काठमाडौँ, आश्विन २५ – दशैंको मुखमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । अस्पतालहरु भरिएका छन् । काठमाडौं उपत्यकामा कोरोना अस्पतालले थेग्न नसक्ने परिस्थिति बन्दैछ ।
विगतमा २५ हजार सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य मन्त्रालयले लकडाउन सिफारिश गर्ने बताएको थियो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यस्तो जानकारी दिएका थिए । अहिले देशमा सक्रिय संक्रमित संख्या ३० हजार नाघेको छ । कुल ३० हजार ८ सय १८ सक्रिय संक्रमित संख्या पुगेको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।
एकै दिन ५ हजार संक्रमित संख्या नाघेपछि सरकार स्थिति अनियन्त्रणतर्फ जानसक्ने तर्फ सचेत भएको बुझिएको छ । विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा अवस्था भयावह बन्दैछ । यसलाई दृष्टिगत गरी सरकारले कडाई गर्ने बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयले दशैं घरमै बसेर भौतिक दूरी कायम गरेर मनाउन बारम्बार आग्रह गरेको छ । यो सरकारले यसपटक दशैंमा कडाई गर्ने संकेतको रुपमा बुझिएको छ । सरकार कोरोना रोकथामका लागि कडा कदम चाल्ने तयारीमा रहेको बुझिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलमा परामर्श शुरु भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।