
डायमण्ड जाेशी
काठमाडौ / माघ १८
पद्मोदय माध्यामिक विद्यालय काठमाडौँले विद्यार्थीहरूको मानसिक र सामाजिक महत्त्वलाई मध्येनजर गर्दै व्यक्तित्व विकासका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण खेलकुद सप्ताह सुरु गरेको छ । पद्मोदयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपक तन्डुकार, पूर्व विद्यार्थी, प्रायोजकहरू
०४८ र ०५० सालका पूर्व विद्यार्थी, vision creation, तन्दुकर समाजले सप्ताहव्यापी खेलकुदको उद्घाटन गरेका हुन् ।

पद्मोदयले पहिलोपटक आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको छ । त्यस्तै विद्यालयले विद्यार्थीहरूको बौद्धिक परिक्षण गर्ने र सिकाइको बलियो माध्यम हाजिरी जवाफ प्रतियोगीता पनि हुने जनाएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै विव्यस अध्यक्ष रुपक तन्डुकारले खेलकूद गतिविधिले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका साथै मानसिक सन्तुलन, अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वासको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पद्मोदयले विगत देखि नै शैक्षिक उपलब्धिसँगै सह–पाठ्यक्रम गतिविधिलाई समान महत्व दिँदै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै यतिबेला भने आफ्नो नेतृत्वमा पहिलो पटक सप्ताहव्यापी कार्यक्रम गराउन पाउँदा उत्साहित भएको बताउनुभयो ।


त्यस्तै विद्यालयकी प्रधानाध्यापक सर्मिला पोखरेलले खेलकुद सप्ताहलाई विद्यालयको दीर्घकालीन शैक्षिक दृष्टिकोणसँग जोडिएको कार्यक्रमका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “पद्मोदय माध्यमिक विद्यालयको लक्ष्य परीक्षा पास गराउने मात्र होइन, स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्नु हो । त्यसका लागि हरेक वर्ष खेलकुद, अतिरिक्त क्रियाकलाप र प्रतिभा विकासका कार्यक्रमलाई निरन्तरता दिने हाम्रो योजना छ।” प्रधानाध्यापक पोखरेलले आगामी दिनमा विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै अन्तरविद्यालयस्तरको सहभागितासमेत विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक निर्मल खतिवडाले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “खेलकुदले विद्यार्थीमा प्रतिस्पर्धाको स्वस्थ भावना विकास गर्नुका साथै सामाजिक उत्तरदायित्व, अनुशासन र आत्मसम्मानको भावना जगाउँछ । कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर खेलमैदानले दिन्छ, जसले विद्यार्थीलाई समाजसँग जोडिएको सचेत नागरिक बनाउँछ।
पद्मोदयले विद्यार्थी, अभिभावक र समाजको स्वास्थ्य चेतना अभिवृद्धि गर्ने अभिप्रायका साथ स्वास्थ्य शिविर पनि संचालन गरिने विज्ञान संकाय प्रमुख प्रकाशराज भट्टराईले जानकारी दिनुभयो। प्रमुख भट्टराईले विद्यार्थी पढाइमा मात्रै लाग्दा एकोहोरो मानाकिता हुने भएकाले खेलकुद सप्ताहले विद्यार्थीको व्यावहारिक प्रतिभा पहिचान गर्ने अवसर दिएको उल्लेख गर्नुभयो । यसले गर्दा विद्यार्थीहरू मानसिक रुपमा पनि उत्साहित भएको उहाँको भनाइ छ ।
“सबै विद्यार्थी पढाइमा उस्तै हुँदैनन्, खेलकुदले उनीहरूको फरक क्षमता उजागर गर्छ । यस्ता कार्यक्रमले आत्मविश्वास बढाउनुका साथै विद्यालयप्रतिको अपनत्व पनि बलियो बनाउँछ,” उहाँले भन्नुभयो।
पत्रकारिताका शिक्षक उज्ज्वल खनालले पनि खेलकुदलाई विद्यार्थीको समग्र विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुदले विद्यार्थीलाई केवल शारीरिक रूपमा मात्र होइन, बौद्धिक र मानसिक रूपमा पनि सक्षम बनाउँछ । यसले अनुशासन, सहकार्य र नेतृत्वजस्ता गुण विकास गर्न मद्दत गर्छ, जुन कक्षाकोठाको पढाइभन्दा बाहिर पनि अत्यन्त उपयोगी हुन्छ।
पद्मोदयको खेलकुद सप्ताहले विद्यार्थीको बौद्धिक क्षमता, निर्णय क्षमता, आत्मअनुशासन र मानसिक सन्तुलन विकास गर्दै जीवनका लागि सक्षम नागरिक बनाउन सक्ने विद्यालयका कौन्सेलीङ इन्चार्ज पवन बस्नेतले जानकारी दिनुभयो । इन्चार्ज बस्नेतका अनुसार खेलकुदले विद्यार्थीलाई जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछ। “खेल मैदानमै विद्यार्थीले हार–जित स्वीकार्ने, नियम पालना गर्ने र लक्ष्यका लागि संघर्ष गर्ने सीप सिक्छन् । यही अभ्यासले उनीहरूलाई भविष्यका चुनौती सामना गर्न मानसिक रूपमा तयार बनाउँछ,” उहाँले भन्नुभयो ।
त्यस्तै कानून, मानवीकी एवं शिक्षा संकायका संयोजक समेत रहनुभएका शिक्षक सूर्यप्रसाद गैह्रेले खेलकुदलाई विद्यार्थीको चरित्र निर्माणसँग जोड्नुभयो ।
उहाँले भन्नुभयो , “खेलकुद केवल शारीरिक अभ्यास मात्र होइन, यो नियम, न्याय र नैतिकताको व्यवहारिक पाठशाला हो । खेल मैदानमै विद्यार्थीले अनुशासन, समानता, जिम्मेवारी र अधिकारको सम्मान गर्न सिक्छन्, जसले उनीहरूलाई सचेत र उत्तरदायी नागरिक बन्न सहयोग गर्छ।”

उहाँका अनुसार खेलकुद सप्ताह जस्ता कार्यक्रमले विद्यार्थीमा मानवीय संवेदना, सामाजिक सहिष्णुता र कानूनप्रति सम्मानको भावना विकास गराउँछ। उहाँले विद्यालयले शिक्षा र जीवन मूल्यलाई एकसाथ अघि बढाउने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो ।
