Fast Nepal News

नाका नखुल्दा बिकेनन् चौंरी

banner single news

ताप्लेजुङ —  ०१ फागुन २०७८

ताप्लेजुङ , आफूले पालेका चौपायाले राम्रा बाछाबाछी जन्माउँदा किसान औधि खुसी हुनुपर्ने हो । अहिले ठीकविपरीत छ । चौंरीपालक किसान यतिबेला बाछाबाछी नजन्मिदिए हुन्थ्यो भन्ने कामना मात्रै गरिरहेका छैनन्, विगतमै जस्तो जन्माउलान् भनेर चिन्ता पनि गरिरहेका छन् । त्यसका लागि सकेसम्म भाले र पोथीको बथान छुट्टाछुट्टै बनाएका छन् । चौंरीको बिक्री ठप्प भएपछि यस्ता दिन आएको याम्फुदिनका दाबा भोटे बताउँछन् । चौंरी बिक्री नहुनुमा चीनसँगको सिमाना ठप्प हुनु मुख्य कारण हो । ओलाङचुङगोलाको टिप्ताला भञ्ज्याङ नाका तीन वर्षदेखि ठप्प छ । यो नाका बन्द भएपछि याक, नाक, बाछाबाछी, तोलेलगायतका चौंरीका सबै प्रजातिको बिक्री ठप्प छ । किनबेच ठप्प हुँदा र बाछाबाछीको संख्या बढ्दै जाँदा चरनको अभाव हुन थालेको छ । चौंरीको मूल्य पनि लगातार घटिरहेको छ । ‘नाका बन्द हुनु अघिसम्म एउटा वयस्क चौंरीको मूल्य ९० हजारदेखि १ लाख १० हजारसम्म थियो,’ दावाले भने, ‘अहिले २५ देखि ३० हजारमा पनि बिक्री हुन मुस्किल छ ।’

बीउ हुनेबाहेकको चौंरी कसैले खरिद गर्नै नमान्ने उनले बताए । संख्या धेरै भएकै कारण यो वर्ष हिउँ पर्दा पनि धेरै चौंरी बथान औलतिर झारिएन । हिउँमा परेर मिक्वाखोला–५ पापुङका बाबुछोरा तीन दिनसम्म बेपत्ता भए । ‘मैले पनि वयस्क जति माथि खर्कतिरै छोडिदिएँ,’ दावाले भने, ‘हिउँमा टिक्नै नसक्ने ४५/५० वटा माउ मात्रै लिएर औल झरेको छु ।’ माउ भने सदरमुकाम नजिकै देउरालीसम्म झारेको उनले सुनाए । यो बेला सुब्बाहरूले खर्चरी र सामुदायिक वनले चरनको भाडादर पनि बढाएका छन् । दावाले ८ लाख रुपैयाँ खर्चिए । चरनका लागि एउटा सामुदायिक वनलाई ५० हजारसम्म शुल्क तिर्नु परेको उनले बताए । प्रत्येक वर्ष फागुन–चैतमा ब्याउने चौंरीले दावाको गोठमा वर्षमा ६० देखि ९० वटासम्म बाछाबाछी थपिने गरेको थियो । यो वर्ष पनि यसरी नै थपिए पाल्ने उपाय नभएको उनी बताउँछन् । फक्ताङलुङ–७ ओलाङचुङगोलाका गोम्वो शेर्पाका अनुसार चौंरी चीनमा मात्रै बिक्री हुने गरेको छ । चीन र भारत दुवै देशसँग सिमाना जोडिएको भए पनि भारतमा बिक्री हुँदैन । भारततर्फ सिक्किमका गोठालाले आफ्ना चौंरी पनि चीनमा बिक्री गर्ने गरेका थिए ।          
 चीनको एक रुपैयाँको नेपाली १६ रुपैयाँ हुने भएकाले राम्रो मूल्यमा बिक्री हुने गरेको गोम्बो बताउँछन् । फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार चीनको बुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको टिप्ताला भञ्ज्याङ नाका अहिलेसम्म खुलेको छैन । ‘उता (चीन) को सरकारले खाद्यान्न, औषधिलगायतका सामग्री तीन/चार पटक दियो,’ छेतेनले भने, ‘तर, हाम्रो वस्तु पनि लगिदेऊ न भन्दा चाहिँ मानेका छैनन् ।’ चीनले सीमावर्ती ओलाङचुङगोला, याङमा र घुन्साका बासिन्दाका लागि एक वर्षलाई पुग्नेगरी चामल, दाल, पिठोलगायतका सामग्री दिएको छ । ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार वस्तुभाउलाई खुवाउने नुन बाहेकको सबै सामग्री दिएको हो । सीमामा ल्याएर झारिएको सहयोग सामग्री ओलाङचुङगोलाबाट सीमा प्रहरी चौकीका सुरक्षाकर्मीसमेत गएर बस्तीमा ल्याएको वडाध्यक्ष बताउँछन् । चौंरी, घिउ, गलैंचा लैजान गरेको प्रस्ताव भने उनीहरूले अस्वीकार गरेका हुन् । 
Inside Article Ads

एक जनप्रतिनिधिले भने, ‘हामी पनि तिमीहरूले जस्तै सीमामा ल्याएर छोड्छौं, सामान लैजाउ पछि पैसा दिने व्यवस्था मिलाइदेऊ भन्दा पनि मान्दैनन् ।’ पहिला बुढो हुँदै गएको याक, चौंरी बिक्री गर्ने र सानो हुर्काउने प्रचलन भए पनि तीन वर्षदेखि सबै पाल्नुपर्दा किसानलाई समस्या भएको छेतेन बताउँछन् । यसअघिसम्म वस्तुलाई चीनबाट ल्याएको नुन खुवाउने गरिएको थियो । नाका बन्दपछि पारिबाट नुन ल्याउन सकिएको छैन । चीनको तुलनामा नेपालको नुन चर्को हुने भएकाले स्थानीयले उतैको नुन रोज्ने गरेका थिए । चौंरी नै बिक्री नभए पछि नुन किन्न पनि समस्या भएको उनीहरू बताउँछन् । हिमाली क्षेत्रमा प्रत्येक घरमा कम्तीमा दुई/चार माउ चौंरी र याक पाल्ने गरेका छन । गोठ पाल्नेहरू एक जनासँग डेढ दुई सयको हाराहारीमा हुने गरेको छ । तीन वर्षयता सबैजसो गोठमा दोब्बर बढी चौंरी भएका छन् ।

( कान्तिपुर दैनिक )

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.