Fast Nepal News

बाँझो जमिनमा ड्रागन खेती, तीन युवाको कृषि उद्यम सफल

banner single news

सुमित्रा भुजेल
लमजुङ । बेंसीसहर नगरपालिका–१० खासुरमा तीन युवाले दुई दशकदेखि बाँझो रहेको जमिनमा सुरु गरेको ड्रागन फ्रुट खेती सफल बन्दै गएको छ। विदेश रोजगारीको विकल्प खोज्दै इन्द्रबहादुर घले, रामबहादुर गुरुङ र योगबहादुर घलेले स्थापना गरेको मर्स्याङ्दी बीच एग्रो फार्म अहिले उत्पादनसँगै कृषि पर्यटनको आकर्षणसमेत बनेको छ।

तीन युवाले २०७८ सालमा फार्म स्थापना गरी हाल १५ रोपनी जमिनमा खेती गरिरहेका छन्। त्यसमध्ये १० रोपनीमा ड्रागन फ्रुट खेती गरिएको छ। तनहुँबाट ५० वटा बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले पाँच सय खम्बासम्म विस्तार भएको छ।

गत वर्ष पाँच क्विन्टल उत्पादन भएको फार्ममा यस वर्ष १५ क्विन्टलभन्दा बढी ड्रागन उत्पादन हुने अनुमान गरिएको छ। हालसम्म दुई क्विन्टल बिक्री भइसकेको छ भने फार्मबाट प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भइरहेको छ। बेंसीसहरका होटल, रेस्टुरेन्ट र स्थानीय उपभोक्ता नियमित ग्राहक बनेको किसानहरूको भनाइ छ।

Inside Article Ads

ड्रागनसँगै उनीहरूले तरभुजा खेती र भैंसीपालन पनि गर्दै आएका छन्। हाल फार्ममा करिब ३० लाख रुपैयाँ लगानी पुगेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र बेंसीसहर नगरपालिकाबाट समेत केही अनुदान सहयोग प्राप्त भएको उनीहरूले बताएका छन्।

मर्स्याङ्दी नदी किनारको बलौटे माटो र अनुकूल मौसमका कारण ड्रागन खेती राम्रो भएको किसानहरूको अनुभव छ। अहिले यो फार्म स्थानीयका लागि कृषि उद्यम र आन्तरिक पर्यटकको आकर्षणका रूपमा विकसित हुँदै गएको छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.