
सुमित्रा भुजेल
बेसीशहर ।जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा २८५७ औ सोनाम ल्लोसारको आयोजित प्रथम मस्र्याङ्दी अध्यक्ष ब्याटमिन्टन कपको उपाधी सुन्दरबजार नगरपालिकास्थित भोटेओडारका रोहित र सुवास गुरुङले जित्न सफल भएको छ । यस गाउँपालिकाको आयोजना र खुदी युथ क्लबको सहयोगमा सञ्चालन गरिएको फाइनल खेलमा यस गाउँपालिका वडा नं. ७ को विनोद तामाङ र रोहित गुरुङलाई पछि पार्दै उक्त कप जित्न सफल भएको हो ।

यस प्रतियोगितामा प्रथम हुने जोडीले रु २० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थान प्राप्त गरेका जोडीले रु १२ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सन्तावना हुने बेसीशहर नगरपालिकाका कृष्णकुमार प्रधान, प्रलब बोहोराको जोडी र खुदीको अमृत तामाङ र प्रदिप लामाको जोडीले समेत नगद रु २ हजार ५ सय, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको बिजयीहरुलाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पुरस्कार बितरण गर्नुभएको छ । उहाँले पुरस्कार वितरण गर्नुहुँदै खेलकुद क्षेत्रको विकास र युवाहरुका लागि आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा समेत जारी रहने बताउनुभयो ।यस्ता खेलले लुकेर रहेका प्रतिभाहरुको उजागर गर्दै दक्ष खेलाडी बनाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ। आयोजकका अनुसार यस प्रतियोगितामा विभिन्न स्थानका गरी ३६ टिमको सहभागिता रहेको थियो ।