
कञ्चनपुर — १३ पुस २०७८
कञ्चनपुर , बाँसका भाटाको भरमा पाल टाँगिएको छ । वरिपरि खुल्ला छ । मध्य पुसको कठ्यांग्रिँदो जाडोमा पनि त्यही पालमुनि कोच्चिएर पूरै परिवार सुत्नुको विकल्प छैन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० बनहरा नदी किनारमा बसोबास गर्ने कमला रावतको परिवार अढाई महिनादेखि यसैगरी बसिरहेको छ । कात्तिक पहिलो साताको बेमौसमी वर्षासँगै बनहरा नदीमा आएको बाढीले किनारमै रहेको झुपडी बगाइदिएपछि उनको परिवार पालमा बस्न बाध्य भएको हो । ‘राति चिसोले लगलग काँप्दै सबै एकै ठाउँमा कोच्चिएर सुत्छौं,’ रावतले भनिन्, ‘चिसोले रातभरि सुत्नै सकिँदैन, अति चिसो भए आगो फुकेर ताप्छौं ।’ उनका ५ छोराछोरी छन् । तीमध्ये ३ बाजेबज्यैसँग बस्छन् । २ साना छोराछोरी र रावत दम्पती पालमुनि नै बस्छन् । रावत परिवार बाजुराको बाह्रबिसबाट विस्थापित भएर सुरुमा भारतको दिल्ली पुग्यो । केही वर्ष मजदुरी गरेर फर्किएपछि परिवारै बनहरा किनारमा झुपडी बनाई बस्न थालेको थियो । कमलाको विवाह पनि दिल्लीमै भएको हो । उनको माइत प्यूठान हो । माइती परिवार पनि रोजगारीकै लागि दिल्ली गएका बेला बलबहादुरसँग उनको विवाह भएको हो ।
नदीले टहरो बगाएपछि उनले सानो छाप्रो बनाएकी छन् । चारैतिर बनमाराको बार लगाएर च्यातिएको प्लास्टिकले छाएकी छन् । ‘छोराहरू सबै काम खोज्दै अन्त गए, म एक्लै यहाँ रहें,’ दमाईंले भनिन्, ‘अब यहाँबाट कहाँ जाऊँ ?’ ४ छोरामध्ये जेठो दनरामको भारतको बेङ्लोरमा सडक दुर्घटनामा परेर मेरुदण्ड भाँचिएको छ । उनको तीन वर्षदेखि बेङलोरमै उपचार भइरहेको छ । अन्य छोराहरू मजदुरीका लागि कञ्चनपुरकै विभिन्न ठाउँमा परिवारसहित बसोबास गरिरहेका छन् । उनीहरू खेतीपातीका बेला गोरु जोत्नेदेखि घर निर्माणको काममा मजदुरी गर्छन् । बनहरा किनारमा बसोबास गर्नेहरू पछिल्लो पटक भूमिसम्बन्धी समस्या समाधान आयोगले निवेदन माग गर्दा निकै खुसी भए । सबैले निवेदन पनि दिए । जग्गाधनी पुर्जा वितरण हुन्छ भन्ने आश्वासन पाएका थिए । तर आयोग विघटन भएपछि जग्गा पाइनेमा उनीहरू विश्वस्त छैनन् । ‘आयोग खुल्छन्, निवेदन माग्छन्, पुर्जा दिने बेला बन्द हुन्छन्,’ २० वर्षदेखि बनहरा नदी किनारमा बसोबास गर्दै आएका दलबहादुर बोहराले भने, ‘फेरि आयोग गठन हुने कुरा त सुन्यौं तर हामीले फेरि निवेदन दिनुपर्ने हो कि पुरानै मान्य हुने हो ?’
( कान्तिपुर दैनिक )
