Fast Nepal News

‘गुटविरोधी’ कै गुटगत बैठक

banner single news

काठमाडौँ — २२ पुस २०७८

काठमाडौँ , कांग्रेस पार्टीभित्र गुटबन्दीको विरोध गर्दै आएका नेता शेखर कोइरालाले महाधिवेशन सकिएको एक महिना नबित्दै समूह (गुट) को बैठक गरेका छन् । राजधानीमा बुधबार आयोजित बैठकमा सहभागी नेताहरूले पार्टीमा ‘न्यायोचित भागबन्डा’ हुनुपर्ने आवाजसमेत उठाएका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित कोइरालाले आफ्नो समूहको रणनीति तय र निर्वाचनको समीक्षा गर्न बैठक गरेका थिए । बैठकमा महाधिवेशन तथा प्रदेश अधिवेशनमा उम्मेदवार बनेका र अन्यसमेत गरी करिब २ सय नेता सहभागी थिए । बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसमितिमा मनोनयनदेखि राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी तय गर्दासम्मका दृश्यले आफूहरूलाई सोच्न बाध्य पारेको बताए । ‘हामी गुटभन्दा पनि पार्टीभित्र रूपान्तरणकारी वैचारिक समूहका रूपमा अघि बढ्न खोजिरहेका छौं,’ उनले भने, ‘निर्वाचनमा मत विभाजन भए पनि मन विभाजन हुनुहुन्न, पार्टीलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ भन्ने सन्देश नेतृत्वलाई दिन बैठक गरिएको हो ।’

बैठकमा बोल्ने अधिकांश नेताहरूले निर्वाचनमा ४० प्रतिशत मत ल्याएको कोइराला समूहलाई पेलेर अघि बढ्ने रणनीतिमा सभापति देउवा देखिएका बताएका थिए । शेखरको नेतृत्वमा ‘कोइराला समूह’ लाई सशक्त बनाउनुपर्ने उनीहरूको भनाइ थियो । ‘अब पनि नेताहरूले भागबन्डा चाहिन्न भनेर हुँदैन, बरु पार्टीभित्र अवसरको न्यायोचित भागबन्डा हुनुपर्छ भन्ने आवाज चर्कोसँग उठ्यो,’ कर्णाली प्रदेश सभापतिका उम्मेदवार भूपेन्द्रजंग शाहीले भने, ‘पार्टीभित्र गुटबन्दी गर्दैनौं र भागबन्डा पनि चाहिन्न भन्दै बसियो भने नेतृत्वबाट थप अन्याय हुने चिन्ता साथीहरूको थियो ।’ सहभागी नेताले कोइरालाको वरीयताबारे पनि प्रश्न उठाएका थिए । महामन्त्री गगन थापाले अहिल्यै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै पार्टीभित्र संघर्ष र सहकार्य गर्ने बताएका थिए । सुरुमै विरोधमा जान नहुने उनको भनाइ थियो । ‘चुनाव जितेका साथीहरूको फूलमाला लगाउने पालो अझै सकिएको छैन, यति छिट्टै आत्तिइहाल्नु पर्दैन,’ उनले भनेका थिए, ‘नेतृत्वले चाहेर पनि एउटा समूहलाई बाहिर राखेर एकलौटी गर्न सक्ने अवस्था छैन, पार्टीलाई सही बाटोमा हिँडाउन हामी संघर्ष गर्छौं ।’

उपसभापति धनराज गुरुङले कोइराला नेतृत्वको समूहलाई संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । ‘हामी केन्द्रीय समितिभित्र महत्त्वपूर्ण जिम्मेवारीमा छौं, हाम्रो समूह अवसरबाट वञ्चित हुने छैन,’ उनको भनाइ थियो, ‘समूहका साथीहरूलाई अवसर दिने र संरक्षण गर्नेमा हाम्रोतर्फबाट कुनै कसर बाँकी रहने छैन ।’ एक नेताका अनुसार केही दिनभित्रै कोइरालालाई प्रमुख अतिथि बनाएर समूहका तर्फबाट कार्यक्रम गर्ने तय भएको छ । उक्त कार्यक्रममा उपसभापति धनराज गुरुङ र महामन्त्री थापालाई विशिष्ट अतिथिका रूपमा राखिनेछ । ‘त्यति भइसकेपछि पार्टीमा उहाँ (कोइराला) को वरीयता कहाँ छ भन्ने स्वतः स्थापित हुनेछ,’ ती नेताले भने, ‘उहाँ हाम्रो समूहको मात्र होइन, पार्टीकै वरिष्ठ नेता हो । त्यहीअनुसार व्यवहार हुनुपर्छ ।’ सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनयन गर्दा कोइराला समूहका एक जना पनि परेका छैनन् ।

सभापति, उपसभापति र महामन्त्रीमा पराजित पूर्वकेन्द्रीय कार्य समितिका सबै जना मनोनीत हुँदा कोइराला समूहबाट उपसभापतिमा पराजित चन्द्र भण्डारी र महामन्त्रीमा पराजित मीनेन्द्र रिजाललाई देउवाले मनोनयन गरेका छैनन् । पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा ६ जनालाई उम्मेदवार बनाउँदासमेत कोइराला समूहलाई बेवास्ता गरिएको छ । बरु देउवाले पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुन्न थालेका छन् । ‘केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने अधिकार सभापतिको हो, तर अर्को पक्षलाई नजरअन्दाज गर्ने छुट उहाँलाई छैन,’ केन्द्रीय सदस्य केसीले भने, ‘राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार तय गर्दासमेत विधि र प्रक्रिया मिचिएको छ ।’ कांग्रेसमा स्थापनाकाल (२००३ साल) देखि नै गुटबन्दी भएको इतिहास छ । स्थापनाकालको नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष टंकप्रसाद आचार्य जेलमा रहँदा बीपी कोइरालाले कार्यवाहक जिम्मेवारी पाएका थिए । बीपी पनि जेलमा परेपछि डिल्लीरमण रेग्मी कार्यवाहक भए । बीपी जेलबाट छुटेपछि पनि रेग्मीले कार्यवाहकको पद छाड्न मानेनन् । रेग्मीले आफ्नो जीवनकालभरि नेपाली राष्ट्रिय कांग्रेसको अध्यक्षका रूपमा आफूलाई कायम राखे । २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशमशेर राणा नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेस बन्यो ।

Inside Article Ads

त्यसपछि पनि बीपी, सुवर्णशमशेर र मातृकाप्रसाद कोइरालाका अलग–अलग समूह बने । ती समूहबीच दृष्टिकोण र विचारमा बहस भए पनि व्यक्तिवादी गुटबन्दी थिएन । २०१७ सालपछि पनि कांग्रेसमा दुई धार देखिएको थियो । बीपी जेलमा रहेका बेला सुवर्णशमशेरले विदेशमा बसेर सशस्त्र आन्दोलन सुरु गरे । गिरिजाप्रसाद कोइराला र सरोज कोइरालाले उक्त आन्दोलनको विरोध गरे । बीपीले मेलमिलापको नीति लिएपछि र उनको देहान्तपछि पनि कांग्रेसमा वैचारिक मतभिन्नता जारी रह्यो । २०४६ सालको परिवर्तनपछि भने गुटहरूको रूप भिन्न हुन थाल्यो । कोइराला समूहको नेतृत्व गिरिजाप्रसादले गरे भने अर्कातिर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई रहे । पार्टीभित्र भट्टराई र सिंहको निष्क्रियतासँगै शेरबहादुर देउवाको उदय भयो । उनले पोखरामा सम्पन्न १० औं महाधिवेशनमा तत्कालीन सभापति गिरिजाप्रसादविरुद्ध उम्मेदवारी दिए । कोइरालासँगको टकरावकै कारण २०५९ मा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरे । त्यसको करिब ५ वर्षपछि ४० प्रतिशत हिस्सासहित पुनः नेपाली कांग्रेससँग पार्टी एकता गरे । पार्टी एकीकरणपछि कांग्रेसमा पुनः कोइराला र देउवा समूहबीच अन्तरसंघर्ष भयो ।

२०६७ मा सम्पन्न १२ औं महाधिवेशनमा सुशील कोइरालासँग देउवा सभापतिमा पराजित भए । २०७२ मा सम्पन्न १३ औं महाधिवेशनमा भने रामचन्द्र पौडेल समूहको उदय भयो । सभापतिमा देउवासँग पराजित उनको समूहमा शेखरका साथै शशांक कोइराला, प्रकाशमान सिंह थिए । हालै सम्पन्न महाधिवेशनमा पौडेल निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि भने शेखरको नेतृत्वमा समूह बनेको हो । ‘स्वाभाविक रूपमा अब कोइराला परिवार (समूह) को लिगेसीको नेतृत्व शेखरले गर्नुभएको छ,’ युवा नेता शाहीले भने, ‘१३ औं महाधिवेशनपछि ओझेलमा परेको कोइराला समूहको पुनरोदय भएको छ, रामचन्द्र (पौडेल) दाइले केही वर्षसम्म समूहको नेतृत्व गर्नुभए पनि अब त्यसको नेतृत्व गर्ने दायित्व शेखर दाइमा आएको छ ।’

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.