
मस्को/किभ — १३ फागुन २०७८
मस्को/किभ, लामो समयको तनावपछि रुसले युक्रेनमा आक्रमण सुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै जल, स्थल र हवाई सेनाले बिहीबार युक्रेनका विभिन्न सहरमा आक्रमण थालेका हुन् । पुटिनले करिब एक महिनादेखि युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएका थिए । युक्रेनले अमेरिकी नेतृत्वमा रहेको नाटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट रुसले सोमबार राति पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । लगत्तै पुटिनले ‘शान्ति स्थापनाका लागि’ भन्दै ती क्षेत्रमा सेना खटाएका थिए । बीबीसीका अनुसार रुसी सेनाले युक्रेनका पूर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण सुरु गरेको हो । हवाई सेनाले क्षेप्यास्त्र तथा बम प्रहार गरिरहेको छ । युक्रेनको राजधानी किभसहित १२ स्थानलाई लक्षित गर्दै रुसी सेनाले आक्रमण तीव्र पारेको छ । पूर्वी क्षेत्रमा क्षेप्यास्त्र र बम प्रहार गर्दै रुसी हवाई सेना प्यारासुटबाट ओर्लेका थिए । त्यस्तै, बेलारुस र क्रिमियाबाट पनि दर्जनौं ट्यांकसहित रुसी सैनिक युक्रेनी क्षेत्रमा प्रवेश गरेका छन् । रुसी फौजले युक्रेनका पूर्वी क्षेत्र लुहान्स्क, सुकी र चेर्निहिभलाई केन्द्रित गरी आक्रमण गरेको जनाइएको छ ।
रुसी आक्रमणबाट बिहीबार साँझसम्म कम्तीमा ३० सर्वसाधारणको ज्यान गएको छ । तीमध्ये ६ जनाको राजधानी किभनजिकै ब्रोभारीमा गरिएको हवाई आक्रमणमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा सयौं युक्रेनी सैनिक हताहत भएको समाचार छ । युक्रेनी अधिकारीले भने आफ्ना ४० सैनिक मारिएको र एक दर्जन घाइते भएको बताएका छन् । युक्रेनी सेनाले आफ्नो जवाफी कारबाहीमा रुसी सेनातर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ । रुसका कम्तीमा ५० सैनिक मारिएको उसको भनाइ छ । रुसी सेनाका ६ जहाज र एउटा हेलिकोप्टर दनबास क्षेत्रमा खसालेको युक्रेनको दाबी छ । यसको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ । रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकोप्टर खसालिएको दाबीलाई खण्डन गरेको छ । त्यस्तै, पोल्यान्डसँग सीमा जोडिएको पश्चिमी क्षेत्रमा पनि बम प्रहार गरिएको छ । बीबीसीका अनुसार राजधानी किभका थुप्रै बासिन्दा सहर छोडेर भागिरहेका छन् । आपत्कालीन संकेतस्वरूप साइरन बज्न थालेपछि स्थानीय बासिन्दा किभबाट बाहिरिन थालेका हुन् । जसका कारण मोल्दोभाको सीमा क्षेत्रमा सयौं सवारीसाधन जम्मा भएका छन् ।
टेलिभिजनमा प्रसारित दृश्यमा युक्रेनी नागरिकले विभिन्न समूहमा बाँडिएर सडकमा प्रार्थना गरेको देखिन्छ । एजेन्सीहरूले भनेका छन्, ‘मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाम बसिरहेका देखिन्छन् । पूर्वी युक्रेनस्थित चुगुएफ नजिकैको एउटा सैन्य अखडाबाट निकै ठूलो धूवाँको मुस्लो उडेको देखिन्छ ।’ रुसी आक्रमणसँगै शरणार्थी आउन सक्ने भन्दै मध्ययुरोपेली देशले तयारी थालेका छन् । पोल्यान्डले घाइतेको उपचारका लागि बन्दोबस्त गरेको जनाएको छ भने हंगेरी र स्लोभाकियाले शरणार्थीका लागि खाने, बस्ने प्रबन्ध मिलाएका छन् । रुसको आक्रमणसँगै तेलको मूल्यमा भारी वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय डलर पुगेको छ । यो सन् २०१४ यताकै बढी हो । तनावको असरका कारण एसियाली सेयर बजारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो देखिएका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी कदमका लागि विश्वले रुसलाई ‘उत्तरदायी बनाउने’ बताएका छन् । अमेरिका र साझेदार मुलुकले रुसमाथि कडा प्रतिबन्ध लगाउने बाइडेनले चेतावनी दिएका छन् ।
त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले ‘रक्तपात र विध्वंसको बाटो रोजेको’ प्रतिक्रिया दिएका छन् । रुसी हस्तक्षेप युरोपकै लागि महाविपत्ति भएको उनको भनाइ छ । उनले रुसका प्रमुख बैंक तथा एक सय व्यक्तिहरूमाथि प्रतिबन्धको घोषणा गरेका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले लडाइँ रोक्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् । युरोपेली संघले रुसमाथि प्रतिबन्ध लगाउने जनाएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का महासचिव जेन्स स्टोल्टनबेर्गले रुसले ‘गैरजिम्मेवार आक्रमण गरेको’ भन्दै निन्दा गरेका छन् । रुसी कदमले अनगिन्ती नागरिकको जीवन जोखिममा पारेको उनको भनाइ छ । ‘यो अन्तर्राष्ट्रिय कानुनको चरम उल्लंघन हो र युरो–एट्लान्टिक सुरक्षामाथि गम्भीर खतरा हो,’ उलने ट्वीटरमा लेखेका छन् । युक्रेन मामिलाबारे चीन तटस्थ देखिएको छ । उसले वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । रुसी आक्रमणको आलोचना गर्न अस्वीकार गरेको चीनले ‘अमेरिका र उसका साझेदारहरूका कारण स्थिति झन् बिग्रँदै गएको’ आरोप लगाएको छ ।
( कान्तिपुर दैनिक )
