइनरलगायत सामग्री बरामद गरेको थियो । त्यसलगत्तै २०७४ कात्तिक ७ र ८ गते बिटक्वाइनको एक्सचेन्जमा संलग्न बिटसेवा डटकमका निर्देशक पुरुषोत्तम तुलाधर र अध्यक्ष राम ढकाल पक्राउ परे । यी सबै घटनामा प्रहरीले नेपाल राष्ट्र बैंक ऐन २०५८ बर्खिलाप हुने गरी कारोबार गरेको भन्दै मुद्दा अगाडि बढायो । यसपछिका वर्षहरूमा क्रिप्टोकरेन्सीको कारोबार भित्रभित्रै मौलाइरहे पनि कोही पक्राउ परेका थिएनन् । क्रिप्टोकरेन्सीको कारोबार न त प्रहरी अनुसन्धानमा चासोको विषय थियो न त राष्ट्र बैंकले नै यसमाथि गम्भीर अनुसन्धानमा सक्रियता देखाएको थियो ।

सामाजिक सञ्जाल र युट्युबमा क्रिप्टोकरेन्सीको कारोबार कसरी गर्ने, यसको किनबेचमा कसरी आबद्ध हुने भन्ने सिकाउने दर्जनौं पेज र भिडियो सामग्री सजिलै भेटिन्छन् । राष्ट्र बैंकले अवैध भन्दै आएको क्रिप्टोकरेन्सी कारोबारलाई प्रोत्साहन गर्ने डिजिटल कन्टेन्टहरूमा न त राष्ट्र बैंकले नियमन गर्न सकेको छ न त प्रहरीले नै । सामाजिक सञ्जाल र युट्युबमा राखिएका दर्जनौं सामग्रीले देशभित्र र प्रवासमा बस्ने नेपालीलाई पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न प्रोत्साहित गरिरहेको छ । २०७४ मा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको सूचना जारी गरेको नेपाल राष्ट्र बैंकले गत शुक्रबार तीन युवक पक्राउ परेपछि फेरि त्यस्तै प्रकृतिको सूचना जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोगले कानुनी मान्यता नपाएको उल्लेख छ । सूचनामा छ, ‘नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले समेत त्यस्तो कार्य गरे गराएको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’ राष्ट्र बैंकले यस्तो सूचना जारी गरे पनि नेपालभित्रै प्याक्सफुल डट कम, बिनेन्सजस्ता साइटमार्फत क्रिप्टोकरेन्सीको कारोबार भइरहेको देखिन्छ । क्रिप्टोकरेन्सी किन्ने र बेच्ने काममा पनि यस्ता साइटहरू सहयोगी भइरहेका छन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शुक्रबार पक्राउ परेका तीनै जनाले प्याक्सफुल डट कममार्फत क्रिप्टोकरेन्सी किन्ने र बेच्ने काम गर्दै आएका थिए । तीमध्येका राजन भट्टराईले आफूले पहिलो लकडाउनका बेला युट्युब हेरेरै क्रिप्टोकरेन्सीको कारोबारबारे बुझेको बताएका थिए । राजनले हालसम्म ९ सय ७५ जनासँग १ हजार ९ सय २६ पटक कारोबार गरेको देखिन्छ । प्रहरीका अनुसार मंसिरदेखि पुससम्मको दुई महिनामा मात्रै उनले २ लाख ६० हजारको कारोबार गरेका थिए । राजनको कारोबारको फ्रिक्वेन्सी हेर्दा नेपालभित्र कति ठूलो संख्यामा क्रिप्टोकरेन्सीको किनबेच भइरहेको छ भन्ने संकेत मिल्छ । प्रहरीले पक्राउ परेका तीनै जनामाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ । क्रिप्टोकरेन्सीसम्बन्धी अघिल्ला घटनाभन्दा यो घटना यस अर्थमा फरक देखिन्छ कि ठगीको रकम विदेश लैजान विदेशी नागरिकले क्रिप्टोकरेन्सीको कारोबार गरेका छन् । जसमा तीन जना युवा प्रयोग भएका छन् । ब्लकचेनमा आधारित क्रिप्टोकरेन्सी कारोबारको अनुसन्धानमा संलग्न प्रहरीको चिन्ता भने भित्रभित्रै बढ्दै गरेको

यसको कारोबारभन्दा पनि ठगी र हुन्डीमा क्रिप्टोकरेन्सी प्रयोग हुनु चिन्ताको विषय हो । शुक्रबार पक्राउ परेकाहरूको घटनाबाट यस्तो प्रयोग भइरहेको खुल्छ । सिरहाका सनोजकुमार यादवलाई केही महिनाअघि अमेरिका बस्ने बताउने एक जनाले पानीजहाजमा काम लगाइदिने आश्वासन दिए । सोचेअनुसार कमाइ हुने आसमा सनोजले ती व्यक्तिले भनेअनुसार नेपालका विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाए । ती अमेरिकीले क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरूलाई उनीहरूको बैंक खातामा आफूले रकम जम्मा गरिदिने र त्यसबापत आफूलाई भनेअनुसारको क्रिप्टो दिनुपर्ने बताएका थिए । सनोजले विभिन्न १० नेपालीको बैंक खातामा पटक–पटक गरेर करिब २० लाख रुपैयाँ जम्मा गरिदिए । तीमध्ये तीन जना थिए, शुक्रबार पक्राउ परेका राजन, विशाल र दिपेन ।

Inside Article Ads

यी तीनै जनाले आफ्नो खातामा रकम जम्मा भएपछि अमेरिकी नागरिकलाई क्रिप्टोकरेन्सी बेचे । आफूले जम्मा गरेको रकमबाट अमेरिकीले क्रिप्टोकरेन्सी किनेकोबारे त सनोज अनविज्ञ नै थिए । रकम पठाएपछि पनि भनेअनुसार काम नभएपछि सनोज महानगरीय अपराध महाशाखामा ठगीको उजुरी लिएर पुगे । प्रहरीले रकम दाखिला भएका बैंक खातावालामाथि अनुसन्धानको क्रममा तीन जनालाई पक्राउ गर्‍यो । त्यसपछि बल्ल खुल्यो– राष्ट्र बैंकले गैरकानुनी ठहर गरेको क्रिप्टोकरेन्सीको कारोबारमा तीनै जनाको संलग्नता । अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला पछिल्ला दिन महाशाखामा आएका ठगीका कैयन् घटनाको अन्तर्यमा क्रिप्टोकरेन्सीको कारोबार जोडिएको देखिनु चिन्ताको विषय भएको बताए । उनले भने, ‘झट्ट हेर्दा ठगीको उजुरी देखिन्छ तर खोतल्दै जाँदा क्रिप्टोकरेन्सीको कारोबार जेलिन्छ ।’ उनले हुन्डीको रकम पठाउनेहरूले वा विदेशमा रोजगारी मिलाइदिने आशामा ठग्नेहरूले ठगेको रकम सोझै नलगेर दोस्रो व्यक्तिलाई पनि झुक्याउँदै क्रिप्टोकरेन्सी किनेर लगेको देखिन्छ ।

‘म यसरी ठगिएँ’

अंग्रेजी विषयमा स्नातक गरेर म स्थानीय बोर्डिङ स्कुलमा पढाउँदै थिएँ । एक दिन फेसबुकमा अमेरिकामा क्रुजमा रोजगारीका अवसर रहेको विज्ञापन देखें । उक्त विज्ञापनमा एउटा लिंक थियो । त्यसलाई क्लिक गरेपछि आफूलाई अमेरिकी नागरिक बताउने र नाम क्याप्टेन एलेक्स स्केला नाम गरेका व्यक्तिको ह्वाटसएपसँग जोडिँदो रहेछ । क्याप्टेन एलेक्सले तीन वर्षको भिसा लगाइदिने र मासिक ६ हजार अमेरिकी डलर तलब हुने प्रशासनिक अफिसरको काम मिलाइदिने बताए । यो कामबापत करिब २० लाख रुपैयाँ लाग्ने उनले बताए । सुरुमा त मलाई उनको कुरामा शंका लाग्यो । क्याप्टेन एलेक्सले नेपालका साथीहरूसँग कुरा गर्नु भन्दै केही ह्वाट्स एप नम्बरहरू दिए । म निर्मला मत, कौशिला भुजेल, सर्लाही घर बताउने प्रकाश दाहाल र रूपन्देही घर बताउने वीरमाला मगरसँगको सम्पर्कमा पुगें । ती सबैले अमेरिकाको काम राम्रो भएको र शंका नगरी प्रक्रिया चाल्दा हुने बताएर मलाई आश्वस्त तुल्याए । नेपालकै साथीहरूले पनि सिफारिस गरेपछि मैले प्रक्रिया अगाडि बढाएँ । क्याप्टेन एलेक्सले नेपालका विभिन्न मान्छेको अकाउन्ट नम्बर दिएर ती बैंक खाताहरूमा पैसा डिपोजिट गर्न भने ।

उनले भनेअनुसार मैले विभिन्न ८ जनाको खातामा पटक–पटक गरेर १९ लाख ८३ हजार रुपैयाँ डिपोजिट गरिदिए । त्यसपछि क्याप्टेन एलेक्सले अब तिम्रो भिसाका लागि अमेरिकाबाट सबै कागजात नेपालको अमेरिकन दूतावासमा पठाइदिन्छौं तर त्यसका लागि थप १२ हजार डलर तिर्नुपर्ने बताए । एलेक्सले यस्तो भनेपछि म झस्किएँ । म त ठगीमा पो परें कि भन्ने आशंका लाग्यो । मैले एलेक्सले भनेका नेपाली मान्छेहरूसँग सम्पर्क गर्ने कोसिस गरें तर ती सबैले मलाई ह्वाट्सएपमा ब्लक गरिदिएका रहेछन् । त्यसपछि मैले काठमाडौंस्थित अमेरिकी दूतावासमा यो सबै कुरा बताएँ । दूतावासका मान्छेले मलाई यो ठगी भएको हुन सक्ने र यसरी अमेरिका जाने भिसा नपाइने बताए । त्यसपछि म ठगीमा परेको पक्का भयो । मैले महानगरीय अपराध महाशाखामा पुगेर घटनाबारे उजुरी दिए । प्रहरीले भनेपछि पो थाहा पाएँ, मैले रकम डिपोजिट गरेको खातावालाहरू क्रिप्टोकरेन्सी किनबेच गर्ने कारोबारी पो रहेछन् । मैले डिपोजिट गरेको रकमबाट एलेक्सले क्रिप्टोकरेन्सी किनेका रहेछन् । मैले १० कट्ठा खेत स्थानीय व्यक्तिका नाममा राखेर २४ प्रतिशत ब्याजदरमा कर्जा लिएर पैसा जुटाएको थिएँ । यसरी पनि ठगी हुँदो रहेछ भन्ने थाहा पाउँदा म बिचल्लीमा परिसकेको थिएँ ।

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.