Fast Nepal News

नेपालको भव्य पुनरागमन

महिना दिनअघिसम्म स्थिति दयनीय थियो तर १२ मध्ये १० खेल सकिँदा नेपालले चामत्कारिक यात्रा तय गरेको छ- ९ वटामा जित निकालेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगिएको छैन, अब त्यसमै टिकेर दुई जित निकाल्दै नेपालले अर्को ठूलो उपलब्धि पनि हात पार्न सक्नेछ– विश्वकपको अन्तिम छनोटमा प्रवेश

banner single news

२९ फागुन,काठमाडौँ,-नेपालले तय गरेको यात्रा विश्व क्रिकेट इतिहासकै दुर्लभ ऐतिहासिक पुनरागमन भन्दा हुनेछ । महिना दिन अघिसम्म स्थिति वास्तवमै दयनीय थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा १२ खेल खेल्न बाँकी छँदा नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय हैसियत बचाउन कठिन देखिएको थियो । तर तिनै १२ मध्ये १० खेल खेलिसक्दा नेपालले चामत्कारिक यात्रा तय गरेको छ– १० मध्ये ९ मा विजयी भएर ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईमाथि १ सय ७७ रनको एकपक्षीय जित निकाल्यो । त्यसको अर्थ नेपालले कम्तीमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगाएको छैन, अब त्यसमै टिकेर अर्को ठूलो उपलब्धि पनि हात पार्न सक्नेछ । त्यो भनेको आफूले खेल्न बाँकी २ खेलमा पनि विजयी बनेर एकदिवसीय विश्वकपको अन्तिम छनोटमा प्रवेश । नेपालले समातेको लयलाई आधार मान्ने हो भने त्यो पूरापूर सम्भव देखिन्छ ।

यूएई भने ७ टिमसम्मिलित लिग २ को अन्तिम दुई स्थानमा रहने निश्चित भएको छ । प्रतियोगिताका बाँकी खेलमा जस्तोसुकै नतिजा आए पनि यूएईको स्थिति फेरिने छैन । टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ ।

लगातार खराब प्रदर्शन गरिरहेको यूएईको ३४ खेलमा ३१ अंक छ । उसको अगाडि अमेरिका ३५ अंकसहित पाँचौं स्थानमा छ । नेपाल भने अमेरिकालाई पनि उछिनेर ३६ अंक बुटल्दै चौथो स्थानमा पुगेको छ । अब नेपालको लक्ष्य भनेको तेस्रो स्थानमा उक्लनका लागि ४ अंक बटुल्ने हुनेछ । नामिबिया ३९ अंकसहित तत्कालका लागि तेस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमान यसअघि नै शीर्ष दुईमा रहने निश्चित हुँदै एकदिवसीय विश्वकप छनोटका लागि योग्य भइसकेका छन् । नेपालको पछिल्लो जितका कारण अमेरिका जोगिएको छ र उसको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहने भएको छ । पपुवा न्युगिनी भने ११ अंक लिएर पुछारमा छ ।

आइतबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालको सुरुआत भने कमजोर रह्यो । २२ रन बनाउँदासम्म ३ विकेट गुमिसकेको थियो । त्यसपछि भने रोहित पौडेलले कप्तानी इनिङ्स खेलेर दुई महत्त्वपूर्ण साझेदारी गरे । भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रनको साझेदारी । भीमले ४ चौकाको मदतमा २९ रन बनाए । उनी आउट भएपछि रोहितले आरिफ शेखसँग थप ८६ रनको साझेदारी गरे । र, नेपाललाई बलियो स्थितिमा पुर्‍याए । आरिफले ५ चौका प्रहार गरेर ४३ रन बनाए । रोहित आफैंले १ सय १२ बल खेल्दै ७७ रन जोडेका थिए । त्यसमा ९ चौका सामेल थियो । त्यसै प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच पनि भए ।

खेलपछि उनले आफ्नो प्रदर्शनलाई महत्त्वका आधारमा अहिलेसम्मकै उच्च रहेको बताए । भने, ‘जितमा सबै खुसी छौं, खेल अद्वितीय रह्यो ।’ इनिङ्सको अन्त्यतिर गुलसन झा र दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ प्रस्तुत गरेका थिए । गुलसनले ३२ बलमा ३७ रन बनाए– एक चौका र तीन छक्काका साथ । दीपेन्द्रले १९ बलमा ३४ रन । त्यसमा तीन चौका र दुई छक्का सामेल थियो ।

Inside Article Ads

यस्तोमा नेपाल कमजोर सुरुआत बिर्सेर ४९.२ ओभरमा अलआउट हुँदै २ सय ४८ रन बनाउन सफल रह्यो । यूएईका कप्तान मोहम्मद वासिमले पनि माने– रोहित र भीमको महत्त्वपूर्ण साझेदारीले खेल नेपालको पक्षमा मोडिएको । उनले थपे, ‘अन्यथा हामीले राम्रो सुरुआत गरेको थियौं ।’

ललितको ५ विकेट

आक्रामक बलिङ गरेका ललित राजवंशी खेलमा पूरै छाए । यसक्रममा ७.५ ओभरमा २० रनमात्र खर्चेर ५ विकेट लिए । नेपालका सबै बलर खाली हात रहेनन् । सन्दीप लामिछानेले २, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुलसनले समान एक/एक विकेट लिए । ललितले पहिलो ओभरको पाँचौं बलमै वृत्य अरविन्दलाई आकर्षक ढंगमा बोल्ड गरे । त्यसपछि यूएईको ब्याटिङक्रम तासको पत्तीझैं ढल्न थाल्यो । यूएईका लागि आयन अफजल खानको २९ रन नै व्यक्तिगत ठूलो स्कोर रह्यो ।

कप्तान रोहितले ललित नै खेलको वास्तविक उत्कृष्ट खेलाडी रहेको भन्दै प्रशंसा गरे । भने, ‘म प्लेयर अफ म्याचको अवार्ड ललितसँग साझेदारी गर्न चाहन्छु, उनले निकै सटीक बलिङ गरे ।’ यूएई टिम २२.५ ओभर मात्र टिक्यो र जम्माजम्मी ७१ रन मात्र निकाल्न सक्यो । खेल टुंगिँदा नेपाली खेलाडीको खुसी देखिनसक्नु थियो, त्यहीं यूएईका खेलाडी निराश थिए । तिनको अनुहार मलिन थियो ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.