
भक्तपुर — ५ पुस २०७८
भक्तपुर , २०५१ सालमा घर बनाउँदा ललितपुर महानगरपालिका–२५ प्रगतिनगरकी ७३ वर्षीया हरिमाया महर्जनले ख्वयना हिटी (ढुंगेधारा) कै पानी प्रयोग गरिन् । पिउने पानीका लागि पनि यही ढुंगेधारा नै प्रयोग हुन्थ्यो । प्रगतिनगरकै शोभाका रूपमा रहेको मल्लकालीन ढुंगेधाराले त्यसबेला धेरैको तिर्खा मेटायो, मैलो पखाल्यो । तर नख्खु–भैंसेपाटी सडक विस्तारको चेपुवामा परेको यो ऐतिहासिक ढुंगेधारा अहिले भने संरक्षण अभावमा आफैं तिर्खाएको छ । ‘हिउँद वर्षा बाह्रैमास पानी आइराख्थ्यो । सडक खनेपछि ढुंगेधारा सुक्यो,’ महर्जनले भनिन्, ‘सडक फराकिलो बनाउने नाममा अहिले ढुंगेधारा पुरिन थालेको छ ।’ सडक विस्तारकै क्रममा ढुंगेधाराको शिरको मूर्ति हराइसकेको छ । अहिले मूर्तिको आसनमा ढुंगा राखेर स्थानीयले पूजा गर्दै आएका छन् । नख्खु–भैंसेपाटी सडक विस्तार गरेर ४ लेन बनाउने क्रममा सडकको पर्खाल ढुंगेधारासँगै जोडिन आइपुगेको छ । सम्पदा संरक्षण अभियानकर्ताहरूले ख्वयना हिटी संरक्षण गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन् । ‘विकासका नाममा पुरातात्त्विक सम्पदा लोप हुने अवस्था आउनु भएन । हाम्रो पहिचानसँग जोडिएको मल्लकालीन हिटी जोगाउनुपर्यो,’ सम्पदा संरक्षण अभियानकर्मी यादवलाल कायस्थले भने ।
सडक विस्तारका लागि संरचना खन्ने क्रममा ढुंगेधाराको पानीको स्रोत गुमेको दाबी गर्छन्, ललितपुर–२५ का वडाध्यक्ष विष्णुकुमार कार्की । ‘सडक खन्ने क्रममा ढुंगेधारा सुक्यो तर ढुंगेधारामा पानी ल्याइएको माटोको पुरातात्त्विक डोर भेटिएको छ । श्री ३ उल्लेख भएका इँटाहरू भेटिएका छन्,’ उनले भने, ‘ढुंगेधारा कहिले बन्यो, यसको मुहान कहाँ थियो र पानीको स्रोत कसरी जुटाउन सकिन्छ भन्नेबारे अध्ययन हुन सकेको छैन ।’ यो ढुंगेधाराको महिमा मछिन्द्रनाथको जात्रासँग समेत जोडिएको उनको भनाइ छ । ‘अहिले पनि जात्रा, विवाहलगायत कार्यमा ढुंगेधारा परिसरमा बाजा बजाउन रोकिन्छ । बाजा बजाउनु हुन्न भन्ने मान्यता छ,’ उनले भने, ‘ढुंगेधारामा बहिरो नाग छ र त्यहाँ बाजा बजाउन हुँदैन भन्ने मान्यता अझै छ ।’ एक समय मछिन्द्रनाथको रथयात्राका क्रममा ढुंगेधाराको छेवैमा पुगेर बाजा बजाउँदा रथ भाँचिएको भन्ने कथन रहेको र अझै त्यस क्षेत्रमा रथका मक्किएका काठका टुक्राहरूसमेत भेट्न सकिने उनले दाबी गरे । ‘गनाउने धारा’ को नामले समेत परिचित ख्वयना हिटी पूर्वाभिमुख (पूर्व फर्केको) दुर्लभ ढुंगेधारा हो । इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार लोकजीवनमा पूर्वाभिमुख ढुंगेधारा अति नै दुर्लभ र पवित्र मानिन्छ । प्रत्येक वर्ष जनैपूर्णिमाका दिन क्वाँटी खाने र पूर्व फर्केको धारामा स्नान गर्दा मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता अझै छ । सोही भनाइअनुरूप काठमाडौं, भक्तपुर र ललितपुरमा मल्लकाल र त्यसअघि नै पूर्वाभिमुख ढुंगेधाराहरू निर्माण गरेको पाइएको इतिहासविद् श्रेष्ठ बताउँछन् ।
उपत्यकामा पश्चिमाभिमुख ढुंगेधारा धेरै छन् । दक्षिणाभिमुख ढुंगेधारा पितृ कार्यका लागि प्रयोग गरिने र पूर्वाभिमुख ढुंगेधारालाई पवित्र र दुर्लभ मानिने श्रेष्ठको भनाइ छ । ‘पछिल्लो समय सडक विस्तारका नाममा होस् वा बस्ती विकासकै नाममा पनि सम्पदामाथिको अतिक्रमण बढेको छ,’ उनले भने । नख्खु–भैंसेपाटी सडक विस्तार गरिरहेको काठमाडौं उपत्यका सडक विस्तार कार्यालयले भने मल्लकालीन ढुंगेधारा मास्ने कुनै मनसाय नभएको र संरक्षणका लागि स्थानीय तह, पुरातत्त्व विभागलगायतसँग छलफल भइरहेको जनाएको छ । ‘पुरातात्त्विक सम्पदा जोगाउने जिम्मेवारी हामी सबैको हो । ढुंगेधारा मास्ने अधिकार हामीलाई छैन,’ कार्यालय प्रमुख दीपेन्द्र पाण्डेले भने, ‘मल्लकालीन ढुंगेधारा संरक्षण गर्न स्थानीय तहसँग पहल भइरहेको छ ।’ ललितपुर–२५ कार्यालयले पुरातत्त्व विभागसँगको समन्वयमा उक्त संकटग्रस्त ढुंगेधारा संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । ‘मल्लकालीन ढुंगेधारा संरक्षण/जीर्णोद्धार तथा पानी खसाल्नका लागि स्रोत खोज्ने योजना बनिरहेको छ,’ वडाध्यक्ष कार्कीले भने, ‘संरचना पुनर्निर्माणसँगै ढुंगेधारामा पानी ल्याउन चुनौती थपिएको छ ।’ ढुंगेधारामा पानी ल्याएको माटोको पुरातात्त्विक डोर भेटिए पनि स्रोत पत्ता नलागेको उनले बताए ।
( कान्तिपुर दैनिक )
