Fast Nepal News

पढाइ छाडेर बालबालिका भारतमा

banner single news

अछाम — १८ पुस २०७८

अछाम , आर्थिक अवस्था कमजोर भएका कारण कामको खोजीमा भारत जानु अछामका पुरुषहरूको बाध्यताजस्तै छ । अछामका विभिन्न गाउबस्तीका पुरुषहरू भारतमा गएर पैसा कमाउने र महिला गाउँमा बसेरे खेतीपातीको काम गर्ने र छोराछोरी पढाउने गर्छन् । भारतकै कमाइले उनीहरूको घरखर्च चल्दै आएको छ । उसो त सबै स्थानीय तहका गाउँबस्तीबाट अधिकांश पुरुषहरू बर्सेनि कामको खोजीमा भारत जाने गरेका हुन् । तर सदरमुकाम मंगलसेन नगरपालिकाकै एक दुर्गम बस्तीका महिला, बालबालिका र पुरुष सबै भारतमा छन् । साविकको कुन्तीबन्डाली गाविस अहिले मंगलसेन नगरपालिका वडा नम्बर १ मा पर्ने लेस्टिगाडका दमाई समुदायको १८ घरधुरीका पुरुषसंँगै महिला र बालबालिका पनि भारत गइसकेका छन् । दलित टोलका करिब १८ परिवारका बालबालिकासहित महिला दसैं सकिएलगत्तै भारत पसेका हुन् । लेस्टिगाडको नेपालीबाडाका ९० जनाभन्दा बढी बालबालिका आमा बुवासँगै भारत गएको उक्त गाउँमा रहेको प्रगतिशील आधारभूत विद्यालयकी प्रधानाध्यापक चन्द्रकला विष्टले बताइन् ।

‘यो बस्तीमा पहिले कुनै विद्यालय थिएन, पढ्नुपर्छ भन्ने मानसिकता पनि थिएन । २०६४ मा बालविकास केन्द्रको स्थापना भएपछि यहाँ कक्षा ४ सम्म पढाइ हुन थालेको हो’ प्रधानाध्यापक विष्टले भनिन्, ‘ विद्यालय भर्नाका लागि घरदैलो अभियान गर्छौ । अभियानको बेला यहि दलित टोललाई बढी प्राथामिकतामा राखेका हुन्छौं । विद्यार्थी भर्ना गर्छौ । तर निकै मेहेनत गरेर अलिअलि अक्षर चिन्ने भएपछि अभिभावकले बम्बै लैजान्छौं भनेर उठाएर लग्छन् । त्यो बेला दुःख लाग्छ ।’ सदरमुकाम मंगलसेनबाट करिब ४ घण्टा टाढाको पैदल दुरीमा रहेको लेष्टिगाड गाउँमा थापा, राना, विक, दमाई जातीको बसोबास छ । गैरदलित भन्दा दलित परिवारमा अझै पढ्नुपर्छ भन्ने चेत नभएको प्रधानाध्यापक विष्ट बताउछिन् । ‘दमाई समुदायका १८ जति घरधुरी छन् । ति घरका कुनै पनि बालबालिकाले पढेका छैनन् । न त उनीहरूलाई बम्बै लैजाने बेला रोक्न सक्ने भए हुन्थ्यो । तिनीहरूको भविष्य बिग्रन थालेकोमा साह्रै चिन्ता लाग्छ ।’

कोरोना भाइरसको संक्रमणका कारण भारतमा भएका सबै लेष्टिगाडका स्थानीय घर आएको बेला बालाबलिका सबैलाई विद्यालय भर्ना गरिएको स्थानीय गोमान ढोलीले बताए । गोमानले भने, ‘पढाइ मात्रै होइन भविष्य नै बिग्रने डर छ तर यहाँ राख्दा भोकमरीको डर छ ।’ गोमानका अनुसार उनको टोलमा कुनै पनि पढेलेखेका मान्छे छैनन् । अगुवाइ गर्ने मान्छेसमेत नभएको उनको भनाइ छ । विद्यालय भर्ना अभियानका बखत दमाइ समुदायका बालबालिका विद्यालय बाहिर रहेको जानकारीमा आएकाले लगत्तै नगरपालिकाको टिमसमेत गएर विद्यालय जाने वातवरण तयार गर्न घरदैलो र जनचेतना जगाउने गरेको मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावल बताउछन् । ‘यसअघि यति धेरै बालबालिकालाई अभिभावकले भारत लगेको जानकारी हामीले पाएका थिएनौं । अब त्यो समुदायका मान्छेलाई प्राथामिकतामा राखेर अभियान संञ्चालन गछौं’ उनले भने । लेष्टिगाड एउटा प्रतिनिधि गाउँ मात्रै हो । जिल्लाका धेरै बालबालिकाले बीचैमा पढाइ छोड्ने गरेका छन् ।
२०६२ बैशाखमा कक्षा १ मा जम्मा ३० हजार ८ सय ७३ विद्यार्थी भर्ना भए । त्यो बर्ष कक्षा १ मा भर्ना भएका विद्यार्थीले १० बर्षपछि अर्थात २०७१ मा एसएलसी परीक्षा दिँदा सम्म भने करिव सात गुणा भन्दा बढी विद्यार्थी बीचमै हराए । ३० हजार ८ सयबाट विद्यार्थी हराउँदै एसइइ दिँदासम्म जम्मा ४ हजार मात्र भए । त्यो बर्ष मात्र यतिको संख्यामा विद्यार्थी हराएका होइनन्, कक्षा १ मा भर्ना भएकामध्ये एसएलसी दिने बेलासम्म सात/आठ गुणा बढी विद्यार्थी बीचमै हराउने गर्छन् । शिक्षा विकास तथा समन्वय इकाइ अछामको गत वर्षको तथ्यांक अनुसार कक्षा दोहोर्‍याउने विद्यार्थीको संख्या २२ दशमलव १३ प्रतिशत छ । कक्षा छोड्ने दर १९ दशमलव ७ प्रतिशत छ । उर्त्तिण भएर माथिल्लो कक्षामा जाने विद्यार्थीको संख्या ५८ दशमलव २९ प्रतिशत मात्र छ ।  
Inside Article Ads

तथ्यांक अनुसार प्राथमिक तहमा रहेका कुल विद्यार्थीमध्ये ३६ दशमलव ५३ प्रतिशत विद्यार्थी मात्र निमावि तहमा पुग्ने गर्छन् । निमावि तहमा रहेका पनि सबै विद्यार्थी मावि तहमा पुग्दैनन् ।  अछाममा प्रायः पुरुष भारत जाने हुँदा महिलालाई घरयासी कामको बोझले छोराछोरीको पढाईमा ध्यान पुर्‍याउन कठिन छ । ‘कतिपय बालबालिका भारत जाने गरेकाले पनि पढाई छोड्ने संख्या बढिरहेको छ’ प्रगतिशिल आधारभुत विद्यालयका शिक्षक दिल बहादुर ओलीले भने ‘एक पटक भारतमा पैसा कमाउन गएको बालक पछि आएर पढाई सूचारु गर्ने सम्भावना ज्यादै कम हुने भएकाले पनि विद्यार्थी हराउने संख्या बढेको छ ।’

( कान्तिपुर दैनिक )

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.