
लमजुङ । क्षेत्रीय खेल मैदान समितिको अध्यक्षमा सरोज तामाङ (लिला) सर्वसम्मत रूपमा चयन भएका छन्।
२०८३ मंसिर ११ गते सम्पन्न समितिको अधिवेशनले सरोज तामाङ (लिला) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप कडरिया, उपाध्यक्षमा सुदिप भट्ट, सचिवमा प्रदीप जंग गुरुङ, सहसचिवमा सन्दिप पाण्डे र कोषाध्यक्षमा शान्ति गुरुङ चयन भएका छन्।
नयाँ कार्यसमितिले खेल क्षेत्रको विकास, युवाहरूको सीप तथा क्षमता अभिवृद्धि र दक्ष खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिएको छ।
स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूको प्रतिभा पहिचान, क्षमता विकास तथा नियमित प्रशिक्षणमार्फत राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्य समितिले राखेको छ।
त्यसैगरी, खेल मैदानको संरक्षण तथा व्यवस्थापन गर्दै स्थानीयस्तरमा खेलकुद गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्व चयन भएसँगै क्षेत्रको खेलकुद विकासले गति लिने र युवाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ।
