
धादिङ ।
शैक्षिक प्रेरणा समूहका परिकल्पनाकार एवम् संरक्षक किरण शर्मा पाैडेलकाे नेतृत्वमा धादिङ पुगेको टाेलीले हिजो श्रावण ४ गते, थाक्रे गाउँपालिका वडा नं. ५ दामेचाैरमा रहेको आदर्श मा.वि. मा आयाेजित एक कार्यक्रममा साे विद्यालयका विद्यार्थीहरूलाई ट्रयाकसुट तथा खेलकुद सामाग्री प्रदान गरेको छ ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद गाैतमले स्वयंसेवी समूहले गर्ने यस्तो सहयोगबाट विद्यार्थीहरूमा हाैसला बढ्नुका साथै समाज र विद्यालय बीचकाे सम्बन्ध सुमधुर हुने कुरा बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामभगत विककाे सभापतित्वमा भएको साे कार्यक्रममा समूहका संरक्षक किरण शर्मा पाैडेल, प्रेमसागर फाउन्डेसन, नेपालका व्यवस्थापक भाेला राउत, कक्षा १० कि छात्रा पूर्णिमा तामाङ तथा शिक्षक-अभिभावक संघका अध्यक्ष, सहायक प्रधानाध्यापक लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियोे ।
यसैगरी हिजो नै, थाक्रे गाउँपालिकाकै वडा नं. ७ मा अवस्थित कालिका मा.वि. का प्रधानाध्यापक रश्मि तामाङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक तथा विद्यार्थीकाे उपस्थितिमा समूहबाट उक्त विद्यालयका छात्रहरूलाई खेलकुद पाेशाक (जर्सी) र खेल-सामाग्री वितरण गरिएको छ । खेल सामाग्री र पाेशाक पाएपछि प्रसन्न भएका विद्यार्थीहरूले विद्यालयहातामा भलिबल खेल प्रदर्शन समेत गरेका थिए ।

समूहका तर्फबाट उक्त दुई विद्यालयमा सामाग्री हस्तान्तरण गर्न काठमाडौं उपत्यकाबाट गएको टाेलीमा किरण शर्मा पाैडेल, विजय बस्नेत, कल्पना मिश्र, मुरारीराज मिश्र र भाेला राउत हुनुहुन्थ्यो ।

यस समूहले विगत ११ बर्षदेखि धादिङ र मकवानपुरका दुर्गम भेगमा रहेका विद्यालय, विद्यार्थी र आवश्यकता अनुसार अभिभावक समेतलाई शैक्षिक सामाग्री, खेलकुद सामाग्री, दशैं लुगा, न्यानाे लुगा, ब्याग, छात्रवृत्ति लगायतका विभिन्न सहयोग गर्दै आएकाे छ । किरण शर्मा पाैडेलका अनुसार, आगामी असाेज महिनामा धादिङ-मकवानपुरका विद्यालयहरूमा दशैं लुगा र न्यानाे लुगा वितरण गर्न जाने समूहकाे कार्यक्रम रहेको छ।
