
सुमित्रा भुजेल
लमजुङ — सुनका गहना लुट्ने उद्देश्यले आफ्नै साथीको हत्या गरेको आरोपमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। घटनामा चोरीका गहना खरिद गरेको आरोपमा एक सुन व्यवसायीसमेत प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार सम्मेलन गर्दै बेँसीसहर नगरपालिका–२, बोहोराबेँसीका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको हत्या आरोपमा दोर्दी गाउँपालिका–१, ढोकेघर स्थायी घर भई हाल भोटेओडार बस्दै आएका ३० वर्षीय विजय लामिछानेलाई सार्वजनिक गरेको हो।
प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार २१ असारको साँझ बेँसीसहर–१, उदिपुरस्थित गाईखुरे झरनामाथिको जंगलमा बोहोराको हत्या गरेको लामिछानेले प्रारम्भिक अनुसन्धानका क्रममा स्वीकार गरेका छन्।
अनुसन्धानका अनुसार लामिछाने र बोहोराबीच लामो समयदेखिको चिनजान थियो। घटनाका दिन लामिछाने आफैँ बोहोराको घर पुगेका थिए। त्यसपछि उनीहरू भोटेओडार, उदिपुर, चिप्लेटी हुँदै गाईखुरे झरनातर्फ गएको प्रत्यक्षदर्शीले बताएका छन्। सोही दिनदेखि सम्पर्कविहीन बनेका बोहोराको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो।
प्रहरीले मोबाइल ट्र्याकिङ, टेलिफोन विवरण र प्रत्यक्षदर्शीको बयानका आधारमा २४ असारमा लामिछानेलाई नियन्त्रणमा लिएको जनाएको छ। अनुसन्धानका क्रममा उनीहरू यसअघि पनि सँगै हिँड्ने, खानेपिउने तथा जुवातास खेल्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यापछि बोहोरासँग रहेका करिब साढे दुई तोला सुनका गहना लामिछानेले चितवनको एक सुन पसलमा ६ लाख ४४ हजार रुपैयाँमा बिक्री गरेको प्रहरीको दाबी छ। उक्त गहना खरिद गरेको आरोपमा भरतपुर महानगरपालिका–२१, पार्वतीपुरका ४३ वर्षीय सुन व्यवसायी दीपक विश्वकर्मालाई पनि पक्राउ गरिएको छ। प्रहरीले बिक्री भएका गहनासमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार गहना बिक्रीबापत विश्वकर्माले तत्काल ४४ हजार रुपैयाँ नगद दिएका थिए भने बाँकी ६ लाख रुपैयाँ पछि दिने सहमति भएको अनुसन्धानबाट खुलेको छ।
बेँसीसहर–८, शेरामा बस्दै आएका बोहोरा २१ असारदेखि बेपत्ता भएका थिए। उनको शव २५ असार बिहान उदिपुरस्थित जंगलमा फेला परेको थियो। शवको टाउको र अनुहारमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान र चोरी कसुरमा जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
