
ताप्लेजुङ — ०१ फागुन २०७८
ताप्लेजुङ , आफूले पालेका चौपायाले राम्रा बाछाबाछी जन्माउँदा किसान औधि खुसी हुनुपर्ने हो । अहिले ठीकविपरीत छ । चौंरीपालक किसान यतिबेला बाछाबाछी नजन्मिदिए हुन्थ्यो भन्ने कामना मात्रै गरिरहेका छैनन्, विगतमै जस्तो जन्माउलान् भनेर चिन्ता पनि गरिरहेका छन् । त्यसका लागि सकेसम्म भाले र पोथीको बथान छुट्टाछुट्टै बनाएका छन् । चौंरीको बिक्री ठप्प भएपछि यस्ता दिन आएको याम्फुदिनका दाबा भोटे बताउँछन् । चौंरी बिक्री नहुनुमा चीनसँगको सिमाना ठप्प हुनु मुख्य कारण हो । ओलाङचुङगोलाको टिप्ताला भञ्ज्याङ नाका तीन वर्षदेखि ठप्प छ । यो नाका बन्द भएपछि याक, नाक, बाछाबाछी, तोलेलगायतका चौंरीका सबै प्रजातिको बिक्री ठप्प छ । किनबेच ठप्प हुँदा र बाछाबाछीको संख्या बढ्दै जाँदा चरनको अभाव हुन थालेको छ । चौंरीको मूल्य पनि लगातार घटिरहेको छ । ‘नाका बन्द हुनु अघिसम्म एउटा वयस्क चौंरीको मूल्य ९० हजारदेखि १ लाख १० हजारसम्म थियो,’ दावाले भने, ‘अहिले २५ देखि ३० हजारमा पनि बिक्री हुन मुस्किल छ ।’
एक जनप्रतिनिधिले भने, ‘हामी पनि तिमीहरूले जस्तै सीमामा ल्याएर छोड्छौं, सामान लैजाउ पछि पैसा दिने व्यवस्था मिलाइदेऊ भन्दा पनि मान्दैनन् ।’ पहिला बुढो हुँदै गएको याक, चौंरी बिक्री गर्ने र सानो हुर्काउने प्रचलन भए पनि तीन वर्षदेखि सबै पाल्नुपर्दा किसानलाई समस्या भएको छेतेन बताउँछन् । यसअघिसम्म वस्तुलाई चीनबाट ल्याएको नुन खुवाउने गरिएको थियो । नाका बन्दपछि पारिबाट नुन ल्याउन सकिएको छैन । चीनको तुलनामा नेपालको नुन चर्को हुने भएकाले स्थानीयले उतैको नुन रोज्ने गरेका थिए । चौंरी नै बिक्री नभए पछि नुन किन्न पनि समस्या भएको उनीहरू बताउँछन् । हिमाली क्षेत्रमा प्रत्येक घरमा कम्तीमा दुई/चार माउ चौंरी र याक पाल्ने गरेका छन । गोठ पाल्नेहरू एक जनासँग डेढ दुई सयको हाराहारीमा हुने गरेको छ । तीन वर्षयता सबैजसो गोठमा दोब्बर बढी चौंरी भएका छन् ।
( कान्तिपुर दैनिक )
