हेटौंडा — मंसिर २४, २०७७।

हेटौंडा उपमहानगरपालिका–१३ ठूलोथलीमा भएको खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक सगरमाथा युवा क्लब पदमपोखरीले जितेको छ ।

मंगलबार फाइनलमा सगरमाथाले युवा क्लबले लालीगुराँस युवा क्लबलाई पेनाल्टी सुटआउटमा ८–७ गोलले पराजित गरेको हो । विजेताले ५० हजारसहित ट्रफी जितेको छ । उपविजेताले ३० हजार रुपैयाँ पायो । खेलमा आयोजकका विके छुमी उत्कृष्ट स्ट्राइकर भए भने सुवास बलले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका छन् । उत्कृष्ट गोलरक्षकको पुरस्कार सुरज विष्टले हात पारे ।

विजेता खेलाडीलाई एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामा, हेटौंडा उपमहानगरपालिका १२ का अध्यक्ष ललित घलान र १३ का वडाध्यक्ष मनोज वाइबालगायतले पुरस्कार प्रदान गरे ।

(कान्तिपुर दैनिक)