Fast Nepal News

हौसलाको दौड

banner single news

बाँके — ५ मंसिर २०७८

बाँके , दौड खुट्टाको मात्रै हुँदैन । जीवनले अनेक रूपमा दौडाउन सिकाउँछ । शारीरिक रूपमा अशक्त भएका टीकापुरका महेश चौधरीले जन्मजातै खुट्टा गुमाए । तर जीवन संघर्षको रफ्तारमा उनको गति तीव्र छ । हौसला, उत्साह र सकारात्मक सोचले उनलाई दौडन सिकाएको छ । शनिबार सातौं धारा नेपालगन्ज म्याराथनमा ह्वीलचियर दौडको विजेता हुनुमा महेशका लागि हौसलाको दौड थियो । एक किलोमिटरको दूरी पार गर्न २९ वर्षे उनलाई हातकै सहाराले ह्वीलचियर धकेल्न सजिलो थिएन । सात वर्ष पुरानो ह्वीलचियर खिया लागेर चल्न नसक्ने भएको थियो । अलि बेस्कन कुदाउँदा चेन फुस्किने डर थियो । निर्धारित दूरी पार गरेर आफू विजेता बनेको थाहा पाएपछि उनले ह्वीलचियरप्रति शिर निहुर्‍याए । दुई हात जोडे । कृतज्ञभाव प्रकट गर्दै भने, ‘मेरो यात्राको सहयात्री नै यही हो, उसलाई धन्यवाद दिन्छु ।’ यसपालिको म्याराथनमा उनीजस्तै कोहलपुर, नेपालगन्ज, कैलालीलगायत ठाउँबाट ह्वीलचियर विधामा भाग लिन दर्जन बढी प्रतिस्पर्धी आएका थिए । खुट्टाको भरमा दौडनुपर्ने खेलमा हात र मेसिनको सहाराले खेल्नुपर्ने उनीहरूको नियति थियो । तर खेलमा प्रतिस्पर्धा गर्न पाउँदा उनीहरूको अनुहारमा देखिएको उत्साह भने बेग्लै थियो ।

महेश पेसाले सिलाइकटाइ गर्छन् । खेल्ने अवसर पाएपछि उनी सबै काम थाँती राखेर कैलालीदेखि आएका हुन् । यदि खुट्टा सद्दे हुन्थ्यो त महेशले राम्रो खेलाडी हुने सपना बुनेका थिए । सोचे जस्तो हुन्न जीवन भनेझैं उनी ह्वीलचियर दौडमा भने आफूलाई अब्बल राख्न सफल भएकामा दंग छन् । ‘आखिर जित त जितै हो नि,’ उनको हर्षभाव थियो, ‘अरू खुट्टाले दौडिए, म हातको सहारामा दौडिएँ ।’ महेशलाई पछ्याउँदै कोहलपुर नगरपालिकाका यज्ञबहादुर खत्री दोस्रो भए । प्रत्येक वर्ष प्रतियोगितामा सहभागी भएर पहिलो हुने उनी यसपालि दोस्रो हुनुमा ह्वीलचियरलाई दोष लगाउँछन् । दौडँदादौडँदै फर्किने बेलामा उनको ह्वीलचियरको चेन फुस्कियो । एकछिन त्यही चेन मिलाउन लाग्दा ढिला भएको उनले सुनाए । ‘चेनले धोका दियो यसपालि,’ उनी भन्छन्, ‘नत्र, म नै फस्ट हुन्थें ।’ यन्त्रको भरमा खेल्नुपर्दाको बेफाइदा उनले यसरी खुलाए ।

बिहानै ५ बजे यसै खेलका लागि भनेर यज्ञबहादुर कोहलपुरदेखि १६ किलोमिटर ह्वीलचियरकै भरमा नेपालगन्ज आइपुगेका थिए । जित र हारको उत्सुकता एकातिर थियो भने अर्कोतिर सामाजिक गतिविधिमा सहभागी हुन पाउनु उनका लागि गौरवको विषय थियो । ४४ वर्षे यज्ञबहादुर १५ वर्षअघि सपाङ्ग थिए । खेती किसानी गर्थे । खेलकुदमा उनलाई खासै ध्यान थिएन । जब उनी मेरुदण्डको समस्याले थलिए । उपचार गर्दागर्दै सफल नभएपछि उनका दुवै खुट्टा निस्क्रिय भए । त्यसपछि यज्ञलाई खुट्टा र दौडको महत्त्व महसुस भयो । उनले सुनाए, ‘जब खुट्टा गुमाएँ, तब मलाई पनि खेलमा सहभागी हुने चाहना जाग्न थाल्यो ।’ तेस्रो स्थानमा आएका कालीमाटी, सल्यानका चन्द्रबहादुर विकको खेलमा सहभागी हुनुको उद्देश्य फरक छ । हारजितबाहेक अपांगता भएका व्यक्तिलाई सामाजिक अन्तरघुलन गराउन जरुरी रहेको ठान्छन् उनी । उनको भनाइमा शारीरिक अशक्त भएका व्यक्ति समाजको डोरीभन्दा पर हुन्छन् ।

Inside Article Ads

यसलाई चिर्न पनि आफू प्रतिस्पर्धामा आएको उनले सुनाए । ‘म म्याराथन खेल्न जान्छु भन्दा धेरै साथीहरूले हाँसेर उडाए,’ उनले भने, ‘खुट्टा नहुनेले दौडिने भन्दै व्यंग्य गरे, त्यही पीडा बोकेर नखेली बस्न सकिनँ ।’ प्रतियोगितामा जितेकाको उत्साह त छँदै थियो । हार्नेहरूको खुसी पनि कम थिएन । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी २८ वर्षीया ज्ञानकली थारू लौडको अन्तिम पंक्तिमा थिइन् । तर उनी सबैभन्दा खुसी थिइन् । तीन वर्षयता कोहलपुरदेखि नेपालगन्ज आउन नपाएको कुण्ठा उनले प्रतियोगितामा आएर पूरा गरेको सुनाइन् । आमाबुबा बितेपछि उनी घरमा थप बेसहारा भइन् । हेरचाह गर्ने मान्छे छैनन् । सहरसम्म आउने उनको मनभरि इच्छा त हुन्थ्यो । तर साथी नहुँदा मौन हुन्थिन् उनी । प्रतियोगिता खेल्न सबै साथीहरू मिलेर नेपालगन्ज आउने खबरले भने उनी फुर्किएकी थिइन् । ‘हामीलाई बाहिरी दुनियाँ देख्न त्यति सजिलो कहाँ छ र ?,’ उनले पीडा पोखिन्, ‘म त जित्न होइन, खुसी हुन आएकी हुँ ।’

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.