Fast Nepal News

मध्य मनसुन : दुई महिनामा सरदरभन्दा धेरै वर्षा, बाढी पहिरोलगायत विपद्मा १ सय ७ जनाको ज्यान गयो

banner single news

काठमाण्डाै – मनसुनको मध्यतिर आइपुग्दा नेपालमा सरदर भन्दा धेरै वर्षा भएको छ । नेपालमा चार महिना मनसुनी गतिविधि हुन्छ । त्यसमध्ये जुन महिना सकिसकेको छ भने जुलाई पनि अन्तिम अन्तिम भइसकेको छ । अब अगस्ट र सेप्टेम्बर गरी दुई महिनासम्म मनसुनी गतिविधि हुनेछन् ।

मौसमविद् मञ्जु बासीका अनुसार दुई महिना जुन र जुलाईमा नै नेपालमा सरदर वर्षा भइसकेको छ । २ सयभन्दा बढी वर्षा मापन केन्द्रमा लिइएको तथ्याङ्कले सरदर भन्दा बढी वर्षा भएको देखाएको उहाँले बताउनुभयो । नेपालमा सरदर १ हजार ५ सय मिलीमिटर वर्षा हुन्छ । तर यसपालि मनसुनको दुई महिनामा नै योभन्दा बढी वर्षा भएको छ।

मनसुन भित्रिएको पहिलो महिना जुनमा सबैभन्दा धेरै देशको पश्चिमी क्षेत्रमा पानी पर्यो । जुलाई महिनामा भने पूर्वी क्षेत्रमा धेरै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले उज्यालोलाई जानकारी दिनुभयाे।नेपालमा सबैभन्दा धेरै लुम्लेमा वर्षा हुन्छ भने हुम्ला र जुम्लामा सबैभन्दा कम वर्षा हुन्छ ।

यसपालि मनसुन भित्रनु अगावै मौसमविद्ले औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेका थिए । अगस्ट र सेप्टेम्बरमा पनि पानी पर्ने हुँदा प्रक्षेपण गरिए अनुसार नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

Inside Article Ads
गएको जुन ११ अर्थात जेठ २८ गते नेपालमा भित्रिएको मनसुन अब आउँदो सेप्टेम्बरमा बाहिरिन्छ । यसपालि औसतभन्दा धेरै वर्षा भएकाले बाढी पहिरो र डुबानलगायत प्राकृतिक विपद्का घटना पनि बढिरहेका छन् । बाढी पहिरोलगायत प्राकृतिक विपद्मा परेर गएको वैशाख १ गतेदेखि अहिलेसम्म १ सय ७ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्क छ ।

पहिरोमा ३३ जना, बाढीमा २७, डुबानमा ८, चट्याङ्ग लागेर ३८ र हावाहुरीका कारण एक जनाको ज्यान गएको छ । यसैबीच, आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज दिउँसो प्रदेश-१, वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।

भोलि पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.