Fast Nepal News

वरीयता, परीक्षण र सुधारको खाँचो

banner single news

काठमाडौँ — २१ माघ २०७८

काठमाडौँ , फिफा वरीयताले फुटबलको वास्तविक स्तरको मापन गर्दैन । तर, यसले अर्थ भने राख्छ । त्यसैले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको योजनाअनुसार नेपाली राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्न पूर्वी अफ्रिकाबाट मोरिसस काठमाडौंसम्म आएको हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको एउटै स्वार्थ थियो, दुवै खेल जितेर वरीयता सुधार्ने । घरेलु टिम सफल भयो पनि । टिमको प्रदर्शनमा भने प्रशस्तै प्रश्न गर्ने ठाउँ छन् । फुटबल समर्थकको ध्यान तान्न खप्पिस प्रशिक्षक अल्मुताइरीले दुर्ई जितलाई ‘सोचेभन्दा राम्रो नतिजा’ भएको प्रतिक्रिया दिए । उनले जितमा चुलिएको फुटबलको माहोल र आकर्षण आफैतिर सोझ्याउने प्रयास गरेका हुन् । नेपाली टिमको जिम्मेवारी पाएको १० महिनाभित्र चर्चामा ल्याउने र विवादमै मुछिने बोलीका लागि पनि उनी परिचित भइसकेका छन् । यी कुवेती प्रशिक्षकलाई युवा खेलाडीलाई समेट्दै राष्ट्रिय टिममा गरिएको आमूल परिवर्तन, बलिया प्रतिस्पर्धीविरुद्ध पनि नडराइकन आक्रामक खेल्ने प्रयास, इराकजस्ता ठूला टिमविरुद्ध गोल, साफ च्याम्पियनसिप (सन् २०२१) को ऐतिहासिक फाइनल यात्राले ‘ठूला कुरा’ गर्ने हैसियतमा पुर्‍याएको हो ।

उनले टिम सम्हालेयता नेपालले विश्वकप/एसियन कप छनोट, साफ च्याम्पियनसिप र मैत्रीपूर्ण गरी १४ खेल (दोहामा ओमानविरुद्ध ७–२ को हारसहित) खेलेको छ । यसमा ५ जित, २ बराबरी र ७ हार बेहोरेको छ । विश्वकप छनोटमा चाइनिज ताइपेइ, साफमा आयोजक माल्दिभ्स र श्रीलंकाविरुद्ध जित दिलाएका अल्मुताइरीले मोरिससविरुद्धका दुई सफलतासँगै तथ्यांकमा सुधार गरेका हुन् । चार खेलमा ‘क्लिन सिट’ राखेको नेपालले अस्ट्रेलिया, जोर्डन र भारत (२ खेल) मा मात्रै गोल गर्न सकेन । कुनै बेला दुई वर्षसम्म गोलविहीन रहेको टिमले आठ महिनाभित्र १४ मध्ये १० खेलमा गोल गर्नु प्रगतिको राम्रै सूचक हो । एसियन कप छनोट (दोस्रो चरण) र साफमा नेपालको ग्राफ सुधारेका अल्मुताइरीको अर्को चुनौती एसियन कप छनोट (तेस्रो चरण) हो । यो २०२२ जुन ८ देखि १४ सम्म हुँदै छ । अर्को वर्ष चीनमा हुने एसियन कपमा १३ टिम छनोट भइसकेका छन् । बाँकी ११ टिमको फैसला तेस्रो चरणबाट हुनेछ । यो स्तरमा नेपालले विरलै खेल्ने अवसर पाउने गरेको छ । एसियाली फुटबलकै कमजोर टिममध्ये एक हो नेपाल । फिफा वरीयतामा एसियालीमध्ये ३५ औं स्थानमा रहेको ताजा अवस्थाले पनि नेपालको हैसियत जनाउँछ ।

एसियन कपमा छनोट भइसकेका र छनोट त्यागेका उत्तर कोरियासहित १४ टिम वरीयतामा नेपालभन्दा माथि छन् । ती टिमहरूलाई गणना नगर्ने हो भने तेस्रो चरणको छनोटमा पुगेका २४ टिममध्ये नेपाल वरीयतामा २१ औंमा रहेको छ । छनोटमा ६ समूहमा ४–४ टिम हुनेछन् । ‘ड्र’ निकाल्दा ६–६ टिमको हिसाबले वरीयताको आधारमा समूह विभाजन गरिनेछ । अहिलेकै वरीयताले नेपाल सबैभन्दा कमजोरहरूको समूह ‘पट ४’ मा पर्छ । यसबाट उक्लिएर ‘पट ३’ मा पुग्न फेब्रुअरी १० मा आउने वरीयतामा छनोट खेल्नेमध्ये शीर्ष १८ भित्र पुग्नुपर्छ, जसका लागि हाल १६९ औं स्थानको नेपालले ताइपेइ (१५८), सिंगापुर (१६०) र इन्डोनेसिया (१६४) लाई उछिन्नुपर्छ । यसैको प्रयासमा नेपालले मोरिससलाई हिन्द महासागरको द्वीपबाट निम्त्याएको हो । तर, मोरिससविरुद्धका दुई जितले पनि नेपाललाई पट ३ मा पुग्न मुस्किल छ । नेपाल दोस्रो चरणको छनोटमा सिधै पनि सजिलै पुगेको होइन । ‘ड्र’ निकाल्दा एसियाको ३४ औं वरीयतामा रहेकाले नेपालले सिधै समूह चरणमा प्रवेश पाएको थियो, जुन अवसरका लागि त्यो वरीयता नै अन्तिम थियो । एक स्थानमुनि भएको भए प्लेअफमा झर्नुपर्ने हुन्थ्यो ।

आक्रमणमा कमजोर

नेपालले दशरथ रंगशालामा मोरिससलाई दुवै खेलमा समान १–० ले हरायो । पहिलो खेलमा विमल घर्तीमगर र दोस्रोमा सुजल श्रेष्ठको गोल निर्णायक रहे । फरवार्ड विमलले राष्ट्रिय टिममा २७ महिनापछिको पुनरागमनमा गोल गर्दै राम्रो संकेत दिए । सुजलले पनि अन्तर्राष्ट्रिय खेलमा तीन वर्षपछि गोल गरेका हुन् । तर, नेपालको अग्रपंक्ति अझै कमजोर देखिएको छ । फिफा वरीयतामा तीन स्थानमुनिको मोरिससविरुद्ध नेपाल गोल गर्नसक्ने प्रहार ‘शट अन टार्गेट’ मा पछाडि नै रह्यो । पहिलो खेलमा दुईपल्ट मात्रै ‘फ्रेम’मा बल प्रहार गरेको नेपालले दोस्रोमा दोब्बर बनाएर चारपल्ट पोस्टमा आक्रमण गरेको थियो । यति थोरै प्रहारमा पनि १–१ गोल हुनु भाग्यमानी नै ठान्नुपर्छ । दुवै खेलमा गोलविहीन पाहुना टिमको शट अन टार्गेट पहिलोमा ५ र दोस्रोमा ४ थियो । नेपालले पहिलो खेलमा ५ र दोस्रोमा ३ पल्ट गोललाई अवसर बनाएको थियो भने मोरिससले दुवैमा ३–३ पल्ट मौका पाएको थियो ।

Inside Article Ads

अवसर सिर्जना र प्रहारमा नेपालको तथ्यांक धेरै फितलो हो । पहिलो खेलमा सबैभन्दा आत्मविश्वासी देखिएका कप्तान एवं गोलकिपर किरण चेम्जोङले दोस्रोमा एन्डी सोफीको पेनाल्टी रोक्नु सकारात्मक पक्ष रह्यो । तर, सटिक पास र मनमोहक खेलमा दुवै टिम फितलो देखिए । यसको अर्थ मोरिसस कुनै गतिलो टिम भने होइन । अफ्रिका कप अफ नेसन्स एकपल्ट मात्रै (सन् १९७४) खेलेको मोरिससका चार खेलाडी कोभिड–१९ संक्रमित भएकाले पहिलो खेलमा आइसोलेसनमै थिए । दोस्रो खेलमा फर्किएका दुई खेलाडी पनि ‘सब्स्टिच्युट लिस्ट’ मा थिए । डिफेन्डर वाल्टर मार्टिनले अन्तिम ३ मिनेट खेले भने मिडफिल्डर हान्स पताते मैदानमै उत्रिएनन् । प्रशिक्षक टोनी फ्रान्कोइस २३ खेलाडी लिएर आएका थिए । पहिलो खेलमा १९ र दोस्रोमा २० खेलाडीमात्रै उपलब्ध भए । खेलका क्रममा खेलाडी परिवर्तन गर्न पनि उनलाई धेरै विकल्प थिएन । अफ्रिका कप अफ नेसन्सको प्रारम्भिक छनोट खेल्ने तयारीमा २७ महिनापछि मैदानमा फर्किएको टिममा उनले पहिलो रोजाइका ६ खेलाडी परिवर्तन गर्दै दोस्रोपल्ट टिम उतारेका थिए ।

हरेक पोजिसनमा विकल्प खोज्दै

प्रशिक्षक अल्मुताइरीले पनि पहिलो खेलमा पहिलो रोजाइका ६ खेलाडीलाई दोस्रो खेलमा सुरुमै मैदानमा पठाएनन् । दुवै खेलमा सब्स्टिच्युटको रूपमा खेलाउन पाउने अधिकतम ६–६ खेलाडीलाई मौका दिए । उनले दुई खेलका लागि बनाएका दुई टिमका ३४ खेलाडीमध्ये २५ खेलाडीलाई मैदानमा उतारे । दुवै टिममा परेका १३ मध्ये १० खेलाडीले दुइपल्टै खेले । चार गोलकिपरसहित ९ खेलाडीले खेल्ने मौका पाएनन् । सुदीप गुरुङ, आकाश बुढामगर र नवीन गुरुङले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे । विमलसहित देवेन्द्र तामाङ, जगजित श्रेष्ठ, एरिक विष्ट, सुभाष गुरुङ र दर्शन गुरुङले टिममा पुनरागमन गरे । साफको टिममा रहेका अनन्त तामाङ, नवयुग श्रेष्ठ, कमल थापा, आयुश घलानलाई चोट र बिरामीका कारण गुमाएको थियो । प्रशिक्षक अल्मुताइरीले इन्डोनेसियन क्लब पर्सिजा जकार्तामै व्यस्त रहेका रोहित चन्दको विकल्प खोज्ने प्रयासमा सुरजज्यु ठकुरी, पूजन उपरकोटी, आकाश, तेज तामाङलाई खेलाएका थिए ।

तैपनि नेपालले मिडफिल्डमा बल कब्जा गर्न सकेन । गोलपोस्ट सम्हाल्न किरणसँग दाँज्न सक्ने खेलाडीको अभाव यथावत् छ । नेपाली खेलाडीहरू शारीरिक रूपमा बलिया टिमविरुद्धको प्रतिस्पर्धामा सिकारु नै देखिएका छन् । टिमको खेल संगठित बनाउन पनि आवश्यक छ । अल्मुताइरीले ११ खेलाडीलाई डेब्यु दिइसकेका छन् । उनले एसियन कप छनोटको तेस्रो चरणका लागि टिम तयारी गर्ने अभियानमा रहेका युवा खेलाडीहरूलाई परीक्षण गरेका हुन् । सुजललाई लेफ्टब्याकमा खेलाएजस्तै हरेक पोजिसनमा खेल्नसक्ने खेलाडी तयार पार्न चाहेका छन् । उनले यस्तो मौका फेरि एकपल्ट (मार्च २१–२९) मा पाउनेछन्, जसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलको क्यालेन्डर निश्चित गर्नुपर्नेछ ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.