
मनाङ — हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका थप दुई जनाको शव सोमबार फेला परेको छ। यससँगै घटनामा ज्यान गुमाएका चार जनाको पहिचान खुलेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अध्यक्ष तुलसिंह गुरुङका अनुसार सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो। यसअघि आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। हालसम्म भेटिएका चारै जनाको शव पहिचान भइसकेको गुरुङले बताए। अझै १२ जना सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ। हिमलुङ हिमपहिरो प्रभावित क्षेत्रमा एनएनएमजीएको खोज तथा उद्धार टोलीले सोमबार पनि अभियान जारी राखेको छ। मौसम र हिमालको अवस्था अनुकूल रहे थप ३ देखि ४ घण्टासम्म खोजी कार्यलाई निरन्तरता दिइने अध्यक्ष गुरुङले बताए।
