Fast Nepal News
Banner Below header

कतारको रोजगारी : पोस्टमार्टम न क्षतिपूर्ति

banner single news

काठमाडौँ — ७ मंसिर २०७८

काठमाडौँ , प्राकृतिक र हृदयाघात (सुतेको सुत्यै) कारण मृत्यु भएका नेपाली श्रमिकको पोस्टमार्टमका लागि परिवारबाट सहमति चाहिने भए पनि त्यो लिन कठिन भएको कतार सरकारले जनाएको छ । कतार सरकारको समन्वयमा त्यहाँस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा गत शुक्रबार सार्वजनिक ‘तापको दबाब र व्यवसायजन्य घाइते’ को विवरण र विश्लेषणसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनले मृतक श्रमिकको पोस्टमार्टमका लागि परिवारको सहमति लिनुपर्ने भए पनि लिन कठिन भएको उल्लेख छ । त्यस्तै पोस्टमार्टम नहुँदा श्रमिकको मृत्युको कारण नखुलेको र त्यसबाट परिवारजनले पाउने क्षतिपूर्ति सुनिश्चित हुन नसकेको समेत प्रतिवेदनले उजागर गरेको छ । प्रतिवेदनले त्यस्तो भने पनि मृतक नेपाली कामदारका परिवारले भने पोस्टमार्टमका लागि कतार सरकार न रोजगारदाता कम्पनी कसैले पनि सहमतिका लागि सम्पर्क नगरेको दाबी गरेका छन् । मृत्यु भएका नेपाली श्रमिकको पोस्टमार्टम नहुँदा उनीहरूको मृत्यु कारण खुलेको छैन भने ती श्रमिकका परिवार क्षतिपूर्तिबाट समेत वञ्चित छन् । प्रतिवेदनमा पोस्टमार्टमका लागि नेपाली श्रमिकका परिवारको अनुमति आवश्यक भएको औंल्याइए पनि कतारी निकाय वा रोजगारदाता कम्पनीले माग्ने गरेको देखिँदैन । यस सम्बन्धमा नेपाली दूतावासलाई समेत कुनै औपचारिक जानकारी छैन । ‘प्राकृतिक वा हृदयाघात भई मृत्यु भएका श्रमिकको आफन्तको अनुमति माग्ने गरेको छैन । सायद यो सम्भव नभएर पनि होला,’ कतारका लागि नेपाली एक पूर्वराजदूतले भने, ‘हामीले यसबारे भने धेरैपटक अनुरोध गरेका छौं ।’

मृतकका परिवार त आफूहरूले पोस्टमार्टम गर्न चाहे पनि सहयोग नपाएको गुनासो गर्छन् । रोल्पाको लुंग्री गाउँपालिका–७ का ३३ वर्षीय तुलबहादुर घर्तीको हृदयाघातबाट मृत्यु भएको थियो । उनकी पत्नी विपना घर्तीले श्रीमान्को शव पोस्टमार्टमका लागि कसैले नसोधेको बताइन् । ‘कतारमा गाउँका मान्छे थियो । पोस्टमार्टम गर्न उसलाई सम्पर्क गरेर सोधेको थिएँ, हुँदैन भन्यो । यसको पछाडि नलाग भनेर सबैले मलाई सम्झाउन लागे,’ उनले कान्तिपुरसँग भनिन्, ‘खोजतलास गर्ने मेरो चाहना थियो । अरूले आफ्नो नेपालमा त केही गर्न सकिँदैन, विदेशमा त झन् के गर्न सकिन्छ भनेर उल्टो मलाई गाली गरे । पोस्टमार्टमका लागि कसैले ध्यान नै दिएनन् ।’ १५ जेठ २०७७ को राति सुतेको बेला तुलबहादुरको मृत्यु भएको थियो । शवसँगै आएको मेडिकल रिपोर्टमा मृत्युको कारण ‘प्राकृतिक कारणले मुटु र फोक्सोले काम नगरेको’ भनेर उल्लेख गरिएको छ । त्यतिबेला उनी ३९ डिग्री सेल्सियससम्मको तापक्रममा तार काट्ने काम गर्थे । ‘एकपटक पनि उहाँ बिरामी पर्नुभएको कहिल्यै सुनेको थिइनँ । एक्कासि मृत्यु भएको खबर सुन्दा कसरी विश्वास गर्नु ?,’ विपनाले भनिन्, ‘कम्पनीको मान्छेले हृदयाघात भई मरेको र ड्युटीमा नभई क्याम्पमै मरेको हुनाले कम्पनीले कुनै क्षतिपूर्ति नदिने नियम रहेको सुनायो । कम्पनीले तलब र बोनसबापत ३१ सय रियाल र काजकिरिया गर्न १५ सय रियाल पठाइदियो ।’

दोहास्थित नेपाली दूतावासका अनुसार सन् २०१० यता पछिल्लो एक दशकको अवधिमा १८ सय ८४ जना नेपाली श्रमिकको मृत्यु भएको थियो । त्यसमध्ये ८ सय ९४ अर्थात् ४७.४५ प्रतिशतको मृत्युमा कारण प्राकृतिक र हृदयाघात रहेको रिपोर्टमा उल्लेख छन् । यसरी मृत्यु हुनेहरू अधिकांश क्याम्पमै सुतिरहेको अवस्थामा भेटिने गरेको छ । बितेको एक दशकमा कार्यस्थलमा मृत्यु हुने नेपालीको संख्या १ सय ८४ छ । कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ को एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको पत्ता लागेको उल्लेख गरेको छ । सन् २००९–२०१७ को अवधिमा भएको ५ सय ७१ नेपाली अप्रवासी श्रमिकहरूको मुटुको समस्याको कारणले भएको थियो । २ सय जना जतिलाई बचाउन सकिन्थ्यो भन्ने उक्त अध्ययनको निष्कर्ष थियो । कतारको कानुनअनुसार आपराधिक घटनामा मारिएको अवस्थामा मात्रै पोस्टमार्टम गर्न आदेश छ । मृत्युको कारण नखुलेको अवस्थामा पोस्टमार्टम गर्न मृतकका परिवारबाट स्वीकृति लिनैपर्छ ।

Inside Article Ads

शवको पोस्टमार्टम नहुँदा स्थानीय अस्पतालले प्राकृतिक र हृदयाघातका कारणले मृत्यु भएको प्रमाणपत्र जारी गर्ने गरेका छन् । जसले गर्दा मृतक श्रमिकका परिवार क्षतिपूर्तिबाट वञ्चित छन् । कतारको श्रम कानुनमा प्राकृतिक कारणबाट भएको मृत्युमा क्षतिपूर्ति दिन पर्ने बाध्यकारी व्यवस्था छैन । त्यहाँको श्रम कानुनमा सडक र कार्यस्थल दुर्घटनामा मृत्यु वा घाइतेकालाई मात्र क्षतिपूर्ति दिने व्यवस्था छ । कतारमा कार्यस्थलमा ज्यान जाने श्रमिकका परिवारले कम्तीमा २ लाख रियाल (झन्डै ६४ लाख रुपैयाँ) क्षतिपूर्ति पाउँछन् । युवा उमेर समूहका श्रमिकहरू प्राकृतिक र हृदयाघातका कारण मृत्यु भइरहेको विवरण सार्वजनिक भएपछि कतारमाथि तापको दबाब (हिट स्ट्रेस) वा कामसँग सम्बन्धित कारणमध्ये कुन कारणले श्रमिकको मृत्यु भएको पत्ता लगाउन पोस्टमार्टम गर्न अन्तर्राष्ट्रिय दबाब छ । ‘ठूलो संख्यामा श्रमिकको मृत्यु अत्यधिक गर्मी वा कामसँग सम्बन्धित कारणले त्यो छुट्याउन निकै चुनौतीपूर्ण देखिएको छ,’ आईएलओको प्रतिवेदनमा विश्लेषण गरिएको छ, ‘जो श्रमिकको कार्डियक अरेस्ट (हृदयाघात) वा प्राकृतिक कारणबाट मृत्यु भएको छ, यसबारे पत्ता लगाउन धेरैले पोस्टमार्टम गर्न आह्वान गरिरहेका छन् ।’

त्यस्तै अत्यधिक गर्मीका कारण हुने मृत्युले निकै गम्भीर चुनौती पैदा गरेको समेत प्रतिवेदनले औंल्याएको छ । ‘प्राकृतिक कारणबाट स्वस्थ्य युवा श्रमिकको मृत्युको सर्न्दभमा भइरहेको अनुसन्धानको समीक्षा गर्न जरुरी छ । मृत्युको कारणबारे वास्तविक पहिचान गर्नुपर्छ । त्यस्तै परिवारले क्षतिपूर्ति पाउने सुनिश्चिता पनि गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पोस्टमार्टम गर्न कानुनी, सांस्कृतिक, चिकित्सक र व्यावहारिक रूपमा सम्भव छ कि छैन भनेर हेर्नुपर्छ ।’ कतारले अत्यधिक गर्मीको समयमा जोखिम घटाउन भन्दै गत मेमा कानुन ल्याएको थियो । जुन, जुलाई, अगस्ट र सेप्टेबार बिहान ११ देखि दिउँसो ३ बजेभित्र खुला क्षेत्रमा काम लगाउन पाइने छैन । नयाँ नियमअनुसार खुला क्षेत्रमा काम गर्ने श्रमिकलाई नियमित रूपमा स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यकारी प्रावधानसमेत ल्याएको छ । यसअघि एम्नेस्टी इन्टरनेसनले पनि अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुदै पनि हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । ‘कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू प्राकृतिक कारण वा अस्पष्ट रूपमा परिभाषित हृदयाघातको कारणले भएको जनाउँदै नियमित रूपमा कसरी मृत्युका प्रमाणपत्रहरू जारी गरिरहेको छ,’ एम्नेस्टीले आफ्नो प्रतिवेदनमा भनेको थियो, ‘मुख्य कारण जनाउने थप व्यहोराबिना यी वाक्यांशहरूलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन । वास्तवमा भन्ने हो भने अन्तमा श्वासप्रश्वास वा मुटुको विफलताले गर्दा नै सबै जनाको मृत्यु हुन्छ र मृत्युको कारण नखुलाइएको वाक्यांशहरू अर्थहीन हुन्छन् ।’

( कान्तिपुर दैनिक )

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.