
अशोक जी भेट्दा एउटा अर्कै उर्जा प्राप्त हुन्छ । वास्तवमा पर्यटनवादलाई जीवनमा उतारेको मान्छे नै अशोक जी हो । हरेक बिषयवस्तुलाई प्रेम र सकारात्मक तरिकाले प्रस्तुत गर्ने घुम्ने रमाउने कला मलाई अत्यन्तै मनपर्छ । पढ्ने पढाउने, घुम्ने घुमाउने र लेख्ने लेखाउने अभूतपूर्व अपूर्व पूर्वको लाली नै अशोक जी हो । यति भन्दै गर्दा म आफैं खुशीले गर्व गर्छु ।
यात्रा पुर्व धिमाल वस्ती मोरंगसम्मको थियो । यो यात्रामा मैले अशोक जीलाई राम्रोसंग चिन्ने मौका पाएको थिएँ । लगत्तै अर्को यात्रा उखुवारी सुकुटे शिन्धुपाल्चोकको थियो । यी दुवै यात्रा भिटोफ नेपालको पर्यटन प्रवर्द्धनको कार्यक्रमसंग जोडिएको थियो । यात्रा भरी विषयवस्तु पर्यटनकै हुन्थे । रमाइला गफ हुन्थे । मिठा मिठा परिकारहरुको त के कुरा !

यात्रा गोर्खा बारपाक सुलिकोटको थियो । त्यहि यात्रामा अशोक जी कै उत्प्रेरणाले “श्रीपर्यटन” स्तम्भको सुरु भयो । गजब भयो ।निरन्तर नदी झैं मेरा पर्यटन विकासका धारणाहरु बग्न थाले । वस्ताबमा मानिसले खोजेको आनन्द नै त हो । अनि आनन्द कता छ त ? आनन्दलाई हेर्नु पर्छ बुझ्नु र खोज्नु पर्छ । हेर्न, बुझ्न, चिन्न, खोज्न, थाहापाउन तथा रमाउन त यात्रा गर्नु नै पर्छ यात्रा विना आनन्द कहाँ ! त्यसैले प्रकृतिले मानवलाई खुट्टा दिएको छ । हिड्नुपर्छ । हिंडे पुगिन्छ, हिंडे छेउ लाग्छ नत्र लेउ लाग्छ । मौका पायो कि हामी हिंड्छौं । हिंडेर घुमेर नै खान पुग्छ । यत्ति हो घुम्दा उद्धेश्यसहित सचेत भएर योजना बनाएर यात्रा गर्नु पर्दछ । हो हामी विना मिसन यात्रा गर्दैनौं । यात्राको भरपुर आनन्द लिन्छौं । आजसम्म घुमेर-घुमाएर, पढेर-पढाएर, र लेखेर-लेखाएर नै हाम्रो जीवन आनन्दले चलेको छ ।

यो उखुवारीको यात्रा, सुकुटेको सुताई, र्याफटिंगको रिस्क, उखु विनाको उखुवारी सबैको आआफ्नै महत्व छ । उखुवारीमा एउटा पनि उखु देखिएन किन उखुवरी नाम राखेको होला ? हुन त नेपालमा गरीवको नाम धनबहादुर, धनी व्यापारीको नाम गरीवदास हुने गर्दछ । यो उखुवारी होमस्टेमा गरिएको आतिथ्यता दिव्य थियो । अवस्य पनि अव उखुवारी जाँदा उखु देख्न पाइने छ । सुकुटे विचको रिसोर्टको सुताई र स्विमिंग पुलको रात्रीकालिन सामुहिक नृत्य हाम्रो जिन्दगीको पहिलो अनौठो आनन्द थियो । र्याफ्टिंग यो यात्राको सबैभन्दा रोमान्चकारी थियो । आदरणीय गुरु प्रेम शर्मा डुंगाबाट सुनकोशीमा झर्नु भयो हामी सबै आत्तियौं निकाल्न सकिएन लगभग २० मिनेट हामी आतंकित थियौं । धन्न कायाकिंगको भाई रेस्क्यु गर्न सफल भयो । हामीले पुन: गुरुको सकुसल दर्शन गर्न पायौं अशोक जीले लामो अन्तर्वार्ता लिए मेरो मनमा अनेक कुरा खेल्दै थिए ।
“गुरुदेव पर्यटन सुख आनन्दको मार्ग त होइन कि क्या हो ?”
पर्यटन त अध्ययन तथा आनन्दको साधन हो । आनन्द सुख दु:ख त आफैंभित्र हुन्छ । पर्यटन तथा यात्राले ति सबै अनुभूतिहरु बाहिर प्रकाशित हुन्छन् ।
“गुरुदेव एउटा पर्यटनवाद नै तयार हुन्छ कि क्या हो ?”
हुन्छ नि ! तर कार्लमार्क्सको जस्तो ठेली कसले लेख्ने ? लगानी कसले गर्ने ! अध्ययन कसले गर्ने ? प्रस्तुतीकरण र शास्त्रार्थ कसले गर्ने ?

हो म मौन भएँ अशोक जी हामी संगै थियौं खाजा खाने निम्ता आयो सुनकोशीको छालसंगै मेरो मनमा “पर्यटनवाद” उर्लेर आयो के यो “वाद” सम्भव छैन त ? के जीवन पर्यटनमय बनाउन सकिंदैन त ? जीवनमा आनन्द नहुने विषय हो र ? मलाई लाग्छ, २१ औं शताब्दीको नयाँ वाद पर्यटनवाद हुने छ । यो पर्यटन भन्ने विषयबस्तुलाई चारै तिरबाट बैज्ञानिक तरिकाले पुष्टि गर्न सकिन्छ भने यो अवस्य पनि “पर्यटनवाद” तयार हुन्छ । पर्यटनवादको गर्वधारण सुनकोशी सुकुटेमा भयो ।
कुनै पनि वाद (Ism) एकै दिनमा निर्माण हुँदैन । यो मानव समाजले लामो समयसम्म भोगेका अनुभव, समस्या, आवश्यकता, संघर्ष, चिन्तन र अनुसन्धानको परिणामस्वरूप विकसित हुने वैचारिक प्रणाली हो । जब कुनै समाजमा विद्यमान अवस्था, मूल्य वा संरचनाले नयाँ प्रश्नहरू जन्माउँछ, तब विद्वान्, दार्शनिक, अनुसन्धानकर्ता तथा सामाजिक चिन्तकहरूले ती प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्छन् । यही खोज, बहस र बौद्धिक विमर्शबाट क्रमशः नयाँ विचारको जन्म हुन्छ । जब त्यो विचारले कुनै विशेष विषयलाई व्यवस्थित रूपमा व्याख्या गर्न थाल्छ, त्यसका आफ्नै सिद्धान्त, मान्यता, उद्देश्य र कार्यदिशा विकसित हुन्छन्, तब त्यो विचार “वाद” को रूपमा स्थापित हुन्छ । उदाहरणका लागि, औद्योगिक युगको असमानताबाट समाजवाद, व्यक्तिगत स्वतन्त्रताको मागबाट उदारवाद, लैङ्गिक असमानताको विरोधबाट नारीवाद र वातावरणीय संकटबाट पर्यावरणवाद विकसित भएको देखिन्छ (Heywood, 2021) । आजको युगमा आइपुग्दा समाजवाद, उदारवाद, नारीवाद, नश्लवादले समाजमा द्वन्द बढायो । समाजमा विभेदको सृजना गर्यो | मानवलाई समाजवादी, उदारवादी, नारीवादी आदि आदि बनाएर विभेद वा द्वन्द सृजना गर्यो | यी सम्पूर्ण आधुनिक वादहरुको एकीकृत मानवतावादी वाद नै पर्यटनवाद हो |
दार्शनिक दृष्टिले “वाद” निर्माणको पहिलो चरण समस्या वा यथार्थको पहिचान (Problem Identification) हो | समाजमा देखिएका समस्या, विरोधाभास वा परिवर्तनलाई मानिसहरूले अनुभव गर्छन् र त्यसबारे प्रश्न उठाउँछन् । आजको समाज कुनै एक वादमा चलेको छैन । धेरै वादविवाद हुने गर्दछन तर निष्कर्षमा पुग्न सक्दैनन् | दोस्रो चरणमा ती समस्याको व्याख्या गर्ने विचार (Idea) जन्मिन्छ | किन ति आधुनिकवादहरू असफल भए ? उनीहरु निश्चित वर्गलाई मात्र समेट्न सफल भए | समय सापेक्ष हुन सकेनन | तेस्रो चरणमा उक्त विचारलाई तर्क, प्रमाण, अनुसन्धान तथा अनुभवका आधारमा व्यवस्थित गरिन्छ, जसबाट सिद्धान्त (Theory) निर्माण हुन्छ । पर्यटन सम्बन्धि लाखौँ अध्ययन अनुसन्धान भएका छन् । धेरै प्रमाण, अध्ययन, अनुसन्धान तथा सिद्धान्त निर्माण भएका छन् ।त्यसैले पर्यटनका सबै विधा समातेर पर्यटनवाद निर्माण हुँदै छ । जीवनका र समाजका सबै प्रश्नका उत्तर पर्यटनवादले दिन्छ र दिनु पर्छ ।
चौथो चरणमा सिद्धान्तलाई व्यवहार, नीति तथा सामाजिक आन्दोलनसँग जोडेर विचारधारा (Ideology) को रूप दिइन्छ।अन्ततः जब त्यो विचारधाराले व्यापक बौद्धिक स्वीकृति प्राप्त गर्छ र समाजलाई बुझ्ने तथा परिवर्तन गर्ने छुट्टै दृष्टिकोण प्रदान गर्छ, तब त्यो “वाद” (Ism) का रूपमा स्थापित हुन्छ (Freeden, 2003) । यस अर्थमा “वाद” कुनै व्यक्तिगत धारणा मात्र नभई व्यवस्थित ज्ञान प्रणाली हो । त्यसैले पर्यटनवाद प्रेमको आन्दोलन हो । मानवता, आनन्द, यात्रा र आतिथ्यताको एकीकृत लहर हो ।विश्वव्यापी सत, चित र आनन्दको स्थानीय अनुभूति हो ।
सामाजिक विज्ञानको दृष्टिकोणबाट हेर्दा “वाद” निर्माणमा तीनवटा प्रमुख आधारहरू कार्यरत हुन्छन् । ति हुन्, ऐतिहासिक अनुभव, सैद्धान्तिक विकास र सामाजिक स्वीकृति । कुनै विचारले इतिहासका अनुभवहरूलाई व्याख्या गर्नुपर्छ, वैज्ञानिक वा तार्किक आधार प्रस्तुत गर्नुपर्छ र समाजमा व्यावहारिक उपयोगिता प्रमाणित गर्नुपर्छ । उदाहरणका लागि, Political Science मा उदारवाद वा समाजवाद, Psychology मा व्यवहारवाद (Behaviorism), तथा Development Studies मा मानव विकासवाद (Human Development Approach) यिनै प्रक्रियाबाट विकसित भएका हुन् । कुनै पनि वादको दीर्घकालीन अस्तित्व त्यसले यथार्थलाई कति प्रभावकारी रूपमा व्याख्या गर्न सक्छ भन्ने कुरामा निर्भर हुन्छ (Gerring, 1997) पर्यटनवाद सबै वादहरुको प्रेमिल एकता हो ।।पर्यटन बहुआयामिक बहुबिषयिक व्यवहारिक व्यवसायिक सांस्कृतिक विधा हो ।
यही सैद्धान्तिक प्रक्रियालाई पर्यटन क्षेत्रमा लागू गर्दा पर्यटनवाद (Tourismism) को निर्माण पनि बुझ्न सकिन्छ ।
पर्यटनलाई केवल उद्योग वा मनोरञ्जनको रूपमा हेर्ने परम्परागत दृष्टिकोणले मानव विकास, सांस्कृतिक संवाद, शान्ति निर्माण, दिगोपन र सामाजिक रूपान्तरणजस्ता पक्षहरूको पूर्ण व्याख्या गर्न नसकेको अवस्थामा पर्यटनलाई समग्र वैचारिक दृष्टिकोणबाट बुझ्ने आवश्यकता महसुस हुन्छ। पर्यटनसम्बन्धी विभिन्न अनुसन्धान, सिद्धान्त, अनुभवजन्य अध्ययन तथा विकास अभ्यासहरूबाट पर्यटनको व्यापक सामाजिक भूमिका स्पष्ट हुँदै गएको छ ।जब यी विचारहरूलाई एकीकृत गरी मानव, समाज, संस्कृति, वातावरण र विकासबीचको सम्बन्ध व्याख्या गर्ने सुसंगत ढाँचा निर्माण गरिन्छ, तब त्यो अवधारणा क्रमशः “पर्यटनवाद” जस्ता नयाँ वादको रूपमा विकसित हुन सक्छ । यसरी कुनै पनि “वाद”को निर्माण १. समस्या, २. विचार, ३. सिद्धान्त, ४. विचारधारा, ५. वाद क्रमिक बौद्धिक प्रक्रियाबाट हुन्छ (Tribe, 2009; Heywood, 2021) ।
किन चाहियो पर्यटनवाद ? के हो पर्यटनवाद ? यसका आधारभूत सिद्धान्तहरु के के छन् ? यसले कुन विचारधारा बोकेको छ ? र क्रमिक बौद्धिक प्रक्रियाहरु के के हुन् ? यिनै प्रश्नहरुको यथार्थवादी उत्तर नै पर्यटनवाद हो । अवस्य पनि पर्यटनवाद सम्भव छ ।गर्वधारण भै सकेको छ । अब पर्यटनले नयाँ जीवनसहित यो धर्तीमा पुनर्बहाली हुने छ । २१ औं शताब्दीको नयाँवाद “पर्यटनवाद” सृजना भै सकेको छ । भिटोफ नेपालको सबै साथीहरुप्रति आभार व्यक्त गर्दछु । अशोक जी लगायत सम्पूर्ण सहयात्री प्रति झन् खुशी छु । को होला अशोक जी भन्नु होला H2O किताव यात्राका पुस्तक ( अप्प दीपो भव:, श्रीलंका यात्रा र Everest: An unfinished story) का लेखक, नेपालनाम्चाका सम्पादक, तथा लाङटाङ दूत तथा भिटोफ नेपालका सद्भावना दूत हुन् अशोक सिलवाल !
धन्यवाद….
